६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

डिजिटल साक्षरता, एआइ सम्बन्धी दुई दिने कार्यशाला



कपिलवस्तु। डिजिटल साक्षरता, साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि कार्यशाला लुम्बिनीमा सम्पन्न भएको छ। सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा आयोजित उक्त कार्यशालामा संस्थाका बोर्ड सदस्य, सिनियर कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यशालामा डिजिटल साक्षरताको सैद्धान्तिक ज्ञान, यसको व्यावहारिक प्रयोग तथा अपनाउनुपर्ने सावधानीका विविध विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, विकसित भइरहेका नयाँ प्रविधिहरू, तिनको सामाजिक प्रभाव, एआइको अवधारणा, यसको उपयोगिता, फाइदा तथा सम्भावित जोखिमबारे सहजीकरण गरिएको थियो।

सहजकर्ता गोरखापत्रका सह–सम्पादक अजय शर्माले सूचना प्रविधिमा तीव्र रूपमा भइरहेको विकाससँग अद्यावधिक रहनु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोगले थोरै समयमा धेरै तथा गुणस्तरीय काम गर्न सकिने र यसबाट समय तथा स्रोत–साधनको बचत हुने उल्लेख गर्नुभयो। डिजिटल साक्षरता, सूचना प्रविधी, एआइको आधारभूत ज्ञान सिप र समय सापेक्ष नहुँदा दैनिक जिवनयापन समेत कठिनाइ हुने गरेकाे अनुभव सुनाउनुभयाे ।

कार्यशालामा सहभागीहरूबीच एआइकाे नयाँ टुल्सकाे प्रयोग कसरी गर्ने, किन गर्ने र केका लागि गर्ने भन्ने विषयमा समूहगत छलफल समेत गरिएको थियो। सहभागीहरूले डिजिटल साक्षरता आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै यसले व्यक्तिगत जीवनदेखि पेशागत कार्यसम्पादनसम्म सकारात्मक प्रभाव पार्ने बताएका थिए।

संस्थाका अध्यक्ष तिलोचन घिमिरे र सचिव दुर्गा अर्याल लगायतले यस्ता तालिमले संस्थागत विकासका साथै व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यशालाबाट आफूहरूले नयाँ–नयाँ ज्ञान तथा सीप हासिल गरेको भन्दै सहभागीहरूले आगामी दिनमा सिकेका कुराहरूलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति : ६ चैत्र २०८२ शुक्रबार ००:००  ८ : ५५ बजे