१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उपेन्द्र यादवले भनेः जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ



रूपन्देही ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा केही समयपछि सरकारमा सहभागी हुने बताएका छन् ।

जसपा नेपाल जिल्ला समन्वय समिति, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रदेश सरकार निर्माणमा जसपाको भूमिका महत्वपूर्ण रहेको जनाउँदै केही दिनपछि सरकारमा जाने उल्लेख गरे ।

जसपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरी विश्वासको मतसमेत दिए पनि सरकारमा सहभागी नभएको जनाउँदै उनले नागरिकतासम्बन्धी समस्या समाधान, सत्ता साझेदारीमा सम्मानजनक सहभागिता हुनुपर्ने जसपाको माग रहेको बताए ।

पहिले सिट बाँडफाँट गरेर बाँकी जसपालाई दिने कुरा स्वीकार्य नहुने उनको भनाइ छ । सङ्घीयतालाई मजबुत बनाउन सङ्घीय कानुन आवश्यक रहेको यादवले बताए ।

सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता मधेस आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको बताउँदै उनले सङ्घीयता र गणतन्त्र समाप्त गरेर एकात्मक शासन व्यवस्था लाद्ने प्रयास भइरहेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९ बिहिबार ००:००  ६ : ११ बजे