१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एमालेले प्रस्ताव गरेको राष्ट्रपतिलाई कांग्रेसले हराएरै छाड्छ : गगन थापा



काठमाण्डौ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गर्नुभएको छ । महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरूले सक्दो प्रयास गर्ने कुरा स्वाभाविकै भएको जिकिरसमेत गर्नुभयो ।

बुधवार काठमाण्डौमा आयोजित अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवालु विषयक विचार गोष्ठीमा बोल्दै उहाँले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरू आँखा लगाएरै अघि बढ्ने बताउनुभयो । महामन्त्री थापाले राष्ट्रपति एमालेको भए देशमा संवैधानिक दुर्घटना हुने डर कांग्रेसलाई भएकाले आफूहरू त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफ्नो पक्षको बनाउन सबै प्रयास गर्ने बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘राष्ट्रपतिमा आँखा लाउलास् भन्नुहुन्छ साथीहरू । तर नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरूमा हामीले कस्तो बनाएका छौँ रु मन लाग्दाखेरी हामीले संविधानलाई मिच्न पाउने । अहिले नेकपा एमालेले राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ रु त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनी दिए हुन्छ । त्यसले के गर्छ रु यो सरकारको कुरा होइन है । त्यसले बिस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले विस्तार दुई शक्ति केन्द्र हुन्छ । एउटा बालुवाटार, अर्को शीतल निवास हुन्छ । अनि बालुवाटारबाट कार्यअधिकार प्रयोग गर्ने ठाउँबाट शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ । र एक ठाउँमा गएर ठोकिन्छ । त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ । त्यो संविधानलाई दुर्घटनामा लिएर जाने डरले गर्दा नेपाली कांग्रेसले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्छ । ’

विगतका राष्ट्रपतिहरूको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ थियो ।

प्रकाशित मिति : २५ माघ २०७९ बुधबार ००:००  २ : ०९ बजे