६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

आज र भोलि यी ठाउँमा ठूलो वर्षाको सम्भावना



काठमाण्डाै – आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । साथै दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने अनुमान छ । भोलिसम्म विराटनगर, धनकुटा र धरान आसपासका ठाउँमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जलवायु विज्ञ उज्जवल उपाध्यायका अनुसार आज दिउँसोपछि नेपालमा पश्चिमबाट वर्षा गराउने प्रणाली प्रवेश गर्ने देखिन्छ । यस प्रणालीको प्रभावले दार्चुला, डडेल्धुरा, हुम्लालगायतका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।

यसैगरी बारा र रौतहट क्षेत्रमा स्थानीय मौसमी गतिविधिका कारण साँझतिर केही वर्षा हुन सक्छ । साँझ ढल्दै जाँदा धादिङ, उत्तरी चितवन, तनहुँ र गोरखा आसपासका क्षेत्रमा वर्षा केन्द्रित भई मध्यम वर्षा हुने उहाँको अनुमान छ ।

काठमाण्डौ उपत्यकामा पनि साँझ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र राति पनि केही बेर वर्षा हुनेछ ।

रातिदेखि भोलि बिहानसम्म कर्णालीको तल्लो तथा लुम्बिनीको माथिल्लो भू–भागमा ४–५ घण्टासम्म वर्षा हुन सक्ने उपाध्यायले सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँका अनुसार सुर्खेत, सल्यान र ढोरपाटन आसपासका क्षेत्रमा अपेक्षाकृत बढी वर्षा हुने हुँदा नदीको सतह केही बढ्न सक्ने र सामान्य भू–क्षय वा साना पहिरो जान सक्ने देखिन्छ ।

यसै समयमा कपिलवस्तु र रुपन्देही आसपास क्षेत्रमा पनि २–४ घण्टा ठूलो पानी पर्न सक्ने जलवायु विज्ञ उपाध्यायले बताउनुभएकाे छ । भोलि बिहानसम्म वर्षा प्रणाली पूर्वतर्फ सर्ने र यसले मेची–कोशी क्षेत्रका इलाम, धनकुटा, धरान र माथिल्लो झापा क्षेत्रमा २–४ घण्टा ठूलो पानी पर्न सक्ने उहाँको भनाइ छ ।

यस्तै हावाहुरी पनि आउने र हुरीका कारण रुख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकाले सचेत हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न तथा हावाहुरी चलेको बेला घरको इन्धन बन्द गर्न, सुरक्षित ठाउँमा बस्न र गाडी सञ्चालन नगर्न भनेको छ । साथै कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुन सक्ने भएकाले विद्युत् उपकरण नचलाउनसमेत प्राधिकरणको अनुरोध छ ।

कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । धेरै ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको योबेला दिउँसोपछि जुनसुकै ठाउँमा पनि हावाहुरी चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२ शुक्रबार ००:००  ९ : २० बजे