२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बालकुमारी घटना : प्रहरीबाट घातक बल प्रयोग, डीआईजी नेतृत्वमा छानबिन समिति



काठमाडौँ । श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान गएको छ । युवाले मन्त्रीको गाडी जलाइदिएका छन् भने नियन्त्रणमा लिन भन्दै प्रहरीले चलाएको गोलीबाट अन्य कैयौं घाइते भएका छन् ।

गत साउनमा कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माण गर्ने कामका लागि लिइएको भाषा परीक्षामा सामेल परीक्षार्थीले ‘उत्पादनमूलक’ अर्को रोजगारीमा जान भाषा परीक्षामा भाग लिन माग गरेका थिए । तर ईपीएसको मापदण्डअनुसार तत्काल अर्को परीक्षामा भाग लिन नमिल्ने भनिएपछि युवाहरू आक्रोशित भएका थिए । प्रदर्शनमा उत्रिएका उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् । प्रहरीले गोली र लाठी प्रहार गर्दा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका–१ का २३ वर्षीय वीरेन्द्र शाहको ज्यान गएको छ ।

अस्पताल स्रोतका अनुसार शाहलाई दुई गोली लागेको छ भने रावतको शरीरमा नीलडाम छन् ।चिकित्सकले शाहलाई शुक्रबार अपराह्न १ बजेर १७ मिनेट र रावतलाई १ बजेर ५० मिनेटमा मृत घोषणा गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते शाहको पाटन अस्पताल र रावतको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक दुवैको शव पोस्टमार्टममा पठाइएको छ ।

प्रत्यक्षदर्शी तथा घटना भएका बेलाको भिडियोअनुसार प्रहरीले अत्यधिक बल प्रयोग गरेको देखिन्छ । स्थिति नियन्त्रणमा लिने नाममा प्रहरीले वैकल्पिक उपाय अपनाउन छोडेर हवाई फायर, गोली प्रहारलगायत अन्धाधुन्ध बल प्रयोग गर्दा प्रदर्शनकारीतर्फका दुई जनाले ज्यान गुमाउन पुगेको भन्दै सरकारको आलोचना भएको छ ।

प्रहरी र गृह प्रशासनले भने प्रदर्शनकारीबाट सरकारी, सार्वजनिक र निजी सवारीसाधन तोडफोड र आगजनी गर्नुका साथै सडक अवरुद्ध हुने गरी अवस्था अनियन्त्रित बनाउन खोजेपछि भएको बल प्रयोग भएको स्पष्टीकरण दिएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले अवस्था अनियन्त्रित भएपछि १५ राउन्ड गोली र २ दर्जनजति अश्रुग्यास प्रहार गरिएको बताए । ‘सम्झाउँदा–बुझाउँदा बुझेनन्, प्रदर्शन अनियन्त्रित, नेतृत्वविहीन र अराजक हुन पुग्यो, विशिष्ट व्यक्ति सवार गाडी नै जलाउनेसम्मको काम भयो,’ थापाले भने, ‘यस्तो अवस्थामा प्रहरी मूकदर्शक भएर बस्न मिल्दैन । कानुनअनुसार स्थितिलाई नियन्त्रणमा लिन्छ ।’

कोरियाको पानीजहाज निर्माण क्षेत्रका लागि जान गत साउनमा करिब ३२ हजार नेपाली ईपीएसअन्तर्गत भाषा परीक्षामा सामेल भएका थिए । त्यसको नतिजा नआउँदै कोरियाले पुनः उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गरेको हो । तर, साउनको परीक्षामा सहभागी भएकालाई उत्पादनमूलक क्षेत्रको परीक्षाका लागि आवेदन दिन नपाउने ईपीएसको नीति थियो । त्यसविरुद्ध साउनमा परीक्षा दिएका १८ जना उच्च अदालत पाटन गए । निवेदकहरूका पक्षमा अदालतको आदेश आएपछि ग्वार्कोस्थित ईपीएस शाखाले आवेदन दिन बोलाएको थियो ।

तर, प्रहरीले अदालतको आदेश लिएकालाई मात्रै प्रवेश दिएपछि अरू युवाहरू ग्वार्को–बालकुमारी सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका हुन् । ‘अदालतको आदेशसहित १८ जना ईपीएस कार्यालय पुग्दा आवेदन दिनबाट वञ्चित करिब २ हजार व्यक्ति पनि साथमै गएका रहेछन्, तर उनीहरूलाई भित्र प्रवेश नदिएपछि विरोधमा उत्रिएको भीड नियन्त्रण गर्ने क्रममा अप्रिय घटना हुन पुग्यो,’ एआईजी थापाले भने ।

प्रहरीले प्रदर्शनकारीलाई लखेटेर तितरबितर पारेको थियो, एउटा समूह बालकुमारी क्षेत्र पुगेको बेला मन्त्री ज्वाला चढेको गाडी आकाशे पुल नजिकै आइपुग्यो । उनी एक पार्टी प्यालेसमा डाकिएको नेकपा एकीकृत समाजवादीको बैठकका लागि त्यसतर्फ गइरहेका थिए ।

‘भीडले बा२झ ५८६१ नम्बरको गाडी रोकेर टायरको हावा फुस्काइदिएपछि मन्त्रीलाई प्रहरी र सेनाका अंगरक्षकले सुरक्षित स्थानतर्फ लगे । त्यसलगत्तै गाडीमा प्रदर्शनकारीले आगजनी भएको हो,’ एआईजी थापाको भनाइ छ, ‘गाडी अगाडि बढ्न नदिएर सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीले हवाई फायर र माइकिङ गरेर पटक–पटक चेतावनी दिएको हो । तर भीड अयन्त्रित भएपछि फिल्डमा खटिएका सुरक्षाकर्मी कानुनअनुसार बल प्रयोग गर्न बाध्य भएका हुन् ।’

मन्त्री ज्वालाले शुक्रबारको घटना दुःखद भएको बताएका छन् । तर, मन्त्रीको सवारीसाधन जोगाउने क्रममा भएको बल प्रयोगबाट दुई जनाको ज्यान गयो नि भन्ने प्रश्नमा उनले घटनासँग आफू र आफूले नेतृत्व गरेको मन्त्रालयसँग सरोकार र सम्बन्ध नै नभएको बताए ।

‘गाडी जलाउनु र त्यही घटनामा दुई जनाको ज्यान जानु दुवै दुःखद हो । म पार्टीको बैठकमा भाग लिन जाँदै थिएँ । मूल सडकमा पुगेलगत्तै भीडले रोकेर आगजनी गर्‍यो । यसमा मन्त्रालयको गाडी र मेरो के दोष थियो र ?’ ज्वालाले भने, ‘के समस्याले युवा सडकमा निस्के, यसको जिम्मेवार पक्ष को हो, यसको जवाफ सम्बन्धित निकायबाटै आउला ।’

उता, जिल्ला प्रहरी परिसर ललितपुरले २५ सयदेखि ३ हजार जनाले ड्युटीमा खटिएका प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको, मन्त्रीको गाडी जलाएको र थप क्षति हुनबाट जोगाई स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको प्रस्टीकरण दिएको छ ।

ललितपुर प्रहरीका एसपी नवराज कार्कीले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर स्थिति नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेवार बल प्रयोग गर्दा रावत र शाह घाइते भई उपचारका क्रममा उनीहरूको निधन भएको उल्लेख गरेका छन् । एसपी कार्कीका अनुसार शुक्रबारको घटनामा ७३ जनालाई नियन्त्रणमा लिइएको छ ।

दुई जनाको ज्यान जाने गरी भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक बासु सिग्देल सम्मिलित छानबिन समिति गठन भएको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८० शनिबार ००:००  ९ : ५९ बजे