१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फ्लोअपः पाडापालनको अनुदान रकम दुरुपयोग, अध्यक्ष ज्ञवाली सम्पर्कविहिन



मायादेवी अनलाइन, बाणगंगा ।
पाडापालनमा अनुदान रकम दुरुपयोग भएको बाणगंगा नगरपालिकाले जनाएको छ । कपिलवस्तुको बाणगंगा- ८ मधुवनमा उद्यमशिल सहकारीले संघीय सरकारको शसर्त अनुदान रकमबाट पाडापालन गरेको हो । तर सहकारी सन्चालक गैरजिम्मेवार बन्दै अनुदान रकम दुरुपयोगको ‘फण्डा’ अपनाउन तर्फ लागि परेका छन् ।

मायादेवी अनलाइनले अनुदान रकमको दुरुपयोग भएको समाचार प्रकाशित गरेको थियो ।

पाडापालन गर्ने सहकारीका अध्यक्ष महेन्द्र ज्ञवाली हुन् भने, सचिवमा कृष्ण कुँवर छन् । सहकारीमा भोजराज थारु, जीवलाल कँडेल लगायतका व्यक्ति संलग्न छन् ।

यी मध्ये कतिपय व्यक्ति सार्वजनिक रुपमा राम्रै छवि बनाएका छन् । तर पाडापालनमा उनीहरुले आफ्नो बेइमानी रुप छर्लङ्ग पारेका छन् । सरकारी अनुदान ‘झ्वाम’ पार्ने अभियानमा यिनीहरु तल्लिन देखिन्छन् ।

पाडापालनका लागि संघीय सरकारले अनुदानवापत १६ लाख ९६ हजार रकम दिएको थियो । बाणगंगा नगरपालिकाले यो सहकारी समक्ष ५ बर्षे सम्झौता गरेको छ ।

पाडापालनका लागि दुई निजी फर्म, एक समूह र एक सहकारीले प्रस्तावना पेश गरेका थिए । नगरले निकालेको सार्वजनिक सूचनाबाट उद्यमशिल सहकारी पाडापालनका लागि योग्य ठहर भएको थियो । कार्यविधिमा उल्लेख भए बमोजिम सहकारीलाई प्राथमिकता दिनुपर्ने भएकाले यो सहकारीलाई उक्त कार्यक्रम दिइएको नगरका पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले बताए ।

कानुनी रुपमा सबै प्रक्रिया पूरा गरी पाडा पाल्ने अनूमति दिइएको भएपनि एक बर्ष नहुँदै अनुदानको रकम दुरुपयोग गर्ने गरी सहकारी लागेको तिवारीले बताए ।

यहाँ पाडापालन नाम मात्रको छ । पाडालाई चाहिने आवश्यक आहारको कुनै बन्दोबस्तो भएको देखिदैन् । पाडा ख्याउटे अवस्थामा रहेका छन् भने खुलेयाम छाडा छाड्ने गरिएको छ । चरिचरणको बन्दोबस्तो नगरी पाडालाई छाडा छाड्दा किसानको खेतीपाती पाडाले सखाप पार्ने गरेका छन् ।

नजिकै रहेको नवप्रभात सामुदायिक वनको नर्सरीमा छाडा छाडिएका यी पाडाले बोटविरुवा खाएर हैरान पारेका छन् । छाडा छाडिएका पाडाले हैरानी पारेपछि वनका पदाधिकारीले मायादेवी गुहारेका थिए ।

सहकारी सन्चालकले जथाभावी पाडा छाड्ने, मरेको भन्ने पार्ने र अनुदान रकम दुरुपयोग गर्ने कर्ममा लागिपरेका छन् । त्यसैले छाडा छाडिएका पाडा लिनका लागि वनले आग्रह गर्दा समेत लिन आउन सहकारी सन्चालकले चासो देखाएका थिएनन् । सामुदायिक वनको घाटगद्धी भित्र तीन दिनसम्म यी पाडालाई थुनेर राखिएको थियो ।

बाणगंगा नगरपालिकाले भने समाचार आउनु पूर्व पाडापालनमा दुरुपयोग भएको ठहर गरी सहकारीमाथि सुरुवाती एक्सन चालिएको दाबी गरेको छ ।

अनुदान रकम लिएर पालिएको पाडामा सहकारी सन्चालक हदैसम्मको गैरजिम्मेवार बनेको बताए । स्थानीयले सूचना दिए लगत्तै आफूले अनुगमन गरेको र अनुगमन गर्दा सहकारी सन्चालकले सम्झौता विपरित काम गरेको पाइएको तिवारीले बताए ।

मासु मिसन अन्तर्गत पाडा प्रबन्धन कार्यक्रम मार्फत प्राप्त रकम दुरुपयोग गर्ने सहकारी र यसका सन्चालकमाथि कानुनी कारबाही हुने उनले स्पष्ट पारे । दुवै पक्ष बीच कार्यविधि अनुसार सम्झौता भएको र सोही बमोजिम काम नभए कानुन अनुसार कारबाही गरिने उनको भनाई छ ।

नगर प्रमुख चक्र अर्यालले सरकारी रकमको दुरुपयोग गर्ने जो कसैलाई कारबाही हुने बताए । राज्यले मासुमा आत्मनिर्भर र नागरिकलाई स्वरोजगार बनाउन अनुदान रकम दिएको भन्दै अनुदान रकम दुरुपयोग गर्ने गलत मनसाय पाल्ने जो सुकै कारबाहीको भागीदार हुने नगर प्रमुख अर्यालले बताए ।

अध्यक्ष ज्ञवाली सम्पर्कविहिन
सहकारीका अध्यक्ष समेत रहेका महेन्द्र ज्ञवाली सम्पर्कमा आउन नचाहेको पशु शाखा प्रमुख तिवारीले बताए । नगरको पशु शाखाले पटक पटक सम्पर्क गर्न खोजेपनि ज्ञवालीको फोन नउठेको उनले जनाए ।

अध्यक्षको फोन नउठे पछि सहकारीका सचिव कृष्ण कुँवरलाई मंगलवार तत्काल नगरमा हाजिर हुन आग्रह गरिएको उनको भनाई छ । नगरको सबै पक्ष बसेर थप प्रक्रिया थालनी हुने उनले जनाए । सहकारीले ५० ओटा पाडा पाल्ने गरी अनुदान रकम पाएको थियो ।

यो पनि पढ्नुहोस्

बाणगंगामा अनुदानको पाडापालनमा देखियो कन्तविजोग, पाल्न नसकेर छाडिन्छ छाडा

प्रकाशित मिति : १३ चैत्र २०७९ सोमबार ००:००  ६ : ११ बजे