१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

धान सुपरजोनले धान उत्पादनमा मनग्य वृद्धि



दीपक अनुरागी, कपिलवस्तु । पछिल्ला केही बर्षदेखि जिल्लामा धानको उत्पादनमा वृद्धि भइरहेको छ । जिल्लाको प्रमुख खाद्यान्नबाली धान हो । धानको उत्पादन वृद्धिका लागि जिल्लामा विगत ७ बर्ष देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले काम गरिरहेको छ । आव ०७३/०७४ बाट परियोजना कार्यान्वयनमा आएको हो । सुरुवातमा धान जोनबाट काम शुभारम्भ गरिएपनि ०७५/७६ बाट धान सुपरजोन सञ्चालनमा छ । ५ सय हेक्टरबाट थालिएको धान जोनको क्षेत्र बिस्तार अहिले ५ हजार ५ सय ४४.२५ हेक्टरसम्म पुगेको परियोजना कार्यान्वयन इकाई कपिलवस्तुका प्रमुख सहसराम चौधरीले बताए ।

सुपर जोन हुनका लागि एक हजार हेक्टर क्षेत्रफलमा खेती गरेको हुनुपर्छ । तर, जिल्लामा साढे ५५ सय बढी हेक्टर धानबालीमा परियोजनाले काम गरिरहेको छ । ‘बर्षेनी धान खेती विस्तार भइरहेको छ । अहिले आएर जिल्लाका ७ पालिकामा धान सुपरजोन सन्चालन छ,’ प्रमुख चौधरीले भने ।

तराईको अन्न भण्डारका रुपमा रहेको कपिलवस्तुमा धान खेतीको प्रवर्धनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत धान सुपर जोनको कार्यक्रम लागू गरेको हो । परियोजना कार्यान्वयन इकाई कपिलवस्तुका कार्यालय प्रमुख चौधरी थप्छन्, ‘धान सुपरजोन भएपछि धान खेतीको उत्पादनमा वृद्धि भइरहेको छ ।’

गत आव ०७९/०८० को तथ्याङ्क हेर्दा २६ हजार ५५६.९५ मेट्रिक टन धान उत्पादन भएको छ । जुन उत्पादन परियोजना कार्यक्षेत्रको मात्र हो । जुन माग भन्दा १५ हजार ९४४.१५ मेट्रिक टन भन्दा बढी हो । झण्डै १५ हजार ९४४.१५ मेट्रिक टन धान अन्यत्र पठाइएको परियोजनाका कार्यालय प्रमुख चौधरीले बताए । यसलाई मूल्यमा रुपान्तरण गर्दा ४३ करोड मूल्य बराबरको धान किसानले फाइदा गरेर बेचेका छन् । यो तथ्याङ्क परियोजनाले कम्पनी, व्यपारी र उद्योगबाट लिएको हो । धान उत्पादनमा मेहनत गरिरहेको परियोजनाले चालु आवमा पनि धानको उत्पादन बढाउने लक्ष्य लिएको छ ।

१० पालिका मध्ये ७ पालिका धान सुपरजोनमा
कपिलवस्तुका १० पालिका मध्ये ७ पालिकामा धान सुपरजोन कार्यक्रम लागू छ । जिल्लाको बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका, सुद्धोधन गाउँपालिकाका पुरै वडा, कपिलवस्तु नगरपालिकाका वडा नं. ७, ८, ९, १०, ११, बुद्धभूमि नगरपालिकाका वडा नं. १, २, ३ र ४ वडामा यो परियोजना लागू छ । ९६ वडा रहेको जिल्लामा ३४ वडामा धान सुपुरजोन लागू गरिएको परियोजनाका कृषि प्राविधिक कृष्ण खनालले बताए ।

परियोजनाको क्षेत्र विस्तार कसरी हुन्छ ?
परियोजनाले धान क्षेत्र विस्तारका लागि सम्बन्धित क्षेत्रका समूह, सहकारी र फर्महरुको माग अनुसूची १४ अनुसारको फम्र्याट भरी सम्बन्धित पालिकाबाट निर्णय भई अनुसूची १५ अनुसार परियोजना कार्यान्वयन इकाईमा पेश गर्नुपर्ने हुन्छ । उक्त पेश भएको कागजात परियोजना कार्यान्वयन इकाईमा गठित प्राविधिक समितिको सिफारिस अनुसार छनौट प्रक्रिया अगाडि बढ्ने कृषि प्राविधिक खनाल बताउँछन । यो प्राविधिक समितिले सम्भाव्यता अध्ययन, सिंचाई, बाटो, विद्युत, भौगोलिक अवस्था लगायतको मूल्याङ्कनलाई आधार मान्ने गरेको छ ।

धान सुपरजोनबाट किसानले के फाइदा लिन्छन् ?
परियोजना कार्यान्वयन इकाईबाट किसानले प्राविधिक सेवा, मझौला तथा साना सिंचाई सेवा, यान्त्रिकीकरण लगायतका सेवा पाउँछन् । परियोजनाले हरेक आवको सुरुवातमा कृषक समूह, फर्म, सहकारी, जल उपभोक्ता र वन उपभोक्ता समूहलाई सूचीकरणका लागि आवेदन खुल्ला गर्छ । सोही सूचीकरणको मापदण्ड अनुसार बार्षिक कार्यक्रम बनाएर परियोजनाले किसान केन्द्रीत सेवा दिन्छ । किसानलाई परियोजनाले प्राविधिक सेवा मात्र नदिएर कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमा सहयोग गर्दै आएको छ । परियोजनाबाट ५० प्रतिशत अनुदानमा यान्त्रिकीकरणका कार्यक्रम सन्चालन गर्दै आएको छ ।

७ सय ५० हेक्टरमा सिंचाई सेवा विस्तार
परियोजना लागू भएपछि चार सय साना सिंचाई बाँडिएको परियोजनाले जनाएको छ । त्यसबाट ७ सय ५० हेक्टर जमिन सिंचित भएको छ । परियोजनाले स्यावोट्युवेल, बाँध, कुलो, पम्पसेट, मोटर लगायतका सिंचाई उपकरण र भौतिक संरचनामा काम गर्दै आएको छ ।

यान्त्रिकीकरण प्रयोगमा अब्बल
कृषिका यन्त्र तथा उपकरणमा कपिलवस्तु अब्बल देखिन थालेको छ । छिमेकी मुलुक भारतमा समेत यान्त्रिकीकरणबाट कृषि पेशा अँगाल्न नसकिरहेका किसानले कपिलवस्तुमा यान्त्रिकीकरणबाट लाभ लिइरहेका छन् । कष्टम हाइरिङ सेन्टर मार्फत किसानले लाभ लिइरहेका हुन् । परियोजनाले सेवा क्षेत्रको १७ स्थानमा कष्टम हाइरिङ सेन्टर स्थापना गरेर काम गरिरहेको छ । यहाँ कृषिमा भित्रिएका नयाँ तथा उन्नत प्रविधि उपकरण रहेका छन् । जुन प्रविधि किसानले सर्वसुलभ ढंगले प्रयोग गर्न सक्छन् । यान्त्रिकीकरणको प्रयोगले उत्पादन लागत घट्ने, समय र श्रमको बचत हुने गरेको छ । धान रोप्ने, धान काट्ने लगायतका उपकरणको प्रयोगमा कपिलवस्तुका किसान छन् ।

यो बर्षको असार १५ धान दिवसमा धान रोप्ने मेसिनको प्रयोग गरिएको छ । मायादेवी गाउँपालिका वडा नं. १ मा धान रोप्ने मेसिनबाट धान रोपिएको परियोजनाले जनाएको छ । कतिपय किसानले धान रोप्ने मेसिनलाई झन्झट मानेको अनुभव पनि परियोजनाका कृषि प्राविधिकलाई छ । धान रोप्ने मेसिनको डेमो समेत देखाइएको भएपनि धान रोप्ने मेसिनबाट धान रोप्न किसानले नमानेको परियोजनाले जनाएको छ । मेसिनबाट धान रोप्दा बेर्ना राख्न झन्झट हुने किसानले बताउने गरेका छन् ।

किसानका समस्या उस्तै
धानको सम्भावना रहदा रहदै किसानका समस्या भने अझै समाधान हुन सकेका छैनन् । प्रयाप्त सिंचाई सुविधाको अभाव किसानको महत्वपूर्ण समस्या हो । बाणगंगा नगरपालिका भित्र सिंचाईको सुविधा अन्यत्रको भन्दा तुलनात्मक भएपनि बुद्धभूमि नगरपालिकामा सिंचाईको सुविधा अभाव छ । वडा नं. १ बाहेक अन्य वडामा यहाँ भरपर्दो सिंचाईको सुविधा छैन् । यहाँका किसानले आकाशे बर्षाको पखाई गरेका हुन्छन्, भने आर्थिकस्थिति बलियो हुनेले साना सिंचाईका प्रविधि मार्फत काम गरिरहेका छन् । मायादेवी र शुद्धोधन गाउँपालिका भित्र पनि सिंचाईको असुविधा छ । यहाँ पनि साना सिंचाई प्रविधि मार्फत किसानले खेत सिंचित गर्दै आएका छन् । प्रयाप्त खेतीयोग्य जमिन रहेपनि सिंचाईको असुविधा यहाँ ब्याप्त छ । कपिलवस्तु नगरपालिकाका केही वडामा बाणगंगा सिंचाई योजना अन्तर्गतको लक्ष्मणघाट बाँध मार्फत सिंचाई हुँदै आएको छ ।

किसानलाई रासायनिक मलको पनि उस्तै समस्या छ । धान रोप्ने बेला सधै रासायनिक मलको अभाव हुँदै आएको छ । यस्तै उन्नत बीउपलको पनि समस्या छ । नेपाल धानको बीउमा आत्मनिर्भर हुन नसक्दा दोस्रो तथा तेस्रो मुलुकबाट धानको बीउ ल्याउनुपर्ने बाध्यता छ । कतिपय बीउ किसानले होचुवाको भरमा किन्दा राम्रो फल नलाग्ने समस्या छ । सरकारले प्रमाणित गरेको बीउ भन्दा विपरित बीउमा किसान ठगिदै आएका छन् । किसानलाई धानको समर्थन मूल्य पाउँनै मुस्किल छ । धान खरिद गर्ने व्यापारीबाट पनि किसान ठगिदै आएका छन् । यी यावत् समस्याम धान खेती गर्ने किसान रहेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८० मंगलबार ००:००  ८ : ४५ बजे