९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

शीतगंगाको सहमतिमा ठेकेदारले गरे मुसिवाङ्गमा चुरे दोहन



मायादेवी अनलाइन, बाणगंगा ।
नदीजन्य पदार्थ (ढुंगा, गिट्टी बालुवा) का ठेकेदारको आँखा चुरे दोहन तर्फ लागेको छ । खोलाबाट नदीजन्य पदार्थको उत्खननका लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले ठेकेदारको नजर चुरे पहाड उत्खखन् तर्फ मोडिन थालेको हो ।

नदीजन्य पदार्थको अवैध उत्खननले रोडबाट करोडपति बनेका ठेकेदारका योजना कहाँसम्म हुन्छन् भन्ने उदाहरण अर्घाखाँची शीतगंगा नगरपालिका वडा नं. १३ मुसिवाङ्ग हेरे पुग्छ । शीतगंगा तराईसँग छुने चुरेपहाडको नगरपालिका हो । भौगोलिक हिसाबले देशकै ठूलो नगरपालिका रहेको शीतगंगा प्राकृतिक स्रोत र साधनका हिसाबले अब्बल छ ।

शीतगंगामा ठेकेदारले गैरकानूनी धन्धा चलाइरहेका छन् । मुसिवाङ्गमा रहेका खेतबारी सम्याउने नाममा ठेकेदारले ढुंगाको उत्खनन गरिरहेका छन् । तराईँ नजिकैको चुरे वस्तिमा ठेकेदारले एक्साभेटर प्रयोग गरी ठेकेदारले ढुंगा उत्खनन् गरिरहेको छ । यहाँ उत्खनन् गरिएका ढुंगा ठेकेदारले व्यवसायिक कारोबारका लागि विक्रि गर्ने गर्छन् ।

ठेकेदारले शीतगंगा नगरपालिकाको अनूमति लिएरै यो काम गरिरहेका हुन् । यसरी चुरेमा नगरपालिकाले आफूखुसी ढुंगा उत्खनन्का अनूमति दिन पाउँदैन् । नदीमा थुप्रिएका नदीजन्य पदार्थ निकाल्नका लागि पनि प्रारम्भिक वातावरणीय परिक्षण (आईइइ) गर्नुपर्ने कानूनी प्रावधान छ । तर यहाँ उत्खनन् भइरहेको ठाउँमा आईइइ त परको कुरा, एक्साभेटरकै प्रयोग गर्न दिइएको छ । नदीजन्य पदार्थ निकाल्नका लागि समेत एक्साभेटर प्रयोग गर्न दिइदैँन् । मजदुर संलग्न गराएर नदीजन्य पदार्थ निकालिन्छ । तर शीतगंगाले नदी किनाराको चुरेबस्तिमा एक्साभेटर मार्फत ढुंगा उत्खनन्को अनूमति दिएको छ ।

गत मंसीर २९ गतेको नगरकार्यपालिका बैठकले विभिन्न स्थानका खेतीयोग्य जमीनमा खेतका गह्रा सम्याउन स्थानीय जग्गाधनीलाई अनुमति दिने निणर्य गरेको हो । कार्यपालिका बैठकले जग्गाधनी किसानको स्वार्थमा भन्दा ढुंगाको कारोवारीको स्वार्थमा यस्तो निर्णय गरेको हुन सक्ने आशंका छ ।

यो अवैध कामको अनूमति दिने नगरका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा हुन् । उनले खेत सम्याउने उद्धेश्यका साथ ठेकेदारलाई पत्रै काटेर ठाडै स्विकृति दिएका छन् । नगरकार्यपालिकाको बैठकमा निर्णय गराएर प्रमुख प्रशासकीय अधिकृत शर्माले यस्तो स्विकृति दिएको ठेकेदार बताउँछन् ।

आँखामा छारो हाल्नकै लागि ढुंगा भएको खेतलाई सम्याउने उद्धेश्य राखिएको छ । आफ्नो खेत अझ राम्रो बन्छ भने किसानले नदिने विषय नै भएन् । टुक्रा टुक्रा रहेका खेत ठूलो आकारको बन्ने र ढुंगा हट्ने मनसायले किसानले धमाधम खेत उत्खनन् गर्न दिइरहेका छन् । उद्धेश्यमा यो राखिएपनि यसको खेल अर्कै छ ।

शीतगंगा सिंगो कपिलवस्तुसँग जोडिएको भूगोल हो । तर, शीतगंगाले सबैलाई यस्तो अनूमति दिएको छैन् । जहाँ ढुंगै ढुंगाको खानी छ, जहाँ तराईँसँग यातायातको पहुँच छ त्यहाँ मात्र स्विकृति दिएको छ । यसबाट प्रष्ट हुन्छ यस्तो खेल ठेकेदार पोसेर चुरे दोहन गर्ने नै हो ।

शीतगंगाले चुरे क्षेत्रमा पर्ने वडा नं १२, १३ र १४ मा चुरे दोहनको अनुमति दिएको छ । अनुमति लिएका ठेकेदारले भने ढुंगा बिक्रीका लागि नै भएको बताउने गरेका छन् । नगरपालिकाबाट खेतका गह्रा सम्याउन अनुमति लिएका शितगंगा १३ का बाबुराम विसीले गह्रा सुधार गरेर साना खेतलाई अझ व्यवस्थित बनाउन आफूहरुसँग रकम नभएको र नगरपालिकामा निवेदन दिएर यो काम गर्न थालेको बताए ।

शितगंगाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जग्गाको कित्ता नं., क्षेत्रफलसहितको लालपूजाा, तिरो तिरेको रसिद, नक्सा र वडाको सिफारिस पेस गरेपछि स्थानीयको नाममा गह्रा सुधारका लागि नगर कार्यपालिकाको बैठकले निर्णय गरेर अनुमति दिएको बताए । शर्माले कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गरेको जनाए ।

उनले प्रदेश सरकारलाई ४० प्रतिशत र नगरपालिकालाई ६० प्रतिशत राजश्व बुझाई मेशिन प्रयोग गरि उत्खनन गर्न अनुमति दिएको जानकारी दिए । उनले यस्तो अनुमति दिने क्रममा प्रारम्भिक वातावरणीय परीक्षण भने नगरिएको स्विकारे ।

वातावरणविद् तथा अधिवक्ता महेन्द्रप्रसाद पाण्डेयले गह्रा सुधार गर्न अनुमति लिए पनि यसको प्रयोजन अर्कै भएको बताए । साँच्चिकै गह्रा सुधार गर्ने र खेतीयोग्य बनाउने कुरामा कसैको विरोध नरहने बताउँदै भने, ‘भन्ने एकातिर र गर्ने अर्कोतिर भएकाले नै आशंका उब्जिएको हो ।’

शीतगंगाले गत बर्षपनि यस्तो धन्धा चलाएको थियो । जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा चुरे क्षेत्रबाट ढुंगा र माटो उत्खनन गर्न अघिल्लो वर्ष पनि नगरपालिकाको मिलेमतोमा वडा नं १२ र १३ का यसै क्षेत्र र कपिलवस्तु, अर्घाखाँची सीमा क्षेत्रमा रहेका भङ्खला, मुसिवाङ्ग क्षेत्रबाट सोझा किसानलाई ठूलो खेत सम्याइदिने प्रलोभन पारेर ठेकेदारहरुले चुरेक्षेत्रको दोहन गरेका थिए ।
यस विषयमा विभिन्न निकायसम्म उजुरी परेपछि काम रोकिन पुगेको थियो । चुरेमा अन्धाधुन्धा डोजर चलाएर ढुंगा उत्खनन् गर्दा वातावरण विनाश हुने भन्दै वातावरणसँग सरोकार राख्ने निकायले विरोध जनाएका थिए ।

यो काम वापत शीतगंगाले न्यून राजश्व लिन्छ । नगरपालिकाले खेत सम्याउदा निस्किएको ढुंगालाई नगरमा राजश्व बुझाएर लैजान सकिने अनूमति दिदाँ उल्लेख गरेको छ । मुस्याङ्गमा भइरहेको उत्खनन्मा शीतगंगाले ७० हजार राजश्व लिएको स्रोतको जनाएको छ ।

न्यून राजश्व तिरेर निकालिएको ढुंगालाई ठेकेदारले कपिलवस्तुको भलवाड ल्याएर डम्पिङ गर्ने गरेका छन् । जहाँबाट ढुंगा चलनचल्तीमा प्रति टिप्पर हजारौँ मूल्यमा विक्रि गर्ने गरेका छन् । खोलाबाट ढुंगा निकाल्न कानून झन्झट हुने देखेपछि ठेकेदारले खेत सम्याउने नाममा चुरेतिर आँखा लगाएका हुन् । यसले अवैध ढंगले ढुंगा उत्खनन् दिदाँ चुरे विनास हुनेमा सरोकारवाला चिन्तित छन् । चुरे बचाउनका लागि राज्यले बर्षेनी करोडौै रकम खर्च गरेपनि शीतगंगाले खुलमखुल्ला चुरे दोहन गर्न दिइरहेको हो ।

ठेकेदारले नगरका जनप्रतिनिधि र कर्मचारीलाई मोट रकम दिएर यस्तो धन्धा चलाइरेहको मुस्याङ्गका एक स्थानीयले बताए । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, हामीलाई खेत सम्याइदिने भन्छन् । ढुंगा जहाँ बढी देख्छन् त्यहाँ मात्र उनीहरुको आँखा जान्छ । खेत दिन नमाने अलि अलि पैसा सम्बन्धित जग्गाधनीलाई दिन्छन्, यहाँबाट हजारौं टिप्पर ढुंगा अन्यत्र लैजान्छन्, गत बर्षपनि यहीँ धन्धा थियो, अहिलेपनि यहीँ धन्धा चलेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८० बुधबार ००:००  ३ : ५९ बजे