८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाणगंगामा महाशिवरात्री पर्वको तयारी तिव्र



राजेन्द्र खनाल, बाणगंगा ।
कपिलवस्तुमा महाशिवरात्री पर्वको तयारी स्वरुप शिव मन्दिरहरुमा विभिन्न कार्यक्रम आयोजनाको तयारी गरिएको छ ।

फाल्गुण ६ गते शनिबार परेको महाशिवरात्री पर्वमा कपिलवस्तुसहित देशभरका शिवालयहरुमा भगवान शिवको पूजा आरधना सहित शिवरात्री पर्व मनाइँदै छ । त्यसका लागि शिवालयहरुको सरसफाई, रङरोगन सहित आवश्यक तयारीमा तिव्रता दिइएको छ ।

बाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधामस्थित कपिल आरोग्य मन्दिर कपिलधमसहित वडा नम्बर ९ को रामदतिवन धाममा यतिबेला शिवरात्रीको तयारी गरिएको छ ।

कपिलधाममा शिवरात्री पर्वका अवसरमा लघुरुद्रीसहित दीप प्रज्वलन, जलार्पण, भजनकिर्तन तथा कथा प्रवचन लगायतका कार्यक्रम राखिएको धामका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी दिए । यस्तै आचार्यले स–परिवार उपस्थितिका लागि सूचनासहितको निमन्त्रणा गरेका छन् ।

उता बाणगंगा ९ मै रहेको धार्मिकस्थल राम दतिवनमा पनि तीन दिने शिवरात्री मेलाको आयोजना गरिएको धामका सचिव प्रेमनारायण पाण्डेले जानकारी दिए । शिवरात्रीको अवसरमा रामदतिवन धाम व्यवस्थापन समितिले तयारी तिव्र पारेको भन्दै पाण्डेले शिवरात्रीको मेलालाई व्यवस्थित बनाउने काम भइरहेको बताए ।

फागुन ५, ६ र ७ गते रामदतिवन धाममा विशेष पूजा आरधना सहित आध्यात्मिक प्रखर वक्ता ऋषिकेश उपाध्यायद्धारा कथा प्रवचनको कार्यक्रम राखिएको छ भने महा आरतीको कार्यक्रम पनि रहेको धाम व्यवस्थापन समितिले जानकारी दिएको छ ।

यता वडा नम्बर ६ स्थित लक्ष्मणघाट धाममा पनि शिवरात्रीको तयारी गरिएको जनाइएको छ भने पिपरा, बैरिया लगाएतका स्थानका शिवालयमा पनि शिवरात्री मनाउन तिव्र तयारी गरिएको छ । यसवर्ष फाल्गुण ६ गते शिवरात्री पर्व परेको छ । हिन्दु धर्ममा महाशिवरात्री पर्वको विशेष महत्व रहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९ बिहिबार ००:००  ६ : २९ बजे