४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रित्तिँदै गाउँ, भरिँदै बजार



तनहुँ ।
यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पर्थ्यो । त्यसरी नपकाए पुग्थेन’, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, ‘तर अहिले ती सबै एकादेशको कथाजस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्‍यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।’

भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको यस गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताउनुभयो । उहाँका दुई छोरा चितवनको शारदानगरमा घरजम गरेर बसेका छन् । पुर्ख्यौली जग्गा, जमिनको मायाले गर्दा ६३ वर्षीया श्रीमती मनसरासहित उहाँ भने गाउँमै बस्नुभएको छ ।

यस ठाउँमा उब्जाउ पनि राम्रो हुने भए पनि धेरैजसो जमिन बाँझो छ । काम गर्ने कोही नहुँदा गाउँमा रहेको झन्डै दुई सय रोपनी जग्गा त्यसै बाँझिएको उहाँले बताउनुभयो । ‘गाउँका बुढापाका सबै आफ्ना सन्तान सँगै बसाइँ सरेर गए’, गुरुङले भन्नुभयो, ‘तर हामी केही घरका मानिस गाउँ छाड्न सकेका छैनौँ । हातखुट्टा चल्न छाडेपछि छोरा भएको ठाउँमा जाउँला भनेर यही बसेका हौँ ।’ गुरुङका अनुसार गाउँको रौनक विगतमा उत्पात थियो । गाउँमा पिउने पानीको समस्या रहे पनि गाउँको बीचमा स्थापना गरिएको आकाशे पानी सङ्कलन ट्याङ्कीबाट समान तवरले खानेपानी वितरण गरिन्थ्यो ।

यहाँका युवा रोजगारीको क्रममा खाडी र युरोप गएर कमाएपछि छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै बसाइँ सरेर चितवन, पोखरा र काठमाण्डौ गएकाले गाउँ नै सुनसान बनेको स्थानीय ५३ वर्षीया मनक्योरी गुरुङको भनाइ छ । ‘गाउँका छोराहरू कमाउने भएपछि छोराछोरीलाई राम्रो पढाउने भन्दै बुहारीहरू पनि सहरतिर जाने गरेका छन्’, गुरुङले भन्नुभयो, ‘हामी नपढेका बूढाबूढीलाई यही गाउँ प्यारो भयो ।’

तनहुँका धेरैजसो गाउँको दृश्य कोटथोकको जस्तै छ । व्यास–९ मा पर्ने दलभञ्ज्याङ गाउँमा कुनै समय ६०र६५ घरको ठूलो बस्ती थियो । नेवारहरूको बाहुल्यता रहेको यस गाउँमा अहिले कोही बस्दैनन् । प्रायः गाउँमै व्यापार गरेर बस्ने यहाँका मानिस जिल्लाका बजार डुम्रे, सतिस्वाँरा, दमौली, गजौडेलगायत पोखरा र काठमाण्डौमा बसाइँ सरेर गएपछि गाउँ रित्तो छ । व्यास–९ कै मेवाबारीबाट समेत मानिस बसाइँ सरेर अन्यत्र गएपछि गाउँमा बस्ने कोही छैनन् । गाउँका युवाहरू वैदेशिक रोजगारीको क्रममा खाडी र युरोप जान थालेपछि तिनका परिवार पनि छोराछोरीलाई पढाउन भन्दै सहर बस्न थाले ।

व्यास–७ छापथोकमा रहेका १७ घर दलित एकैपटक बसाइँ सरेर बेसी झर्दा गाउँ शून्य छ । यो गाउँ नजिकै ठूलो पहिरो गएपछि गाउँसमेत पहिरोमा पर्ने भयले आफूहरूले गाउँ छाड्नुपरेको ५६ वर्षीय बिलबहादुर नेपालीले बताउनुभयो । गाउँमा रहेका १७ घर परिवारको झन्डै ५० रोपनी पाखो जमिन भने त्यसै बाँझिएर गएको उहाँले बताउनुभयो । ‘पानी पर्दा पहिरोले गाउँ नै बगाउँछ कि भन्ने भयमा बस्नुपर्ने अवस्था थियो’, नेपालीले भन्नुभयो, ‘अहिले बेसी झरेपछि पहिरोमै परेर ज्यान जाला भन्ने चिन्ता भने छैन । जसोतसो दैनिक गुजारा चलेकै छ ।’ आफ्ना दुई छोरा वैदेशिक रोजगारीको क्रममा खाडी देशमा गएपछि नातिनातिनीलाई राम्रो शिक्षा दिन आफूहरूले गाउँ छाडेको उहाँले बताउनुभयो ।

खाडी या अन्य देशमा गएर राम्रो आर्थिकोपार्जन गर्ने ग्रामीण क्षेत्रका युवाको पहिलो रोजाइ पोखरा, चितवन र काठमाण्डौलगायतका ठूला सहरमा घडेरी किन्ने र घर बनाउने होडबाजी नै हुने गरेको दमौली बजार एकाइ समितिका अध्यक्ष भूपाल आलेले बताउनुभयो । शिक्षा, स्वास्थ्य र यातायातको सहज पहुँच पुग्ने भएकाले पनि गाउँ छाडेर सहर बजारतिर बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

‘श्रीमान् विदेश जानेबित्तिकै काखका सन्तान च्यापेर श्रीमती बजारमा झर्ने क्रम बढ्दो छ’, आलेले भन्नुभयो, ‘त्यसले गर्दा गाउँ रित्तिँदै गएको छ ।’ सन्तानलाई गुणस्तरीय शिक्षा दिने हुटहुटीले गर्दा आफूले दमौलीको एक कोठा भाडामा लिई श्रीमती र छोरालाई राखेर रोजगारीका लागि कतार हानिएको व्यास–६ स्याम्घाका ३३ वर्षीय रमेश श्रेष्ठले बताउनुभयो । ‘गाउँघरमा हामीले भनेजस्तो अङ्ग्रेजी शिक्षा पाएनौँ’, श्रेष्ठले भन्नुभयो, ‘हाम्रो सन्तानको हाम्रोजस्तो अवस्था नहोस् भनेर गाउँ छाड्न बाध्य भइयो ।’ गाउँमा १२/१५ रोपनी पाखोबारी भए पनि श्रेष्ठले दमौली बजार नजिकै व्यास–५ चापाघाटमा चार वर्ष पहिले झन्डै १७ लाख रुपैयाँ खर्चिएर चार आना जग्गासमेत किनेको बताउनुभयो ।

भूगोल र आफन्तको प्रभावको आधारमा धेरैजसोले गाउँबाट बजारतिर बसाइँसराइ गरेको पाइएको छ । पृथ्वी राजमार्ग क्षेत्रका बस्तीहरू भिमाद, दुलेगौँडा, खैरेनी, थर्पु, दमौली, डुम्रे, भानु, आँबुखैरेनीलगायतका बजारमा बसाइँ गरेर आउनेहरूको दर बढ्दो छ । ठिक्कको कमाइ गर्नेहरूको रोजाइ भने गाउँबाट यातायात, शिक्षा र स्वास्थ्यको पहुँच भएको बेसी क्षेत्रका बस्तीमा परेको छ ।

प्रभावकारी भएन बाँझो जमिन सदुपयोग नीति

बसाइँसराइ गरेर जानेलाई निरुत्साहित गर्न तनहुँका व्यास, शुक्लागण्डकी, भानु र भिमाद नगरपालिका तथा आँबुखैरेनी, देवघाट, बन्दिपुर, ऋषिङ, म्याग्दे र घिरिङ गरी छ गाउँपालिका गरी १० पालिका रहेको जिल्लाका सबै पालिकाले बाँझो जमिनलाई सदुपयोग गर्ने नीति ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन र नियमन हुन सकेको छैन । बाँझो जमिन नराख्न प्रोत्साहन गर्ने पालिकाले ल्याएको नीति तथा कार्यक्रम नारामा मात्र सीमित छ ।

व्यास नगरपालिकाको कार्यालयले बाझो जग्गा सदुपयोग गर्नेलाई कर छुटको नीति ल्याए पनि त्यो पर्याप्त छैन । आलुको बिरुवा, प्याजको बिरुवा खरिदमा व्यक्ति, समूह वा सहकारीलाई व्यास नगरपालिकाको कार्यालयले ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरे पनि त्यसलाई पकेट क्षेत्र खेती विकास कार्यक्रमका रूपमा विकास गर्न नसक्दा अनुदानको कार्यक्रमले व्यावसायिक किसान बढाउन सकेको छैन ।

गाउँमा उब्जनी गरिएको तरकारी खेतीको लागत मूल्य बढी पर्ने भएकाले आफूले घाटाको खेती नगरेको व्यास ११ तनहुँसुरका अगुवा सुन्तला किसान केबी थापाले बताउनुभयो । दैनिक पानी लगाउन नसकिने र दमौली बजार पनि झन्डै १५ किलोमिटर टाढा पर्ने भएकाले आफूले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको उहाँले बताउनुभयो । ‘गाउँमा खानेपानीका लागि त बिजुलीको भर पर्नुपर्छ‘, थापाले भन्नुभयो, ‘त्यसैले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको हुँ ।’

गाउँमा तरकारी खेती गर्ने व्यावसायिक किसानलाई राज्यले अनुगमन र निरीक्षण गरी उचित अनुदानको व्यवस्था गरे गाउँघरमा बाँझो जमिन सदुपयोग हुन सक्ने आफूलाई लागेको थापाको भनाइ छ । पानी नलाग्ने क्षेत्रहरूमा अदुवा, हलेदोलगायतको खेतीलाई राज्यले प्रोत्साहन गरी बजारीकरणको व्यवस्थासमेत राज्यले गर्न सके गाउँमा बाँझो जमिन सदुपयोग हुने उहाँ बताउनुहुन्छ ।

ऋषिङ गाउँपालिका कार्यालयको नारा नै ‘ऋषिङ समृद्धिको आधार कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ रहेको छ । कृषि नै गाउँपालिकाको मुख्य आधार बुझेको यस गाउँपालिकाको कार्यालयले कोदो र मकैलाई गाउँपालिकाको पहिचान बनाउने नीति लिएको छ । तर त्यो नीतिलाई प्रभावकारी बनाउन गाउँपालिकाले पनि व्यावसायिक खेती गर्नेतर्फ किसानलाई आकर्षित गर्न सकेको छैन ।

अन्य पालिकाले समेत कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आए पनि दिगो प्रभाव पार्ने कार्यक्रम ल्याउन सकेको देखिँदैन । बिउबिजन र जोत्नका लागि हाते ट्याक्टरमा अनुदानको साथै म्याग्दे र व्यास नगरपालिका–१ को कार्यालयले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ दिने नीति राखेको छ । यस्ता साना कार्यक्रमबाहेक ग्रामीण क्षेत्रमा व्यावसायिक किसानको पहिचान गरी प्रभावकारी अनुदानको व्यवस्था गर्ने नीति कुनै पनि तहले प्रभावकारीरूपमा कार्यान्वयन गर्न सकेका छैनन् ।

बसाइँसराइले हराउँदै घैया धान

बसाइँसराइको प्रत्यक्ष असर पाखोमा लगाइने घैया धान खेतीमा समेत परेको छ । चार÷पाँच वर्षअघि व्यास नगरपालिकाको साँगे, भानुको फुर्सेटार, म्याग्देको दिर्बुलगायत सबैजसो पालिकामा रहेका पाखो टारहरूमा लगाइने घैया धान अहिले हराउँदै जानु चिन्ताको विषय रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

घैया घान खेती गर्नेको सङ्ख्या घट्नुमा बसाइँसराइ नै प्रमुख कारण रहेको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीको ठम्याइ छ । “केही वर्ष पहिले तनहुँ घैया धान खेतीमा समेत चर्चित थियो’, केन्द्रका प्रमुख तिवारीले भन्नुभयो, ‘तर अहिले छिटफुटबाहेक कतै पनि घैया खेती गरेको देखिँदैन ।’

बसाइँसराइ र वैदेशिक रोजगारीमा गएकाहरूको परिवारले पनि किनेरै चामल खाने चलनले गर्दा घैया धानखेती लगाउन बन्द भएको उहाँको भनाइ छ । केही वर्ष पहिले जिल्लाभरि झन्डै तीन सय हेक्टर क्षेत्रफलमा घैया धान लगाइने र झन्डै आठ सय मेट्रिक टनको हाराहारी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

घैया धानसँगै जिल्लामा अहिले चैते धान लगाउनेको सङ्ख्यासमेत घटेको छ । गएको वर्ष एक हजार आठ सय पाँच हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा आठ हजार चार सय ८४ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । २०६० सालसम्म जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान गरिने तथ्याङ्क रहेको केन्द्रका प्रमुख तिवारीले बताउनुभयो ।

‘वैदेशिक रोजगारीको कारण बसाइँसराइले गर्दा गाउँको बाँझो जमिन रहने दर बर्सेनि बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘बाँझो जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहन र त्यसै छाड्नेलाई जरिबानाको व्यवस्था पालिकाले गरे जमिन बाँझो हुने क्रममा कमी हुने थियो ।’ तनहुँमा खेती गर्न योग्य रहेर पनि बाँझो रहेको जमिन १३ हजार पाँच सय ५१ हेक्टर रहेको छ । ६५ हजार ६१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहे पनि अहिले ५१ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको केन्द्रले जनाएको छ ।

विदेश पलायन हुनेको दर बर्सेनि बढ्दै

जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । राहदानी बनाउन सिफारिस गर्न आउनेमा विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी, वैदेशिक रोजगारीमा जाने युवा र आफन्त भेट्न विदेश जाने अभिभावकहरू रहेका प्रशासन कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि माघसम्मको सात महिनामा राहदानी सिफारिस गरिएको सङ्ख्या गएको आव २०७८र७९ मा सिफारिस गरिएकोभन्दा एक हजार आठ सय ५७ ले बढी छ । पछिल्लो सात महिनामा तीन हजार सात सय ४६ महिलासहित १० हजार सात सय २२ जनाले राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयबाट सिफारिस लिएका छन् । राहदानी बनाउन आउनेमध्ये विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी झन्डै ४५ प्रतिशत, त्यही अनुपातमा वैदेशिक रोजगारीमा जाने युवा र बाँकी १० प्रतिशत विदेश आफन्त भेट्न जाने अभिभावक रहेका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताउनुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९ आइतबार ००:००  ३ : १५ बजे