काठमाडौँ ।
नेपालमा हरेक दिन बालबालिकाहरू बेपत्ता हुने गरेका छन्। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा बालबालिकाहरू हराएका घटना सार्वजनिक भइरहन्छन्।
नेपालमा दैनिक १५ जना बालबालिकाहरू बेपत्ता हुने गरेको तथ्यांक छ। पछिल्लो राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार तीन वर्षमा देशभरबाट करिब १७ हजार ६२ जना बालबालिकाहरू बेपत्ता भएका छन् भने यस अवधिमा करिब १६ हजार ९ सय ७९ जनालाई परिवारको जिम्मा लगाइएको छ।
कति हराए ?
आर्थिक वर्ष ७८/७९ मा ४ हजार ६ सय ४६ जना बालबालिकाहरू हराएका थिए। जसमा १ हजार २ सय १५ बालक थिए भने ३ हजार ४ सय ३१ बालिका रहेका थिए। त्यस्तै, ७९/८० मा १ हजार ६ सय १ जना बालक हराउँदा ४ हजार २ सय २५ जना बालिका गरी करिब ५ हजार ८ सय २६ जना हराएका थिए।
त्यसैगरी ८०/८१ मा १ हजार ८ सय २९ जना बालक र ४ हजा ७ सय ६१ जना बालिका गरेर करिब ६ हजार ५ सय ९० जना बालबालिकाहरू हराएका थिए।
कति भेटिए ?
आर्थिक वर्ष ७८र७९ मा १ हजार १ सय ५७ बालक भेटिएका थिए भने ३ हजार २ सय ४० जना बालिका भेटिएका थिए।
त्यस्तै, ७९/८० मा १ हजार ४ सय ३७ जना बालकलाई परिवारको जिम्मा लगाइएको थियो भने ५ हजार ३ सय १४ बालिका पनि भेटिएका थिए। त्यसैगरी ८०र८१ मा १ हजार ६ सय ४९ जना बालक भेटिँदा ४ हजार १ सय ८२ जना बालिका भेटिएका थिए।
छ महिनामा हराए ३ हजार ६ सय ९८ बालबालिका
आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा ३ हजार ६ सय ९८ बालबालिका हराएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार यो अवधिमा हराएका बालबालिकामध्ये ३ हजार १ सय ६ जना फेला परेका छन्।
प्रहरीको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा धेरै मधेशमा बालबालिका हराउने गरेका छन्। मधेशमा ६४५ बालिका र १२१ बालक हराएका छन्। ती मध्ये २ सय ३९ बालबालिका अझै भेटिएका छैनन्।
हराएका मध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सात प्रदेश र काठमाडौँ उपत्यका गरी ५९० बालबालिका अझै नभेटिएको प्रहरीले जनाएको छ।
किन र कहाँ हराउँछन् बालबालिका ?
पढ्ने, लेख्ने, खेल्ने र रमाउने उमेरमा बालबालिकाहरू साथीको लहैलहैमा लागेर सहर छिरेर हराउने गर्छन्। घरको आर्थिक अवस्थ, घरायसी विवादबाट आक्रान्त भएपछि बालबालिकाले घर छोड्ने गरेका छन्।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश आचार्यले परिवार वा आफन्तले आफ्ना सन्तान हराएको उजूरी दिने र पाइसके पछि सन्तान भेटिएको खबर नदिने गरेकोले पनि कहिलेकाहिँ अफ्ट्यारो अवस्था सिर्जना हुने गरेको बताए।
‘सन्तान हराउँदा उजुरी दिन आउने तर भेटिएपछि जानकारी नदिने गर्नाले पनि भेटिए नभेटिएकोबारे हामी नै कहिलेकाहिँ बेखबर बन्ने अवस्था छ’, उनले भने।
अशिक्षा, जनचेतनाको अभाव, मानव तस्करी, यौनजन्य दुर्व्यवहार, बेचबिखन, आर्थिक प्रलोभन, गरिबी, बेरोजगारी, असुरक्षाका कारण प्रत्येक वर्ष बालबालिका हराउने क्रम बढ्दो देखिएको उनले बताए।
‘बालबालिकाहरू भारतमा बेच्ने हिसाबले बेपत्ता हुने वा पारिने घटना भने कमै हुने गरेको छ। सीमा क्षेत्रमा सुरक्षा निकायका विभिन्न चरणहरू छन्। त्यहाँ रहेका हरेक गतिविधि हाम्रा निगरानीमा रहेका हुन्छन्। बालबालिका वा नयाँ मान्छे देखिएमा वा हामीलाई शंका लागेमा हामीले अनुसन्धान गर्छौं’, आचार्यले भने,’ देश भित्रै विभिन्न स्थानमा बालबालिकाहरू लुक्ने वा श्रम गरिरहेको अवस्था चाहिँ छ।‘
कतिपय अवस्थामा भने सानै उमेरमा बिहे गर्ने र घर परिवारसँग छलेर हिँड्ने गरेको पनि उनले बताए। आचार्यले अभिभावकहरूलाई आफ्ना सन्तानहरूमाथि पूर्ण अभिभावकत्व निर्वाह गर्न अनुरोध गर्छन्।
‘आफ्नै घरबाट असुरक्षित महसुस गरेपछि उनीहरूले बेपत्ता बन्ने गरेका छन्। उनीहरूलाई उचित अभिभावक्त दिन आवश्यक छ’, उनले भने।
राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी चन्दले बेपत्ता भएका बालबालिकाहरू आफूहरूसँग भएको पैसा सकिएपछि कोही सडकमै भेटिने गरेको सुनाए। कोही भने होटल रेष्टुरेन्टमा काम गरिरहेको अवस्थामा पनि देखिने गरेको बताए।
‘हामीले सडक वा होटलहरूमा काम गरिरहेको भेटेपछि परिवारलाई जिम्मा लगाउने गरेका छौँ’, उनले भने।
सबै हराएका बालबालिकाहरू गम्भीर समस्यामा नै हुन्छन् भन्ने चाहिँ नभएको चन्दले बताए। कहिलेकाहिँ स्कुलबाट ढिलो हुँदा वा कतै साथीहरूसँग खेल्दा पनि ढिलो हुन्छ। यस्तो अवस्थामा बुबा आमा वा आफन्तले प्रहरीको १०० नम्बर वा बालबालिका खोजतलास केन्द्रको १०४ नम्बरमा खबर गर्ने गरेको उनले बताए।
‘खबर गरेको केही समयमै ती बालबालिकाहरू घर आइपुग्छन्। तर आइपुगेको खबर नदिने प्रवृत्ति पनि छ’, उनले भने।
उनी हरेक सन्तानलाई पारिवारिक वातावरणमा हुर्काउनुपर्ने बताउँछन्।
घरका समस्याले पनि कतिपय घर छोडेर बेपत्ता बनिदिन्छन्। कोही गम्भीर अपराधको शिकार पनि बन्न सक्छन्, उनले भने, बालबालिकाको सुरक्षामा सबै जना एकजुट हुन जरूरी छ।
प्रतिक्रिया