१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अर्थतन्त्रको संकट समाधान गर्ने एजेन्डा हामीसँग छ : माधव नेपाल



रुपन्देही ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रुपन्देहीका उद्योगी व्यवसायीसँग अर्थतन्त्रको संकट समाधानको स्पष्ट योजनासहित आफूहरू जागरण अभियानमा लागेको बताएका छन् ।

देशका उद्योगधन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र संकटग्रस्त भएको बताउँदै उनले अब कृषि, वन र आफ्नै खनिजमा आधारित उद्योगहरूको प्रवर्द्धनमा लाग्नुको विकल्प नभएको बताए ।

पार्टीको मेची-महाकाली समाजवादी जागरण अभियान अन्तर्गत सोमबार बुटवलमा उद्योगी व्यवसायीहरूसँग गरिएको अन्तरक्रियामा अध्यक्ष नेपालले नीतिगत रूपमा दलाल, बिचौलिया र भ्रष्टहरूको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै गएको बताए ।

उनले प्रधानमन्त्री, मन्त्री र उच्च तहका कर्मचारीहरूको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योगधन्दा पूरै धाराशायी बनाएको टिप्पणी गरे ।

‘प्रधानमन्त्रीको मिलेमतो, कि मन्त्रीको मिलेमतो हुन्छ, यदि प्रधानमन्त्री मन्त्रीको मिलेमतो नभए निरीह वा अयोग्य हुन्छ’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने- ‘यसका लागि भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्छ, देशको उद्योग व्यवसाय फस्टाउने गरी नीति बनाउनुपर्छ ।’

उनले व्यवसायीहरूमाथि अहिले वित्तीय शोषणसमेत भइरहेको बताउँदै कर नीति, भन्सार नीति र स्वदेशी उद्योगको विकास गरी रोजगारी सृजनाका लागि आफ्नो पार्टीका तर्फबाट पहल कदमी गर्ने बताए ।

उनले बैंकहरुले अर्बौँ मुनाफा कमाए पनि उद्योगधन्दाको प्रवर्द्धन गर्नेतर्फ ध्यान दिन नसकेको बताए ।

‘अर्बले मुनाफा कमाइरहेका बैंकहरुले लगानीमा उत्साह दिनुपर्छ, कृषिमा सहुलियत दिएर रोजगारी सृजना गर्ने उद्योगधन्दा खोल्दा मुलुकका लागि फाइदा पुग्छ’ नेपालले भने –‘त्यसैले सन्तुलन कायम गरेर काम गर्न आवश्यक छ ।’

उनले अहिले मुलुकको आर्थिक संकट, युवाशक्ति विदेश पलायन र समाजमा देखा परेका तमाम नागरिकका जनसरोकारको मुद्दाई लिएर मेची महाकाली समाजवादी जागरण अभियान सुरु गरिएको बताए ।

उनले मुलुकको आर्थिक संकट, उद्योगी व्यवसायीहरूले भोगेका समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीसँग छलफल गर्ने समेत बताए ।

‘विपक्षी दललाई समेत राखेर आर्थिक संकट, रोजगारी र सुशासनका विषयमा छलफल गर्नुपर्नेछ’ नेपालले भने ।

उनले विपक्षी एमालेले असहयोग गरेको बताउँदै विपक्षीलाई पनि साथमै लिएर अगाडि बढ्नुपर्ने पक्षमा आफूहरू रहेको बताए । तर, विपक्षी एमालेले नेकपा एकीकृत समाजवादीसँग बस्दा गन्ध आउने भन्दै नबस्ने भनेको सुनेको भन्दै व्यङ्ग्य गरे ।

‘हाम्रो श्वास गन्हाउँछ भन्नुहुन्छ, बास्ना आउनेहरूसँग बसे हुन्छ’ अध्यक्ष नेपालले भने, ‘मुलुकको राष्ट्रियता र स्वदेशमै रोजगारी सृजना गरी आर्थिक संकटबाट पार लाग्ने कुरामा सबै गम्भीर बन्नुपर्छ ।’

उनले अर्थतन्त्रमा देखा परेको संकटका बारेमा समाजवादी जागरण अभियानबाट प्राप्त सुझाव र निष्कर्षहरुलाई प्रधानमन्त्री प्रचण्डसमक्ष पेश गरी कार्यान्वयन गर्न दबाब दिने समेत बताए ।

सहभागी उद्योगी व्यवसायीहरूले बैंकको चर्को ब्याज, व्यापार व्यवसायमा देखिएको शून्यता, मूल्य अभिवृद्धि करमा वृद्धि, कच्चा पदार्थको अभावजस्ता समस्याहरू भोगेको भन्दै आफूहरू विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका थिए ।

कार्यक्रममा सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष डा। बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८० सोमबार ००:००  १ : ५२ बजे