१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौशालाको नाममा चन्दा उठाएको छैन्, भ्रम छर्ने काम गरियोः वडाध्यक्ष पौडेल



बाबुराम रायमाझी, जितपुर ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कमल पौडेलले गौशालाको नाममा चन्दा उठाएको भनि भ्रमपूर्ण प्रचार गरिएको भन्दै गुनासो गरेका छन् ।

केही दिन यता सामाजिक सञ्जालमा आफ्ना विरुद्ध भ्रमपूर्ण प्रचार भएको भन्दै वडाध्यक्ष पौडेलले शुक्रबार यसको खण्डन गरेका हुन् ।

सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा वडाध्यक्ष पौडेलले भलवाडस्थित गौशाला निर्माणका लागि भनेर वडाबासीसँग चन्दा उठाएको सूचना सम्प्रेषण गरिएको थियो ।

आफ्ना विरुद्ध लेखिएका विषयवस्तुबारे प्रष्ट पार्न शुक्रबार आयोजित टोलभेलामा वडा अध्यक्ष पौडेलले त्यसको खण्डन गरेका हुन् ।

बाणगंगा नगरपालिकाकै गम्भीर समस्याको रुपमा रहेको छाडा पशु चौपायाको उचित व्यवस्थापनका लाग हालै नगरपालिकाले एक समिति समेत बनाएको छ । नगर प्रवक्ता समेत रहेका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल संयोजक रहेको उक्त समितिको सदस्यमा वडा नम्बर ९ का वडा अध्यक्ष पौडेल समेत रहेका छन् ।

यो समितिले विभिन्न क्षेत्रका व्यक्ति र संस्थासँगको छलफलबाट कार्यविधि तयार गरिरहेको भन्दै वडा अध्यक्ष पौडेलले आफ्नो वडामा गौशाला निर्माणका लागि कुनै चन्दा असुली नभएको प्रष्ट पारेका थिए । त्यो आरोप सत्य नभएर चरित्र हत्या गर्ने प्रयासस्वरुप आएको वडा अध्यक्ष पौडेलको भनाई छ ।

उनका अनुसार, ‘कपिलधाममा छाडा पशु चौपायको अस्थायी व्यवस्थापन विगत २ वर्ष देखि हुँदै आएको थियो । हाल वडा नम्बर ९ स्थित चौवाह टोलका स्थानीयले आफ्नै प्रयासमा अस्थाई गौशाला बनाई सोही स्थानमा छाडा गाईगोरु व्यवस्थापन गर्दै आएका छन् । हाल उक्त स्थानको तारबार र नियमित हेरचाहका लागि स्थानीयले स्वतस्फूर्त केही रकम संकलन गरेका छन् । यही विषयलाई चन्दाको नाम दिएर चरित्र हत्या गर्ने काम भएको भन्दै वडा अध्यक्ष पौडेलले आपत्ति जनाएका थिए । उनले भने, ‘ गौशालाको संरक्षण र संवद्र्धनको लागि स्थानीयबाट थोरधेरै पैसा उठाइएको हो । यसमा वडाका तर्फबाट कुनै निर्देशन भएको छैन।’ टोलले काम गर्नु पनि आफैमा राम्रो सुरुवात भएको उनको भनाई थियो ।

यता चौवाह टोल विकास संस्थाका अध्यक्ष पुजा पाण्डेले स्थानीयले लगाएको बालीनाली पुरै छाडा गाईवस्तुले सखाप पारेपछि त्यसको नियन्त्रणका लागि गौशाला बनाइएको बताईन । उनका अनुसार उक्त गौशाला बनाउने कार्यक्रमा वडा र नगरसँग कुनै सम्बन्ध नरहेको जनाइएको छ । उक्त गौशाला टोल विकास संस्थाले आफ्नै पहलमा आन्तरिक भेलाबाट निर्णय गरी गरिएको जनाएको छ ।यस्तै टोल विकास सँंस्थाका पूर्व अध्यक्ष तथा नमुना सामुदायिक वनका अध्यक्ष हुमलाल पौडेलले वडा नम्बर ९को चौवाह टोल र वडा नम्बर ७ को मोतिपुर टोलका स्थानीयले आफ्नै पहलमा गौशाला बनाएको बताएका थिए । गौशालामा गाईको घाँसपानी व्यवस्थापन लागाएको खर्च व्यवस्थापनका लागि स्वतस्फुर्त रुपमा केही व्यक्तिले सहयोग रकम जम्मा गराएको जानकारी दिए ।

यस्तै कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्यले गौशालाको मात्रै कुरा नभएर सामाजिक सञ्जालमा गुरुकुल संचालनमा समेत सहयोग मागिएको र चन्दा उडाइएको विषयमा पनि आएकाले यो विषयमा वस्तुस्थिति बुझेर मात्रै लेख्न आग्रह गरे । उनले कपिलधाम भित्र संचालनमा रहेको गुरुकुलमा हालसम्म कुनै पनि निकायबाट बजेट प्राप्त नभएको भन्दै अहिले सम्म सहयोगी दाताबाट मागेर नै चलाइएको स्पष्ट पारेका थिए । यस्तै वडा नम्बर ९ का पुर्व वडा अध्यक्ष धुव्र बेल्वासेले सामाजिक सञ्जालमा लेख्नुपुर्व ति व्यक्तिहरुले यहाँको वास्तविकता बुझेर लेख्नुपर्ने भन्दै जथाभावि केसैलाई आरोप लगाउनु उचित नहुने बताएका थिए ।

हरेक संस्थाहरु संचालनको सुरुवात सहयोग, चन्दा वा मुष्टी दानबाट सुरुवात भएका भन्दै यहाँका स्थानीयले आफ्नो बालि नाली जोगाउन गरेको कामको वास्तविकता नबुझी सामाजिक सञ्जाल वा संचारका माध्यममा भ्रम पैदा गर्ने काम गलत भएको बताए । उनले २०७९ सालमा स्थानीय तहले गुरुकुल संचालनको अनुमति दिएसँगै कपिलधाममा गुरुकुल संचालन भएको जानकारी दिए । गुरुकुलको छुट्टै समिति समेत रहेको भन्दै उनले गणतन्त्र स्थापना पछि स्थापना गरिएका गुरुकुलमा राज्यले बजेट नदिएका कारण सबै गुरुकुल चन्दा, दान, सहयोगबाटै संचालन रहेका समेत बताएका थिए ।टोल भेलामा उपस्थित भएका स्थनीयले समेत गौशाला बनाउने आफूहरुको योजना रहेको बताएका छन् । यसबारेमा वडा र नगरसँग कुनै सम्बन्ध नरहेको उनीहरुको भनाई थियो ।

के हो वास्तविकता ?
छाडा पशु चौपायको विकाराल समस्या र यसको दैनिक सास्ती भोगिरहेका वडा नम्बर ९ का स्थानीले कपिल आरोग्य मन्दिर कपिलधाम क्षेत्रमा पर्ने बाल उद्यान परिसरमा अस्थायी प्रकृतिको गौशाला बनाएका छन् । यहाँ चौवाह र मोतिपुर टोलका स्थानीयले बिगत २ वर्ष देखि नियमित छाडा गाईवस्तु रातभर थुन्ने र दिनभर छोड्ने दैनिकी बनाइरहेका छन् । उक्त कार्यक्रमा वडा नम्बर ९ को चौवाह स्थित दुर्गा भनावी टोल विकास संस्थाले मुख्य भुमिका निर्वाह गरिरहेको छ ।

यहाँ ति छाडा पशुको व्यवस्थापन गर्न थालिएसँगै वडा नम्बर ९ र ७ का अधिक्तम किसान चौपायको हैरानीबाट केही हदसम्म राहत पाएका छन् । अहिले दैनिक यहाँ छाडा पशु चौपायको व्यवस्थापन गर्न नियमिति स्थानीयले पालो लगाउने गरेका छन् । यहाँ दैनिक बिहानामा थुनिएका गाईवस्तु चरनका लागि खुल्ला गर्ने गरिन्छ भने हरेक दिन साँझमा स्थानीयले सोही गौशालामा थुनेर राख्ने गर्दछन् । विशेष गरी रातिको समयमा छाडा पशुले किसानले लगाएका बाली सखाप पार्ने समस्या बढेपछि स्थानीयले यो जुक्ति लगाएका हुन ।

अहिले दैनिक रुपमा यसरी चौपायाको व्यवस्थापन प्रभावकारी बनाइएसँगै किसानको बाली समेत जोगिएको स्थानीय खेलराज पौडेलले बताए । रातभर छाडा पशु धपाउन र बाली जोगाउन स्थानीयले जाग्राम बस्नुपर्ने बध्यता रहेको भन्दै गौशाला निर्माण नै अन्तिम विकल्पका रुपमा सहयोग रकम उठाएर अहिले उक्त स्थानलाई व्यवस्थित बनाउने कार्य समेत थालिएको छ । स्थानीयले बाल उद्यान र कपिलधामको उक्त क्षेत्र त्यति उपयुक्न नभएकाले अन्य स्थानको खोजि समेत गरिरहेको बताएका छन् ।

स्थानीयले सामाजिक सञ्जालमा लेख्नुपुर्व सम्बन्धित स्थानको वस्तुगत अवस्थाको अध्ययन र जानकारी लिएर मात्रै लेख्न पनि आग्रह गरेका छन ।

प्रकाशित मिति : १० कार्तिक २०८० शुक्रबार ००:००  ४ : ३४ बजे