१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

क्रिकेट विश्वकप अहिलेसम्म कुन कुन देशले जितेका छन् ?



काठमाडौँ ।
आइसीसी एकदिवसीय विश्वकप आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुदै छ । यस विश्वकपमा विश्वका १० देशले भाग लिदै छन् ।

जसमा आयोजक भारतसहित पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रीका, इङल्याण्ड, न्यूजील्याण्ड, बंगलादेश, अफगानिस्तान सिधै छनौट भएका हुन् भने श्रीलंका र नेदरल्याण्डस विश्वकप क्वालिफायरमार्फत छनौट भएर विश्वकप खेल्दै छन् ।

१० देशले समुह चरणमा एक अर्का विरुद्ध एक एक पटक खेल्ने छन् । समुह चरणको खेलपछि शिर्ष चार देश सेमिफाइनलमा खेल्ने छन् । समुह चरणमा कुल ४५ खेल हुने छन् ।

यो विश्वकप भारतका १० स्टेडियममा हुदै छ । जसमा अहमदावादमा फाइनलसहित ५ खेल हुने छन् भने बैंगलोर, चेन्नई, दिल्ली, धर्मशाला, कोलकोता, लखनउ, पुने र मुम्बईमा ५-५ खेल हुने छन् । त्यस्तै हैदरावादको राजीवगान्धी क्रिकेट मैदानमा ३ खेल हुने छन् । त्यसैगरी कोलकोताको इडेन गार्डेन र मुम्बईको वान्खडे स्टेडियममा सेमिफाइनल खेल हुने छन् ।

अहिलेसम्मका विजेता

यस अघि सम्पन्न १२ वटा विश्वकपमा अहिलेसम्म अस्ट्रेलियाले सबैभन्दा बढी पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।

त्यसैगरी भारत र वेस्टइण्डिजले २-२ पटक विश्वकप जितेका छन् । जसमा भारतले १९८३ र २०११ मा जितेको थियो भने वेस्टइण्डिजले १९७५ र १९७९ मा जितेको थियो । जबकी यस विश्वकपमा वेस्टइण्डिज छनौट हुन असफल भएको छ ।

त्यसैगरी इङल्याण्ड (२०१९), पाकिस्तान (१९९२) र श्रीलंका (१९९६) ले एक एक पटक विश्वकपको उपाधि जितेका छन् । त्यसैगरी न्यूजील्याण्ड दुई पटक २०१५ र २०१९ मा फाइनलमा पुगेर पनि विश्वकपको विजेता बन्न सकेको छैन ।

प्रकाशित मिति : १७ आश्विन २०८० बुधबार ००:००  ७ : ०८ बजे