१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

चुनाव हारेपछि कृषि पेशामा लगानी बढाएका बजरंगी



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु मायादेवी गाउँपालिका वडा नं. ७ का बजरंगी चौधरी पूर्व पालिका अध्यक्ष हुन् । ०७४ मा मायादेवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका चौधरी ०७९ को स्थानीय चुनावमा सोही पदमा झिनो मतान्तरले पराजित भए ।

चुनावमा पराजित भएपछि चौधरी व्यवसायिक कृषि तथा पशुपालन तिर लागेका छन् । चुनावमा पराजित भए लगत्तै व्यवसायिक रुपमा कृषि तथा पशुपालन तिर लागेको छु, चौधरीले मायादेवी अनलाइनसँग भने,’ ‘खाली समय बसेर के गर्नू, केही न केही त गर्नै पर्छ नि ।’

चौधरीको परिवार मुलतः किसान हो । झण्डै ६ विगाह जग्गा रहेको यो परिवारले धेरै मात्रामा धान खेती गर्ने गरेको छ । बार्षिक रुपमा धानको उत्पादनबाट झण्डै १२ लाख बराबरको आम्दानी हुने गरेको चौधरी बताउँछन् ।

कपिलवस्तु धानको उत्पादनमा अग्रणी स्थानमा छ । कुनै समय पहाडका आधा दर्जन जिल्लालाई खाना पुर्‍याउने यो जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत धान सुपरजोन सञ्चालन छ ।

झण्डै ८० हजार हेक्टर क्षेत्रफलमा यहाँ धान खेती हुँदै आएको छ । धान सुपरजोनले धान उत्पादन बढाउन विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको परियोजना कपिलवस्तुका प्रमुख सहसराम चौधरी बताउँछन् ।

धान सुपरजोनले साना सिंचाईसँगै यान्त्रीकरणमा सघाउ पुर्याउँदै आएको छ । किसानहरु यान्त्रीकिकरणमा लागेसँगै उत्पादन लागत घट्दै गएको छ भने, आम्दानीमा वृद्धि हुन थालेको छ ।

आफूले बार्षिक रुपमा झण्डै तीन सय क्वीन्टर धान फलाउने गरेको उनले सुनाए । धान खेतीका लागि चाहिने झण्डै २ करोड ७० लाख बराबर मूल्यको कृषि सामग्री चौधरी सामु छन् ।

कतिपय कृषि सामग्री चौधरी स्वंयमले किनेका छन् भने कतिपय धान सुपरजोनको ५० प्रतिशत अनुदानबाट प्राप्त गरेका हुन् । ‘धान सुपरजोन सञ्चालन भएसँगै धानको उत्पादनमा सघाउ पुगेको छ, कृषिमा लाग्ने मजदुरको संख्या घटेको छ, उत्पादन लागत घट्दा आम्दानी पनि बढेको छ, चौधरी अनुभव सुनाउँछन् ।’

चौधरी दुई बर्ष यता व्यवसायिन भैसीपालन तर्फ लागेका छन् । मायादेवी बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेका उनको फर्ममा २१ भैँसी छन् । उनले दैनिक घरखर्चो दुध बेचेर चलाउने गरेका छन् । भैँसीको दुध दैनिक रुपमा ५० लिटर बेच्ने गरेको उनले सुनाए ।
चौधरीले आफै डेरी उद्योग सञ्चालनका लागि तयारी थालेका छन् । उत्पादन भएको दुध बेचेपनि तत्काल पैसा नआउने बाध्यता रहेको सुनाएका उनले अब आफ्नै डेरी उद्योग सञ्चालनको तयारी रहेको बताए ।

कृषिमा व्यवसायिक रुपमा लाग्दा राम्रै हुने उनी सुनाउँछन् । सरकारले किसानका लागि विभिन्न किसिमका कार्यक्रम मार्फत सहयोग गर्दै आएको भएपनि बजारीकरणमा भने अझै समस्या रहेको उनले बताए । बजारसम्म पुर्याउनका लागि किसान सक्षम नभएको र बीचमा बिचौलिया हावी हुँदा किसानको लागत मूल्यभन्दा कममा उत्पादित कृषि उपज बेच्नुपर्ने समस्या रहेको उनले बताए । सरकारले अब बजारीकरणमा ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् । उनले भैँसी फर्ममा दुई जनालाई प्रत्यक्ष रोजगारी दिएको र बाली लगाउने, भित्त्राउने बेला दर्जनौँलाई रोजगारी दिदैँ आएको उनले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८० सोमबार ००:००  २ : ३३ बजे