७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

आईसीसी विश्व कप क्रिकेट लिग–२ः स्कटल्यान्डमाथि नेपालको सानदार जित



काठमाडौं ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डमाथि सानदार जित निकालेको छ । स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर भेटायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले उत्कृष्ट ब्याटिङ गरे । कुशल ६७ बलमा ८१ रन बनाएर आउट भए भने दीपेन्द्रले १ सय १६ बलमा नटआउट ८५ रन बनाए । यस्तै सोमपाल कामीले नटआउट २४ रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस सोल र मार्क वाटले ३÷३ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनायो । स्कटल्यान्डका लागि माइकल लिस्कले ८५ बलमा १ सय ७ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो । यस्तै आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १÷१ विकेट लिए ।यो जितसँगै नेपाल २६ खेलमा २२ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । स्कटल्यान्ड ३४ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा यथावत् छ । नेपालले शृङ्खलामा भोलि शनिवार नामिबियासँग र आउँदो मङ्गलवार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९ शुक्रबार ००:००  ५ : ०० बजे