४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

तिहारमा प्लाष्टिकको फूलका माला बिक्री गर्नेलाई कारबाही हुने



दाङ ।
दाङका दुई पालिकाले तिहारमा प्लाष्टिकका फूलका माला प्रयोग नगर्न आग्रह गरेका छन्।

जिल्लाका तुलसीपुर उपमहानगरपालिका र लमही नगरले सर्वसाधारणमा प्राकृतिक फूलका मालाहरु प्रयोग गर्न तथा प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु प्रयोग नगर्न आग्रह गरेको हो।

दाङका दस पालिकामध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते यस्तो निर्णय गरेको थियो। उसले प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु बिक्री वितरण तथा भण्डारण गर्न नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्ने समेत चेतावनी दिइसकेको छ।

त्यसकारण तुलसीपुर क्षेत्रमा यसपालि प्लाष्टिकजन्य मालाहरू देखिएका छैनन्।

लमही नगरपालिकाले पनि आइतबार सूचना जारी गर्दै प्लाष्टिकजन्य मालाहरु प्रयोग नगर्न र प्राकृतिक रूपमा फूलेका फूलका मालाहरु मात्रै भाईटिकामा प्रयोग गर्न आग्रह गरेको छ।

यो निर्णयसँगै व्यवसायिक फूलखेती गर्दै आएका किसानहरू हौसिएका छन्।

तुलसीपुर उपमहानगरपालिका – १७ मा १६ बिगाहा क्षेत्र फलमा फूलखेती गरेका ६० वर्षीय हेमराज शर्माले आफूजस्ता कृषकहरू तुलसीपुर र घोराहीको निर्णयले उत्साहित बनेको बताए।

‘यस्तै निर्णय जिल्लाका सबै पालिकाहरूले गर्नुपर्ने हो,’ उनले भने, ुसरकारले पनि नाकाबाट यस्ता सामग्री भित्रन प्रतिबन्ध लगाउन सक्नुपर्छ।’

जिल्लाको सबै भन्दा बढी क्षेत्रफलमा शर्मासहित पाँच जना मिलेर फूलखेती गरेका छन्। घोराही उपमहानगरपालिका – १४ मा लोकेन्द्र रोका मगरले पनि ९ वर्षदेखि व्यवसायिक फूलखेती गर्दै आएका छन्। उनीहरूले बाह्रै महिना फूल तथा माला उत्पादन तथा बिक्री गर्दै आएका छन्।

पछिल्लो समय दाङ फूलखेतीमा आत्मनिर्भर हुँदै गएको बताइन्छ।

तुलसीपुर, घोराही क्षेत्रमा अध्यनरत विद्यार्थीसमेत सयपत्री फूलको व्यवसायिक खेतीमा जोडिएका छन्।

कृषि ज्ञान केन्द्र दाङकी कृषि अधिकृत देबा महराले हाल जिल्लामा कार्यालयको रेकर्डमा रहेको मध्य २४ बिगाहा क्षेत्रफलमा व्यवसायिक फूलखेती भइरहेको बताइन।

यी बाहेक विभिन्न संघसंस्था र व्यक्तिहरूले समेत जिल्लाका विभिन्न स्थानमा तिहारलाई लक्षित गरी फूलखेती गरेको भएपनि त्यो कार्यालयको रेकर्डमा नरहेको उनले जानकारी दिइन्।

तुलसीपुरका गोरखा माविका विद्यार्थी, नमुना मावि रक्षाचौरका विद्यार्थीले समेत तिहारलाई लक्षित गरि फूलखेती गरेका छन्। कृषि अधिकृत महराले राजधानी क्षेत्रको गढवामा पनि फूलखेतीप्रति आकर्षण बढेको बताइन।

पछिल्लो समय जिल्लाका किसानहरुको फूलखेतीमा आकर्षण बढ्दै गएको र त्यसले गर्दा दाङ फूल तथा मालामा आत्मनिर्भर बनेको उनले जानकारी दिइन। झन्डै पौने आठ लाख जनसंख्या रहेको यो जिल्ला लुम्बिनी प्रदेशको राजधानी पनि हो।

नेता तथा मन्त्रीहरूको आवतजावत बाक्लिन थालेपछि त्यस्ता कार्यक्रमहरूमा स्वागत सम्मानका लागि फूलकै माला प्रयोग हुने थालेको हुँदा पनि व्यवसायिक फूलखेती गर्ने किसान उत्साहित बन्न थालेका हुन्।

जिल्लाको ग्रामिण भेगहरुमा भने घर घरमै सजावटका लागि सयपत्री लगाएत विभिन्न फूलहरू रोपिएका हुन्छन्। गाउँ घर आँफै फूल र मालामा आत्मनिर्भर रहेको तथा बजार क्षेत्रको आवश्यकता पछिल्लो समय भएका व्यवसायिक फूल खेतीले सहजै पुरा गर्ने गरेको सरोकारवालाहरू बताउँछन्।

दाङमा फूलको उत्पादनमा वृद्धि भएसँगै पछिल्लो समय बुटवल, नेपालगंज, सुर्खेत र धनगढीसम्मको माग यही जिल्लाले थेग्दै आएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८० सोमबार ००:००  २ : ५९ बजे