२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024

जाडो छल्न जलाशय र नदीमा आगन्तुक चरा



घोराही ।
घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा ६ वर्ष अघिसम्म जलाशय थिएन । गाउँनजिकको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार ठाउँमा प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा कृत्रिम जलाशय निर्माण भएपछि स्थानीयलाई सिँचाइसँगै आन्तरिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको छ ।

जङ्गल क्षेत्रसँगै रहेको जलाशयमा पछिल्लो समय स्वदेशी तथा विदेशी चरा देखिने भएपछि कृत्रिम जलाशयसँगै चराको अवलोकन गर्न मानिस पुग्नेगरेका छन् । सिँचाइसँगै चराहरू आउँदा मानिसको सङ्ख्या बढ्दै गए पनि यसको महत्वबारे स्थानीयलाई बुझाउन भने नसकिएको जलाशय उपभोक्ता समिति अध्यक्ष छित्रु चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै समय सानो सोताका रहेको सिमसार क्षेत्रलाई बढाउँदै जलाशयका रूपमा विकास भएपछि स्थानीयलाई सिँचाइसँगै घुमफिरको गन्तव्य बन्दैगएको छ । त्यसका लागि चराचुरुङ्गी समेत बढ्दैगएका छन् ।’

६ वर्ष अवधिमा स्थानीयलाई सिँचाइ सुविधासँगै जंगलक्षेत्रमा पोखरी भएकाले चराको सङ्ख्यामा वृद्धि भएको चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुन जातका चरा हुन्, त्यो हामीले चिन्न सक्दैनौँ तर हामीले पहिले नदेखेका चरा जलाशय निर्माण भएपछि आउन थालेका छन् ।’ उहाँका अनुसार केही चरा १२ महिनादेखि देखिनेगरेका छन् भने केही चरा चिसो मौसममा मात्र देखिनेगरेका छन् ।

दाङको जलाशय र नदीमा चिसो छल्न र खानाको खोजीमा हरेक वर्ष हिउँदे आगन्तुक चरा आउनेगरेको जिल्लामा चराबारे अध्ययन गर्दै आइरहेका जीवविज्ञानका शिक्षक लालमणि रेग्मीले बताउनुभयो । उहाँका अनुसार नदी तथा कृत्रिम जलाशयमा नयाँ प्रजातिका चरा देख्न सकिन्छ ।

दाङका नदी तथा कृत्रिम जलाशयमा जलेवा, बकुला, हुट्टिट्याउ, चिल, लाँचे, काठफोर, किङफिसरलगायतका चराहरू देख्न सकिन्छ । बाहिरबाट आउने चरा केही महिना बसेर फर्किनेगरेको उहाँको भनाइ छ । चरालाई राम्रो वातावरण भए बस्ने र स्थानीयले मार्ने वा उपयुक्त वातावरण नभए पुनः फकिर्नेगरेको उहाँले बताउनुभयो ।

सन् २०२२ मा दाङको राप्ती नदी तथा आसपासमा गरिएको अनुसन्धानमा जिल्लामा २२ प्रजातिका ३ सय ६१ चरा फेला परेको चराविज्ञ चिरञ्जीवी खनालले बताउनुभयो । उहाँका अनुसार सन् २०२३ मा सोही क्षेत्रमा गरिएको लामो अनुसन्धानमा चरा प्रजातिको सङ्ख्या घटेर २१ मा झरेको छ ।

नयाँ प्रजातिका चरा थपिए पनि पहिले गणना भएका चरा नपाइएको सो अनुसन्धानमा खटिएका चराविज्ञ खनालको भनाइ छ । उहाँका अनुसार जिल्लाका नदी तथा जलाशयमा असोजमा आउने चरा चैत–वैशाखसम्ममा फर्कनेगरेका छन् ।

आगन्तुक चराको सङ्ख्यामा कमी आउन नदिन चराबारे जनाकारी गराउँदै आन्तरिक पर्यटन प्रवर्धनमा स्थानीय स्तरमा नयाँ सोचका साथ काम गर्न सके पर्यावरण संरक्षण तथा आम्दानीको स्रोत बन्न सक्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : ९ पुस २०८० सोमबार ००:००  ७ : ३५ बजे