१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

विश्वसामु झल्कियो ‘सगरहवाको मूर्तिकला’



गिता अधिकारी, जगदिशपुर ।
कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको सगरहवामा संचालित राष्ट्रिय मूर्तिकला कार्यशाला समापन भएको छ । कपिलवस्तु नगरपालिका वडा न.९ स्थित सगरहवामा पौष २३ देखि माघ ८ गते सम्म संचालित १५ दिने कार्यशालाको सोमबार औपचारिक कार्यक्रम सहित समापन भएको हो ।

लुम्बिनी विकास कोषको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, कपिलवस्तु नगरपालिका, पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजना तथा संघसंस्थाको सहकार्यमा संचालित राष्ट्रिय मूर्तिकला कार्यशाला पर्यटन प्रवर्धनको क्षेत्रमा ऐतिहासिक र नयाँ कामको शुरुवात भएको हो ।

सगरहवाको कथालाई जीवन्त दिन ढुंगालाई कुदेर आकारहरु दिइएको छ । यहाँको ऐतिहासिकता र महत्वलाई ढुंगाका मूर्तिहरुले बोलेका छन् । कपिलवस्तुको पहिलो राष्ट्रिय मूर्तिकला कार्यशालाले पर्यटन क्षेत्रको आधार खडा गरेको छ । कार्यशालाबाट स्थानीय समुदाय, राजनीतिक दल, संघसंस्था, जनप्रतिनिधी तथा सरोकारवाला निकाय खुशी भएका छन् ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले कपिलवस्तुको पर्यटन प्रवर्धनमा सवै सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । कपिलवस्तुको सगरहवामा मूर्तिकला कार्यशाला गरेर यहाँको पर्यटन विकासमा स्वागतयोग्य र महत्वपूर्ण काम भएको उहाँले बताउनुभयो । सांसद घिमिरेले कपिलवस्तुमा आएर आफनो कला प्रदर्शन गर्नुभएकोमा मूर्तिकारलाई धन्यवाद दिनुभएको छ ।

प्रदेश सभा सदस्य विष्णु पन्थीले सगरहवामा संचालित मूर्तिकला कार्यशालाबाट आफु निकै खुशी भएको बताउनुभयो । स्थानीय समुदायको अपनत्व र सहभागीता देखेर आफु धेरै उत्साहित भएको बताउदै सांसद पन्थीले कार्यशाला समापन नभएर पर्यटनको क्षेत्रमा पवित्र कार्यको शुरुवात भएको बताउनुभयो । सगरहवाको महत्वले विश्वमा नै पहिचान दिने काममा टेवा पुग्ने बताउदै उहाँले यसको संरक्षण र व्यवस्थापनमा सवै निकायसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले कार्यशालाको समापन ऐतिहासिक दिन परेको श्रीराम अयोध्या फर्कने पवित्र दिन परेकाले यसको महत्व बढ्दै गएको बताउनुभयो । उहाँले यस ठाउँमा मूर्तिकारहरुको सिर्जना पस्कने ऐेतिहासिक कामले आफु खुशी भएकाले यसको संरक्षण र विकासमा सवैले हातेमालो गर्नुपर्ने बताउनुभयो । नगर प्रमुख पौडेलले लुम्बिनी विकास कोषलाई कार्यशाला संचालन गरेर नगरको विकासमा टेवा पु¥याएको विशेष धन्यवाद दिनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनी हार्तम्छालीले बुद्धले दिएको उपदेश आत्मसाथ गर्दै शान्तिभूमिको पहिचानमा थप काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कला संस्कृति विश्वसामु चिनाउन विभिन्न स्थानमा लुकेर रहेका कला संस्कृतिलाई जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विज्ञ समितिका सदस्य पोमनारायण पौडेलले सगरहवामा संचालित मूर्तिकला कार्यशालाको अबको योजना, व्यवस्थापन र संरक्षणका विषयमा स्थानीय समुदाय, पालिका, प्रदेश, संघीय सरकार तथा सरोकारवालाको भूमिकाबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा समाजसेवी ललित गुरुङले मूर्तिकला कार्यशालाबारे केही पत्रकारले तथ्यहिन र भ्रामक समाचार लेखेको विषयले दुखी बनाएको बताउदै यहाँको पर्यटन विकासमा विरोध भन्दापनि हातेमालो गर्न सवैमा आग्रह गर्नुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले समाजमा देखेका राम्रा कुरा उजागर गर्नु हाम्रो दायित्व भएको बताउनुभयो । पुरातात्विक क्षेत्रलाई अर्थ र पर्यटनसंग नजोडे सम्म जनताले कुनै लाभ नपाउने बताउनुभयो । पर्यटनले जनतालाई केही दिदैन भने त्यो पर्यटन र विकास होइन, कोषाध्यक्ष भट्टराईले भन्नुभयो, पुरातात्विक क्षेत्र भन्दै घरेर मात्र राख्ने चिज होइन । लुम्बिनी विकास कोषको पुरातात्विक क्षेत्रको विषयमा विभिन्न निकायसंग बहस हुन थालेको छ, उहाँले भन्नुभयो, पुरातात्विक क्षेत्रलाई प्रगतीशिल बनाउनुपर्छ ।

समापन समारोहमा जगदिश जलाशय सामुदायिक थारु होमस्टेका स्थानीय कलाकारले थारु संस्कृति झल्कने गित संगित तथा नृत्य प्रस्तुत गरेका थिए । मूर्तिकार तथा कार्यशालामा प्रत्यक्ष सहयोग पु¥याउने समूह, संघसंस्था, सहयोगी निकाय, वैंकका प्रतिनिधीलाई सम्मान गरिएको थियो ।

समापन समारोहमा कार्यशालाको समग्र आय व्यय विवरण आयोजकले सार्वजनिक गरेका थिए । मूर्तिकला कार्यशालाको खर्चका विषयमा पारदर्शीताको लागि उपस्थित सहभागी तथा सरोकारवाला निकायलाई अनुमानित लागत खर्च कार्यक्रम स्थलमै सार्वजनिक गरेका थिए । राष्ट्रिय स्तरमा ख्यातीप्राप्त १५ जना मूर्तिकार र १५ जना सहयोगी मूर्तिकारहरुले सगरहवा संग सम्वन्धित कथालाई चित्रण गर्दै १८ वटा मूर्ति तयार पारेका छन् । उनीहरुलाई सम्मान स्वरुप २६ लाख नगद प्रदान गरिएको छ । सोही अवसरमा १५ सदस्यीय सगरहवा मूर्ति (पार्क) संरक्षण समिति गठन गरिएको छ । कपिलवस्तु नगरपालिका वडा न. ९ का वडाअध्यक्ष दिपक गुरुङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो ।

सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरूको सम्झनामा सयौं स्तुुपहरूको निर्माण गरेको चिनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा वृतान्तमा उल्लेख गरिएको पाइन्छ ।

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ किमी र तिलौराकोटबाट ६ कि.मी. उत्तरमा छ। पूर्वपश्चिम राजमार्गको बनगाईबाट ७ किमी तथा नेपालको दोस्रो पक्षी आरक्ष जगदिशपुर तालको दक्षिणमा रहेको छ। जगदीशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५८ विघा क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित मिति : ८ माघ २०८० सोमबार ००:००  ११ : ०० बजे