१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

५२ रोपनीमा गोलभेंडा खेती, आम्दानी मनग्ये



गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेंडा (टमाटर) बाटै मनग्ये आम्दानी गर्दै आएका छन् ।

कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेंडा खेती गरिरहेका छन् ।

२ दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यावसायिक कृषिमा लागेका छन् । उनीहरूले अहिले दाजुभाइ कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर गोलभेंडा खेती गरिरहेका छन् । ज्ञवाली परिवारका ६ जना खटेर गोलभेंडा खेतीलाई अहिले ५२ रोपनी जग्गामा विस्तार गरेका छन् ।

उनको बारीबाट अहिले वार्षिक ८०० देखि ९०० क्विन्टल गोलभेंडा बिक्री हुँदै आएको छ । उनको फार्मबाट हाल प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा गोलभेंडा बिक्री हुन्छ । मूल्य घटबढ भए पनि गोलभेंडाको लागि बजारीकरणको कुनै समस्या नभएको दाजु कमलले बताए ।

व्यवसायको शुरूआती चरणमा भएको क्षति पूरा गरेर अहिले पनि मासिक रूपमा १ देखि २ लाख खर्च कटाएर बचत हुने गरेको कमलले बताए । ‘हप्तामा ३ देखि ४ पटक गोलभेंडा गाडीमा बुटवल पठाउँछौं, १ पटकमा १ लाख बराबरको जाने गर्दछ,’ उनी भन्छन्, ‘खेतीमा परिवारका सबै सदस्य खट्छौं, खर्च कटाएर पनि मासिक १/२ लाख आम्दानी हुन्छ ।’

लगातार मेहनत गर्नेहरू व्यावसायिक रूपमा कृषिमा प्रेरित हुनुपर्ने कमलको भनाइ छ ।

दाजुभाइ कृषि फार्मलाई संरक्षित संरचनामा प्रांगारिक तरकारी उत्पादन कार्यक्रमका लागि गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा ४ लाख सहयोग गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । उनले व्यावसायिक कृषिमा लागेर अरुलाई पनि उदाहारण दिन सक्नेलाई प्रोत्साहित गरिरहेको बताए ।

कृषि क्षेत्रमा परिवार सबै मिलेर खेती गरी उदाहरण दिँदै मनग्ये आम्दानी गरिरहेको कमल र कपिललाई कृषि ज्ञान केन्द्रले उत्कृष्ट कृषकमा छनोट गरी सम्मान गरेको थियो । दाजु कमल २०७९ सालको संविधान दिवसको अवसरमा नेपाल सरकारबाट विकास रतन पदकबाट विभूषित समेत भएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९ शनिबार ००:००  ७ : २९ बजे