२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

आन्तरिक पर्यटकीय गन्तव्य बन्दै मधौलीको ‘लभ पार्क’



मायादेवी अनलाइन, बाणगंगा ।
महेन्द्र राजमार्गमा ओर्लिएर झण्डै दुई किलोमिटर दुरीमा पर्छ मधौलीको लभपार्क । सामाजिक सन्जालमा एकाएक भाइरल भएर दैनिक डेढ सयले अवलोकन गर्ने यो पार्कको बिछिट्टै कहानी छ । यति छिटो पार्कले यहाँसम्म चर्चा कमाउला भन्ने स्वंय पार्क बनाउनेले समेत सोचेका थिएनन् । नसोचेको सफलता पाएपछि मधौलिया सामुदायिक वनका उपभोक्ता समेत दंग छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ मा पर्छ लभपार्क । मधौलीया उद्दान नामकरण गरिए पनि एकाएक लभपार्कमा परिणत भएको हो । चितवन, नवलपरासी, पाल्पा, अर्घाखाँची, दाङबाट समेत लभपार्क घुम्न आउने गरेका छन् । कपिलवस्तु र रुपन्देहीबाट आउने त कति छन् कति ।

महेन्द्र राजमार्गको सिद्धार्थ क्याम्पस बुङ्चीबाट दक्षिण लागे पछि लभपार्क पुग्न सकिन्छ । बाणगंगाको साविक कोपवा जोड्ने सडकको छेवैमा छ लभपार्क । एक करोड ३० लाख लागतमा निर्माण गरिएको यो पार्क आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा परिणत भएको छ । मधौलीया सामुदायिक वनको स्वामित्व रहेको यो पार्कमा मासिक सवा लाख आम्दानी हुने गरेको छ । तीन जनाले प्रत्यक्ष रोजगार समेत पाएका छन् ।

पार्कमा हेर्न लायक लभ आकृतिका संरचना हुन् । युवा पिढीको चाखलाग्दो उपस्थिति हुने गरेको यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने धेरै छन् । पछिल्लो समयको चर्चित सामाजिक सन्जाल टिकटकबाटै यो पार्क एकाएक चर्चामा आएको मधौलीया सामुदायिक वनका अध्यक्ष खडानन्द गौतम बताउँछन् ।

पर्यापर्यटन मार्फत वनलाई समृद्धिमा जोड्नुपर्छ भन्ने मान्यताले पार्क बनाइएको अध्यक्ष गौतमले बताए । मधौलीय सामुदायिक वन खासै ठूलो आम्दानी भएको वन होइन् । सिसौ र खयरका रुख मात्र रहेको वनलाई आर्थिक रुपमा बलियो पार्नका लागि उद्दान पार्क बनाउने सोचमा पुगेको बताउँछन् । तर नसोचेको सफलता हात परेपछि आफूहरुलाई सन्तृष्टि मिलेको उनले बताए ।

पार्क घुम्न जसरी आन्तरिक पर्यटक आइरहेका छन् ती पर्यटकलाई जीवन्त राख्न भने चुनौती छ । अध्यक्ष गौतम भन्छन्, ‘लभ पार्क हेर्न आउने दैनिक रुपमा बढेका छन् । यसैगरी पर्यटक टिकाउनका लागि हाम्रो सामु चुनौती छ । पर्यटकलाई सधैं भित्राउन कसरी सकिन्छ भनेर छलफलमा छौं ।’

अध्यक्ष गौतमले आगामी दिनमा नेपालकै सबैभन्दा ठूलो झण्डा र नक्सा बनाउने सोच बनाएको बताए । नेपालमै नभएको ठूलो आकारको झण्डा र नक्सा बनाउने गरी थप योजना बनाइरहेको उनले बताए । यसो गर्दा अझै एक दुई बर्ष पर्यटक भित्राउन सकिने उनको विश्वास छ ।

लभ पार्क घुम्नका लागि प्रति व्यक्ति १० रुपैयाँको टिकट तिर्नुपर्ने हुन्छ । विद्यार्थी, अपाङ्गता भएका व्यक्तिलाई टिकटमा सहुलियत दिने गरिएको उनले बताए । पार्क भित्र दैनिक रुपमा पिकनिक खान आउने पनि छन् । पिकनिकका लागि रु पाँच सय तिर्नुपर्ने उनले बताए । पार्कमा विभिन्न प्रजातिका फूलहरु ढकमक्क फुल्ने गरेका छन् । वरपर तालजाली लगाएर पार्कको सजावट गरिएको छ । भौतिक संरचना थपेर पार्कलाई अझ आकर्षक र व्यवस्थित पार्ने लक्ष्य छ ।

प्रकाशित मिति : २८ माघ २०७९ शनिबार ००:००  ९ : ०८ बजे