१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कफीको आकर्षणले परम्परागत खेती छाड्दै किसान



गुल्मी ।
मदाने गाउँपालिका–३ सिर्सेनीका ३० घरधुरी मिलेर तीनधारे कफी उत्पादन कृषक समूह गठन गरेका छन् । कोदो मकै फल्ने बारी अहिले कफीले हरियाली बनेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरुलाई व्यवसायिक कफी खेतीको उत्पादनमा उर्जा दिइरहेको छ । जसका कारण किसानका कृषि कर्महरु फेरिदै गएका छन् । अहिले परम्परागत खेती गर्दै आएका कृषकहरु कफी खेतीतर्फ आकर्षित बन्दै जान थालेका छन ।

मकै कोदो जस्ता परम्परागत खेती गर्दै आएका कृषकहरुका लागि कफी खेतीले थप आशा जगाएको छ । परम्परागत खेतीबाट किसानहरुले बाँदर, बँदेल, दुम्सी तथा चराचुरुङ्गीबाट सास्ती खेपिरहेका छन् । जंगली जनावरको आतंकबाट कैयौ परम्परागत खेती हुने मलिला बारीहरु पनि बाँझिदै गएका बेला कृषकहरुको कफी आर्कषणले नयाँ आशा जगाएको छ ।

तीन बर्षअघि गठन भएको तीनधारे कफी उत्पादन कृषक समूह मार्फत प्रत्येक घरधुरीमा व्यवसायिक रुपमा कफी खेती सुरु गरिएको छ । त्यहाँका कृषकहरुको घर–घरमा ५० देखि दुई हजारसम्म कफीका बोटहरु छन । तीन वर्ष अघि रोपेका बोटहरुले फल दिन शुरु गरेपछि कृषकहरुमा कृषि कर्मको उर्जा भरिएको छ ।

जसले प्रत्येक वर्ष कृषकहरुले कफी लगाउने क्रम बढ्दो रहेको सिर्सेनीका व्यावसायिक कफी कृषक मेघलाल अर्यालले बताए । उनले सवैभन्दा धेरै कफी लगाएका छन् । बारीमा दुई हजार कफीका बोटहरु रोपेका अर्यालले आफूसंगै छिमेकीहरुलाई कफीमा आवद्ध गराइरहेका छन् । मेघलालको बारीमा चाँडै हुर्किएका कफीका बोटहरुले आम्दानी दिन थालेका छन् । अर्यालले दश रोपनी जग्गामा कफी रोपेका छन् । मकै र कोदो रोप्ने बारीहरुमा ढाकिएका कफीका बोटसंग अर्यालले आफ्नो समृद्धिको सपनाहरु बुनिरहेका छन् । ‘मकै रोपे चार महिना बाँदर र बदेल कुर्ने मान्छे चाहिन्छ । बेचे कम पैसा पर्ने भएकाले अर्थ देखिएन,’उनले भने,‘कफी हुर्किएपछि पैसा पनि राम्रो आउँछ ।’

सिर्सेनीकै कृषक शशीधर अर्यालले पनि व्यवसायिक रुपमा कफी गरेका छन् । उनले पनि केहीबेर कफी हुर्काउन समस्या भएपनि दीर्घकालमा राम्रो आम्दानी हुने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीको प्रमुख गंगा कुमारी पोख्रेलले व्यवसायिक कफ खेतीको विस्तारका लागि कार्यालयको तर्फबाट विरुवा, मल, सिंचाई, छहारीका लागि नेटजालीमा अनुदान उपलब्ध गराउँदै आएको बताइन् । त्यसका साथसाथै कृषकहरुलाई कफी पाठशाला मार्फत समय समयमा प्राबिधिक ज्ञान प्रदान गरेर कफीमा उर्जा भर्ने काम गरिरहेको पोख्रेलले बताइन् ।

जिल्लामा कफी खेतीकमा कृषकहरुको आकर्षण बढे पनि समय समयमा कफीमा देखिने गरेको सेतो गवारो, ढुसी, डढुवा आदिका कारण कफीका बोटहरुमा क्षती पुग्ने गरेको छ । यो रोगका कारण कृषक पेसाबाट विस्थापित पनि बनिरहेको अवस्थामा सिर्सेनीका कृषकहरुको कफी खेती र चासो अनुकरणीय रहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण बहादुर खत्रीले बताए ।

उनले व्यवसायिक पेशामा अडिइरहने बातावरण बनाउनुनै अहिलेको चुनौति भएको खत्रीले बताए । कफीको उद्गम स्थल गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिदै आएको छ । जिल्लामा आर्थिक वर्ष ०७९/८० मा ३० मेट्रीक टन कफी उत्पादन भएको थियो । जस अन्र्तगत आठ टन ग्रिनविन मात्र तेश्रो मुलुकमा निर्यात भएको छ । पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र लगायतका कार्यालयदेखि स्थानीय तहले कफी खेतीको क्षेत्रमा काम गर्दै आइरहेका छन ।

मुसिकोटले ०७४ सालबाटै ‘कफी लगाऔँ आम्दानी बढाऔँ’ अभियान सुरु गरेको छ । कफी क्षेत्र बिस्तारमा टेवा पुराउने उद्देश्यले कार्यविधि निर्माण गरेर एक सय बिरुवा कफी रोप्ने किसानलाई १० हजार अनुदानको व्यावस्था गरिएको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताए । अभियान अन्तरगत अहिलेसम्म एक लाख एक हजार पाँच सय कफीका बिरुवा रोपिकएको छ ।

कृषि पर्यटन र उद्योगनै मुसिकोटको समृद्धिको आधार भएकाले कफीको विकासमा आफूहरुको जोड रहेको खरेलले बताए । अभियानबाट एक सय २७ जना कृषक र चार समूह लाभान्वित भएका छन् । त्यस्तै नगर र कृषि ज्ञान केन्द्र गुल्मीको साझेदारीमा २० हजार, प्रधानमन्त्री आधुनिकीकरण परियोगना मार्फत १४ हजार तीन सय कफीका बिरुवा नगरका विभिन्न स्थानमा रोपिएको नगरपालिकाका कृषि अधिकृत जनक पौडेलले जानकारी दिए ।

कफी विकास केन्द्र मार्फत करिव दुई सय रोपनी जग्गामा कफी बिरुवा रोपेर बगैचा बिस्तार र नर्सरी स्थापना र कफी अनुसन्धानका कामहरु अगाडी बढेको पौडेलले बताए । मुसिकोट नगरपालिका ५ आँपचौरमै पाँच हजार कफीका बिरुवा रोपिएको छ । मुसिकोट नगरपालिका ३ रं ५ लाई कफी पकेट क्षेत्र बनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८० शुक्रबार ००:००  ११ : ०३ बजे