१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

समस्या र गुनासो सुन्दै गाउँगाउँमा जनप्रतिनिधि, विकासका प्राथमिकता सुनाउँदै



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासो सुन्दै आफूहरुले गरेका कामहरु र विकासका प्राथमिकताबारे छलफल गरेका छन् ।

नेकपा एमाले बाणगंगा नगर कमिटिको आयोजनामा संचालित एक महिने जनतासँग जनप्रतिनिधि अभियान अन्तरगत आइतबार बाणगंगा नगरपालिकाको वडा न. ११ का विभिन्न गाउँमा पुगेर जनतासँग भेटघाट र अन्तरकृया गरेका हुन् ।

बाणगंगा नगरपालिकाको वडा नम्बर ११ को बरवा, भड्ढिहवा र ओदारीमा आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा टोलबासीले आफूहरुले सोचे अनुसारको कामहरु हुन नसकेको गुनासो गरेका थिए ।

उनीहरुले बाटोघाटो, सडक विस्तार, सिंचाई, मलखाद, विद्युत, पुलपुलेसा, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

अब ठुला दलहरुले यहि अवस्थामा रहेर जनताको काम नगरे आउदो निर्वाचनमा ठुलो चुनौती व्यहोर्नु पर्ने बताउँदै प्रदेशको औचित्यमाथि सबैले प्रश्न उठाउनुपर्ने स्थानीय लक्ष्मण कँडेलले बताउनुभयो ।

टोलबासीले निर्वाचनका बेला गरेका बाचाहरु नेताहरुले पुरा नगरेको बताउँदै गाउँघरका ससाना देखि ठुला समस्याहरु यथावत रहेको गुनासो पोखेका थिए । कार्यक्रममा चुनाव जितेर गएपछि पनि गाउँघरका समस्या बुझन र जनतासंग प्रत्यक्ष भेटेर जनताको भावना र विचार सुन्न गाउँघरमा आएको नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले समग्रमा नगरको विकास र रुपान्तरणमा आफूले धेरै काम गरेको बताउनुभयो । नगरवासीका मुख्य समस्या र विकासका प्राथमिकतालाई वार्षिक योजनामा समेटेर कामहरु भइरहेको अर्यालले जानकारी दिनुभयो ।

हिजो र आजको अवस्थामा नगरमा धेरै परिवर्तन आएको छ, नगर प्रमुख अर्यालले भन्नुभयो, ‘जनताको आधारभूत आवश्यकतालाई पुरा गर्नेगरी विकासका कामले गति लिएको छ ।’

उहाँले बाँकी अवधिमा समृद्धि तर्फ नगरपालिकाले ठुलो फड्को मार्ने बताउनभयो ।

सोही अवसरमा प्रदेश सभा सदस्य विष्णु पन्थीले दिनहुँजसो जनताको काममा आफू खटिरहेको बताउँदै जनताको आवश्यकताहरु क्रमश पुरा हुने बताउनुभयो ।

जनताको आकांक्षा ठुलो भएकाले पनि समस्या आएको बताउँदै सांसद पन्थीले सिमित श्रोत साधनका कारण प्राथमिकता र आवश्यकताका आधारमा विकास निर्माणलाई प्रदेश सरकारले अघि बढाउने बताउनुभयो । बाणगंगा- ११ मा प्रदेश सरकारबाट कोभिड जस्तो संकटको अवस्थामा पनि गएको कार्यकाल र चालु आर्थिक वर्षमा मुख्य मुख्य योजना र कार्यक्रमलाई समावेश गरी नयाँ काम गरेको सांसद पन्थीले बताउनुभयो ।

त्यस्तै प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले कपिलवस्तुका समस्या समाधानबारे संसदमा नियमित आवाज उठाएको बताउनुभयो । सांसद अधिकारीले जनताका पिरमर्कालाई नीतिगत रुपमा सम्वोधन गर्न आफूले महत्वपूर्ण भूमिका खेलेको बताउदै सदैव यहाँका जनताको समस्यामा आफू निरन्तर लागिरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले हाम्रा जनप्रतिनिधि सदैब जनताको साथमा रहेको र जनताको आवश्यकता र समस्या सम्वोधन गर्न सदैव तत्पर रहेको बताउनुभयो । उहाँले निर्वाचन जितेर गाउँ फर्कदैनन् भन्ने परिस्थिति आउन नदिने र जनतासँग सहकार्य गरी अघि बढ्ने समेत बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य बिमला चौधरी, दोर्णराज सुबेदी, जिल्ला कमिटी उपाध्यक्ष विश्राम प्रसाद थारु, जिल्ला कमिटि सचिवालय सदस्य सोमनाथ अर्याल, बाणगंगा नगर अध्यक्ष युवराज पोखरेल, स्थानीय नेता चेतनारायण ढकाल, मधु बेलबासे लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८० आइतबार ००:००  ७ : ०६ बजे