१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

४२औं मगर स्थापना दिवस भब्यताका साथ मनाइयो



बाबुराम रायमाझी ।

विविधतामा एकता हुँदै मगर हुनुमा गर्ब गरौं, अग्रजको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गरौं भन्ने मुल नाराका साथ नेपाल मगरसंघ ७ र ९ न.वडाको संयुक्त आयोजनामा संघको ४२औं मगर स्थापना दिवस धार्मिक पर्यटकिय स्थल कपिल आरोग्य मन्दिर कपिलधाममा मनाइएको छ । मगर संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको वडाको संयुक्त इकाई समितिका संयोजक मीन बहादुर बुढा मगरले बताए ।
कार्यक्रममा मगर समुदायका ८० बसन्त पार गरेका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियोे। नेपाल मगर संघले ४२औं स्थापना दिवसमा नगर प्रमुख चक्रपाणि अर्यालले बहुजाति, बहुभाषी भएको नगरमा लक्षित समुदाय अन्तरगत नगरले जनजातिको संस्कृति जगेर्ना एबम संरक्षणमा हरेक बर्ष बजेट बिनियोजन गर्दै आएको बताउदै आगामी बर्षमा पनि निरन्तरता दिने कुरा बताएका थिए । त्यस्तै नगर उप प्रमुख रिता कुमारी चौधरी, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाइ, वडा न ७ का वडा अध्यक्ष विष्णु गिरि, ९ का कमल पौडेल लगाएतले शुभकामना दिदै वडाबाट मगर समुदायलाई सहयोग गर्दै आएको आगामी दिनमा विशेष सहयोग पुराउने बताएका थिए ।
लुम्बिनी प्रदेश नेपाल मगर संघका सदस्य बिस्नु राना, बिस्नु थापा, जिल्ला सदस्य उत्तम आले मगर, नेपाल मगर संघ बौद्ध बिहारका केन्द्रिय परिषद सदस्य अम्बर बहादुर थापा लगायतले आफ्नो हक अधिकारको लागि मगर समुदाय आफुमा सक्षम भै संगठित हुनुपर्ने बताएका थिए । कार्यक्रममा मगर संस्कृति झल्कने भेषभुसा मगर समुदायका खाने परिकार र नृत्यबाट कार्यक्रम रोचक एबम भब्य रहेको थियो ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि चोपलाल राहुलले वाणगंगा नगरका ११ वटा वडाबाट आएका सबै सहभागीलाई धन्यवाद प्रदान गरेका थिए भने कार्यक्रम बिनोद थापाको स्वागत, पुस्पा थापा र सबिता थापाको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८० बुधबार ००:००  ८ : २० बजे