१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

माओवादी नेताहरु भन्छन्ः ‘जनयुद्धले जनतालाई सडकमा ओर्लेर बोल्न सक्ने बनायो’



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला संयोजक बिष्णु बेल्बासेले जनताले चोक, चौराहमा बोल्न सक्ने अधिकारको सुनिश्चित जनयुद्धले गरेको ठोकुवा गरेका छन् ।

विभिन्न काल खण्डको सन्दर्भ औल्याउँदै संयोजक बेल्वासेले जनयुद्ध पछि मात्रै जनताहरु सडकमा ओर्लेर बोल्न सक्ने भएको दाबी गरे ।

२८ औँ जनयुद्ध दिवसका अवसरमा बाणगंगामा सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । संयोजक बेल्बासेले माओवादी आन्दोलनका विभिन्न पक्ष धारलाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको उल्लेख गरे । उनले मुलुकको समृद्धिका लागि माओवादीका विभिन्न धार बीच एकता आवश्यक रहेको बताए ।

दिवसका अवसरमा माओवादी केन्द्र लम्बिनी प्रदेश सचिवलय सदस्य जनी बन्जाडेले भनिन्–‘जनयुद्ध ऐतिहासिक दिन भएकाले वैधानिक तवरले जनयुद्धलाई यसअघि नै स्थापित गरिनुपथ्र्यो । ढिलै भए पनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने राम्रो निर्णय गरेको छ ।’

सार्वजनिक बिदा जनयुद्धमा होमिएका सबैका लागि सम्मान स्वरुप भएको उनले बताइन । यो दिवसलाई स्मरण गर्दै अहिले आफूहरु सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्न थालेको उनको भनाइ छ ।

यस्तै कार्यक्रममा प्रदेश कमिटी सदस्य सुकै थारु, नारायण भूसाल लगाएतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा जनयुद्धका प्रथम सहिद गोर्खाका दिल बहदुर रम्तेलको तस्विरमा टीका तथा माल्यापर्ण गरिएको थियो ।

माओवादी केन्द्र बाणगंगा नगर अध्यक्ष देवराज अर्यालको अध्यक्षता, नेता टेकेन्द्र कुमार क्षेत्रीको स्वागत रहेको कार्यक्रमको संचालन नगर सचिव प्रेम विकको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा करिब दुई सय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९ मंगलबार ००:००  ६ : १८ बजे