१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तु विकास कोष गठनका लागि जुट्न थाले अगुवा



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु बुद्ध सम्पदाले भरिपूर्ण भएपनि सोचेजस्तो विकास हुन नसकिरहेका बेला छुट्टै विकास कोष गठनका लागि यहाँका नागरिक अगुवाहरु जुट्न थालेका छन् ।

बुधबार तौलिहवामा एक कार्यक्रमको आयोजना गरी कपिलवस्तु विकास कोष गठनका लागि आवश्यक निर्णय लिइएको छ ।

कपिलवस्तु गौतम बुद्धले २९ बर्ष विताएको स्थल हो भने, कक्रुछन्द र कनकमुनी बुद्धको जन्मजस्थल हो । लुम्बिनी विकास कोषले हेर्दै आएको कपिलवस्तुका बुद्ध सम्पदाको विकास हुन सकेको छैन् । लुम्बिनी विकास कोष ६ ओटा सर्किट मिलाएर बनाइएको थियो जसमा चार ओटा सर्किट कपिलवस्तुमा छन् । तर कोषले लुम्बिनीमा मात्र ध्यान दिँदा कपिलवस्तु ओझेलमा छ ।

विगत देखि उठ्दै आएको कपिलवस्तु विकास कोष गठनको प्रसंग हालपनि उठेको हो । तौलिहवामा बुधबार कपिलवस्तु पर्यटन विकास समितिको आयोजनामा भएको छलफलमा कपिलवस्तु विकास कोष गठनका लागि संभाव्यता अध्ययन गर्न समितिका अध्यक्ष हरिशचन्द्र खनालको संयोजकत्वमा ९ सदस्यीय अध्ययन प्रतिवेदन समिति गठन गरेको छ ।

जसको सदस्यमा गीता अन्जान, राम अचल यादव, चर्तुभुज पाण्डेय, पोम नारायण पौडेल, रवि ठाकुर, युवराज केसी, नारद कोहार तथा वशिष्ठ तिवारी रहेका छन् ।

पुरातत्वविद, बौद्ध विद्धान तथा साहित्यकारको उपस्थिति रहेको कार्यक्रममा कपिलवस्तुमा सयौँ पुरातात्विक सम्पदाहरु हुँदा हुँदै पनि पर्यटकीयस्थलको विकास हुन नसकेको स्वीकार गर्दै यसका लागि कपिलवस्तुको बृहत्तर विकासका लागि कपिलवस्तु विकास कोष नै गठन गर्न सबै एकजुट भएर अगाडी बढनु पर्ने निष्कर्ष निकालिएको छ ।

कार्यक्रममा वरिष्ठ पुरातत्वविद एवम लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा.डा.बसन्त विडारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका पुरातत्व संकायका कार्यक्रम संयोजक उपप्रध्यापक गुनाखर गैरे, उपप्रध्यापक चर्तुभुज पाण्डेय, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, बौद्ध दर्शनका विज्ञ राम अचल यादव, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, साहित्यकार द्धोय हरिराज शर्मा, पशुपतिमणि त्रिपाठी, सामाजिक अभियान्ता रवी ठाकुर, बौद्ध दर्शनका विज्ञ विद्यार्थी गीता अन्जान, पोम नारायण पौडेल, युवराज केसी, गिरीराज पोख्रेल, हरिश चन्द्रलाल श्रीवास्तव, गोविन्द प्रसाद खनाल, पुरातत्व तर्फबाट विज्ञ एवम विद्यार्थी शुभकान्त भुसाल, वशिष्ठ तिवारी, स्थानीय पर्यटक पथ प्रदर्शक राजकुमार यादव, नेपाल पत्रकार महाँसघ कपिलबस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यको उपस्थिति रहेको कपिलवस्तु पर्यटन विकास समितिका अध्यक्ष हरिशचन्द्र खनालले जानकारी दिए ।

कार्यक्रमको दोस्रो चरणमा सर्वदलिय बैठक बोलाउने र तेस्रो चरणमा संघीय तथा प्रदेश सांसद, कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, सम्बन्धित क्षेत्रका विद्धान, विज्ञ लगायत सरोकारवालाको उपस्थितिमा छलफल गर्ने अध्यक्ष खनालले बताए । यो चरणको छलफल पश्चात कपिलवस्तु विकास कोष गठनका लागि संकल्प प्रस्ताव पारित गर्ने गरी काम अगाडी बढाइएको उनले बताए । सबै काम सकाएर प्रधानमन्त्री समक्ष योजना पेश गर्ने तयारी छ ।

प्रकाशित मिति : २६ माघ २०७९ बिहिबार ००:००  ६ : २९ बजे