६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

आठ महिनामा साढे नौ खर्बको व्यापार घाटा



काठमाडौं ।
चालु आर्थिक वर्षको ८ महिनामा वैदेशिक व्यापारतर्फ मुलुकले साढे ९ खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ।

केन्द्रीय बैंकले मंगलबार जारी गरेको फागुन मसान्तसम्मको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा मुलुकबाट १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात हुँदै गर्दा १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाको आयात भएको हो।

तथ्यांकअनुसार समीक्षा अवधिमा मुलुकको वैदेशिक व्यापारघाटा ९ खर्ब ५४ अर्ब रुपैयाँ देखिएको छ। समीक्षा अवधिमा निर्यात २९.१ प्रतिशतले र आयात १९.१ प्रतिशतले घट्न पुगेको छ। यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा निर्यात ८२.९ प्रतिशतले बढेको थियो भने आयात ३८.७ प्रतिशतले बढेको थियो।

भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा जिंक सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको केन्द्रीय बैंकले जनाएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७९ मंगलबार ००:००  ५ : १२ बजे