१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एकीकृत पशुपालन व्यवसायबाट उत्साहित सापकोटा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिका ८ धनेशपुरका मित्रलाल सापकोटा पशुपालन कृषि व्यवसायबाट उत्साहित भएका छन् । आफ्नै साढे ३ विगाहा क्षेत्रफलमा एकीकृत रुपमा कृषि तथा पशुपालन व्यवसाय गरेर उनी उत्साहित बनेका हुन् ।

कृषि र पशुपालनमा जमेका सापकोटाको एकीकृत रुपमा पशुपालन र कृषि व्यवसायबाट मनग्यै आम्दानी गरेका छन् । उनको मुख्य पेशा नै कृषि तथा पशुपालन क्षेत्र हो । मिलास पशुपंक्षी तथा कृषि उद्योग दर्ता गरेर उदाहरणीय काम गरेका छन् सापकोटाले ।

उनले एकीकृत रुपमा कुखुरापालन, बंगुरपालन, बाख्रापालन, माछापालन र तरकारी खेती गरी नमूना काम गरेका छन् । उनको व्यवसायमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कपिलवस्तुबाट केही अनुदान प्राप्त भएपछि उनको एकीकृत व्यवसाय फस्टाएको हो ।

मित्रलाल सापकोटाले गरेको माछापालन ।

उनको कुखुरा फर्ममा ११ सय कुखुरा हँुर्कदै छन् । अबको केही दिनमा कुखुरा विक्रीका लागि तयार हुने उनले बताए । यसको बजारमूल्य घटीबढि हुँदा धेरै नाफा गर्न नसकिने बताएका छन् । कतिपय समयमा कुखुराको मूल्य राम्रो परेपनि कुनैबेला कम मूल्यमा विक्री गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

मित्रलाल सापकोटाले गरेको कुखुरापालन ।

उनको बंगुरपालन अर्को मुख्य व्यवसाय हो । माउ र पाठापाठी गरी हाल एक सय २५ वटा बंगुर उनको फर्ममा छन् । ५५ माउ र ७० पाठापाठी गरी १२५ बंगुरपालनबाट राम्रो आम्दानी हुने उनले बताए । यहीँ हिसावले बंगुर हुर्किदै गएपछि बिक्री गर्न कुनै समस्या नहुने र यसको बजार मूल्य राम्रो रहेको उनले बताए ।

हाल ७० बढि पाठापाठी तयार भएका छन् प्रति गोटा ७ हजार सम्ममा विक्री हुने गरेको छ उनले भने, ‘जसले गर्दा ५ लाखकै बंगुरको बच्चा विक्री गर्न सकिन्छ । माउ पनि मासुको भाउमा विक्री हुने गर्दछ, प्रति केजी ४ सय सम्म विक्री गर्दै आइरहेका छन्, एउटा बंगुर १ सय केजिसम्म हुने गर्दछ । जसबाट १६ लाखसम्म आम्दानी हुने अनुमान छ ।’

मित्रलाल सापकोटाले गरेको बाख्रापालन ।

माउ र बच्चा विक्रीबाट मात्रै २१ लाख आम्दानी हुने लक्ष्य राखेका छन् । दुईतर्फ बंगुरको सेड बनाएर उनले व्यवस्थित रुपमा बंगुरपालन गरेका छन् । नियमित दाना पानी, रेखदेख र उपचारमा विशेष ध्यान दिनुपरेको उनी बताउँछन् ।

विगतको कोभिड १९ को समयमा बंगुरपालनमा घाटा खाएपनि त्यसपछि भने राम्रो प्रतिफल दिएको बताए ।

‘दुई सय बंगुर थिए लगानी बढि गर्नुपथ्र्यो, विक्री हुँदैनथ्यो, त्यसबेला निराश थियौ । अहिले त्यो समस्या छ्रैन्,’ उनले भने ।
बंगुरपालन संगसंगै पशुपालनमा योजनाबद्ध काम गरेका उनले गएको साउनदेखि बाख्रा पालन गरेका छन् । कुनै एउटा व्यवसायले साथ नदिए अर्को व्यवसायबाट सहयोग पुग्ने योजनाका साथ बाख्रापालन तर्फ आकर्षित भएको उनले बताए । ७ वटा बाख्राबाट शुरुवात गरेका सापकोटाको फर्ममा हाल २९ वटा बाख्रा छन् ।

उनले कुनै समय कुखुरा व्यवसायमा घाटा व्यहोर्नुपर्दा विकल्पको रुपमा बंगुर व्यवसाय रोजेको उनले बताए । बंगुर संगसंगै बाख्रापालन थालेका उनले माछापालनमा पनि राम्रो आम्दानी गर्न सफल भएका छन् ।

एकपछि अर्को व्यवसाय गर्नुको फाइदा पनि राम्रैसंग अनुभव गरेका सापकोटाले माछापालनबाट गत सिजनमा ५ लाख बढिको माछाको कारोवार भएको उनले बताए । गत पौष देखि फागुनसम्म १८ क्वीन्टल माछा विक्री गरेका ५ लाख बढि आम्दानी गरेका थिए । हाल १० हजार भुरा माछा पोखरीमा छन् ।

डेढ विगाहामा ५ वटा पोखरी निर्माण गरी व्यवसायिक माछापालन गरेका हुन् ।

माछा पोखरीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुदान सहयोग गरेपछि माछापालन विस्तार गरेको उनले बताए । परियोजनाले माछा पोखरी निर्माणमा ५० प्रतिशत अनुदान दिएको हो । माछा पोखरी निर्माण संगसंगै दाना चुना भुरा, नश्ल सुधार र बोरिङ्ग सिंचाईका लागि लागत साझेदारीमा अनुदान सहयोग गरेको हो ।

उनी भन्छन्, ‘परियोजनाको अनुदानले व्यवसायिक पालनमा टेवा पुगेको छ । शुरुका बर्ष ५ वर्ष अघि उद्योग संचालन गर्दा समस्या परेको भएपनि परियोजनाबाट अनुदान प्राप्त भएपछि एकीकृत रुपमा पशुपालन व्यवसायबाट सन्तुष्टी छ ।’

यसलाई अझ विस्तार गर्दै जाने उनको लक्ष्य छ । पशुपालनबाट ७ जनाले रोजगारी पाएका छन् जसमा ४ जना आंशिक रोजगारीमा संलग्न छन् । पशुपालनसंगै तरकारी खेती तर्फ पनि सिजन अनुसारको उत्पादन गरेका छन् । टमाटर, काक्रा, आलुबाट पनि उनले आम्दानी गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८० बुधबार ००:००  १० : ५५ बजे