११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

कपिलवस्तु महोत्सव : सिङ्गिङ र डान्स आइडियलले दर्शकमा उत्साह थप्दै



अनिश बन्जाडे, बाणगंगा ।

‘सक्षम व्यवसायी, समृद्ध राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’भन्ने मुल नाराका साथ माघ १७ गतेदेखि सुरु भएको १३ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा दर्शकहरुको सहभागितासंगै उत्साह दिनप्रतिदिन थपिदैँ गएको छ ।

जसले आयोजकलाई महोत्सव सफल हुने आशाको किरण थपेको छ । महोत्सवप्रति दर्शकको ध्यान केन्द्रित गर्नका लागि गरिएको नौलो प्रयासप्रति दर्शकहरु सन्तुष्ट भएका छन् । जसअन्तर्गत एउटा भिन्न प्रयास हो प्रथम कपिलवस्तु सिङ्गिङ आइडियल र ११ औँ कपिलवस्तु डान्स आइडल । डान्स आइडलको यो ११ औँ संस्करण भएतापनि यसको उत्साहमा कमि आएको छैन ।

नृत्यप्रति रुचि भएका र उचित स्थान नपाएकाहरु प्रति महोत्सवमा आयोजित डान्स आईडलले उर्जा थपेको छ । यो प्रतिष्पर्धामा निर्णायकको मूल्याङ्कन र दर्शकको भोटलाई आधार मानेर बिजेता छानिन्छ । महोत्सवमा यो भन्दा पहिलेको १० औँ संस्करणसम्म बिजेता भएका प्रतिष्पर्धीहरुले यतिबेला राम्रै प्रगति गरेका छन् ।

आयोजकले बिजेता मात्र घोषित नगरेर उनिहरुलाई उचित अवसर पनि दिने गरेका छन् । जसको कारण पनि कपिलवस्तु महोत्सवमा हुने डान्स आईडल दर्शकको रोजाईमा पर्दै गएको छ । जसले गर्दा यस बर्ष पनि ११ औँ कपिलवस्तु डान्स आईडलको रोचक प्रतिष्पर्धा हेर्नका लागि दर्शकहरु महोत्सवमा आउने गरेको प्रतिक्रिया दिन्छन् ।

डान्स आईडलमा प्रस्तुति दिँदै प्रतिष्पर्धी

यसैबीच १३ औँ कपिलवस्तु महोत्सवमा यो बर्षदेखि प्रथम कपिलवस्तु सिङ्गिङ आइडियल पनि सुरु भएको छ । डान्स आईडलसंगै सिङ्गिङ आइडियल बिचको प्रतिष्पर्धाले महोत्सवमा नयाँ उचाई थपेको छ । प्रत्येक बर्ष नौलोे प्रयासबाट दर्शकलाई आकर्षित गर्ने कपिलवस्तु महोत्सव यसबर्ष पनि कायमै रह्यो । दिनप्रतिदिन प्रतिष्पर्धीहरु बीचको कडा प्रतिष्पर्धाले यो प्रतियोगिता पनि रोचक बन्दै गएको हो ।

प्रथम कपिलवस्तु सिङ्गिङ आइडियलको उपाधिका लागि १० जना प्रतिष्पर्धीले भाग लिएका थिए । महोत्सवको दिन बित्दै जाँदा प्रतिष्पर्धीहरु पनि बाहिरिदैँ गएका छन् । यो प्रतिष्पर्धामा केवल निर्णायकहरुको मूल्याङ्कनलाई आधार मानिएको छ । अर्थात प्रथम कपिलवस्तु सिङ्गिङ आइडियल चुन्नमा केबल निर्णायकहरुको मात्र हात हुनेछ ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा माघ १७ गतेदेखि सुरु भएको महोत्सव माघ २९ गतेसम्म चल्नेछ । महोत्सव अवधिभर ५ करोडको कारोबार हुने र २ लाख बढी दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति : २५ माघ २०७९ बुधबार ००:००  ११ : ४० बजे