१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विश्वको ध्यान आयुर्वेदतर्फ जाँदैछः राष्ट्रपति भण्डारी



तुलसीपुर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद केन्द्रीय विद्यापीठ भवन उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले आयुर्वेद उपचार पद्धतितर्फ पछिल्लो समयमा आकर्षण बढ्दै गएकाले यसको विकास विस्तारमा ध्यान दिइने बताउनुभयो ।

राष्ट्रपति भण्डारी आयुर्वेद स्नातक उत्पादन भएका जनशक्तिले देशको स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान रहेको जानकारी दिनुभयो । गणतन्त्र स्थापनापछि राष्ट्र प्रमुखबाट पहिलो संस्कृत विश्वविद्यालय पुग्नुभएका राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवन संस्कृत विश्वविद्यालयका लागि ठूलो उपलब्धी भएको बताउनुभयो ।

उहाँले विगत स्मरण गर्नुहुँदै जननेता मदन भण्डारी संस्कृतकै उत्पादन भएकाले उहाँका रचना र जीवनमा सामाजिक, प्राकृतिक विशेषता प्राप्त जीवनकालमा देखिएको बताउनुभयो ।उहाँले प्राचीन र मध्यकालीन इतिहासका दुर्लभ ग्रन्थ संस्कृत भाषामै रहेकाले ती दुर्लभ ग्रन्थको विकास विस्तारमा लाग्नुपर्ने धारणा औंल्याउनुभयो ।

संस्कृत भाषामा हिन्दु धर्मको मात्रै नभई बौद्ध र जैन धर्मसम्बन्धी विषयवस्तु समावेश भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले योग, प्रणायाम, मानसिक उपचार पद्धति आयुर्वेदमै रहेकाले व्यस्त जीवनशैलीमा यी उपचार पद्धतिको महत्त्वपूर्ण भूमिका रहने पनि बताउनुभयो ।

उहाँले नेपाली समाजमा आयुर्वेद सम्बन्धी सयौं विज्ञ उपलब्ध रहेको र आदिवासी जनजातिमा समेत आयुर्वेद र ज्ञान सिर्जना भएकाले त्यो ज्ञान सिर्जना नयाँ पुस्ताका हस्तान्तरण गर्ने पाठ्यक्रम तयार गर्न विश्वविद्यालयलाई निर्देशन दिनुभयो ।

संस्कृत विश्वविद्यालयको चल अचल सम्पत्तिलाई सही रुपमा व्यवस्थापन गरेर आर्थिक रुपमा समेत सम्पन्न बनाउन अघि बढ्न निर्देशन दिनुभयो । राष्ट्रपति भण्डारीले आयुर्वेद केन्द्रीय विद्यापीठका अध्यापनका लागि आवश्यक दरबन्दीको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९ बिहिबार ००:००  ५ : ४० बजे