१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आइपीएलमा हैदरावादको जित, कोलकाताका रंकु र नितिशको उत्कृष्ट ब्याटिङले काम गरेन



एजेन्सी ।
कप्तान नितिश राणा र रिंकु सिंहको उत्कृष्ट ब्याटिङको बाबजुद कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १९ औं खेलमा सनराइजर्स हैदराबादसँग २३ रनले पराजित भएको छ ।

जितको लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो । कोलकाताका कप्तान नितिश राणाले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।

नितिशले छैटौं ओभरमा तीव्र गतिका बलर उमरान मलिकलाई चार चौका र दुई छक्कासहित कुल २८ रन जोडेका थिए । अन्तिम र दोस्रो बलमा छक्का हान्दा अन्य चार बलमा चौका हानेका थिए । रिंकु सिंह ३१ बलमा ४ चौका र ४ छक्कासहित ५८ रनमा अविजित रहे ।

यसअघिको खेलमा गुजरातलाई हराउन रिंकुले अन्तिम ओभरमा ३१ रन चाहिँदा लगातार पाँच छक्काका साथ खेल जिताएका थिए । छैटौं विकेटका लागि रिंकु र नितिश राणाले ३९ बलमा ६९ रनको साझेदारी गरेका थिए ।

ओपनर नारायण जगदीशनले २१ बलमा ५ चौका र २ छक्कासहित ३६ रनमा आउट भए । चौथो विकेटका लागि जगदीशन नारायण र नितिश राणाले २९ बलमा ६२ रनको साझेदारी गरेका थिए ।

वेंकटेश ऐर १०, आन्द्रे रसेल ३, शार्दुल ठाकुर १२, रहमानउल्लाह गुरबाज र सुनिल नारायण डक आउट भए । हैदराबादका मार्को यानसनले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।

भुवनेश्वर कुमारले ४ ओभरमा १ मेडनसहित २९ रन खर्चेर १ विकेट लिए । स्पिनर मयंक मारकान्डेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजन र उमरान मलिकले समान एक विकेट लिए ।

त्यसअघि कोलकाताको घरेलु मैदान इर्डेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो । हैदराबादको जितमा ओपनर ह्यारी ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्कासहित १ सय रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए ।

अक्सनमा यसै सिजन १३ करोड २५ लाख भारु (२१ करोड नेपाली रुपैयाँ) पाएका ब्रुकको यो आइपिएल करिअरको पहिलो शतक हो । ओपनर मयंक अग्रवाल र राहुल त्रिपाठी समान ९ रनमा आन्दे रसेलको बलमा आउट भएका थिए ।

तेस्रो विकेटका लागि ब्रुक र कप्तान एडेन माक्ररमले ४७ बलमा ७२ रनको साझेदारी गर्दै खेललाई अघि बढाएका थिए । माक्ररम २६ बलमा २ चौका र ५ छक्कासहित ५० रनको उत्कृष्ट इनिङका साथ आउट भएका थिए ।

उनी स्पिनर बरुण चक्रवर्तीको बलमा डिप मिडविकेटमा आन्द्रे रसेलबाट क्याच आउट भएका थिए । त्यसपछि रसेल र अभिषेक शर्माले ३३ बलमा ७२ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । अभिषेक १७ बलमा ३ चौका र २ छक्कासहित ३२ रनमा आउट भए ।

उनी आन्द्रे रसेलको बलमा लङअनमा शार्दुल ठाकुरबाट क्याच आउट भए । हेनरिक क्लासेन ६ बलमा २ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे । कोलकाताका आन्द्रे रसेलले २।१ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । वरुणचक्रवर्तीले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।

प्रकाशित मिति : २ बैशाख २०८० शनिबार ००:००  ५ : ३५ बजे