६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

वनसम्बन्धी सुरक्षा तथा बीमा विषयक प्रशिक्षण



बाबुराम रायमाझी ।

वन क्षेत्रसँग सम्बन्धित काम गर्दा आइपर्ने जोखिम न्यूनीकरण, सुरक्षा व्यवस्थापन तथा बीमा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम वाणगंगाको जितपुरमा सम्पन्न भएको छ। वन निर्देशनालयको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता समिति, साझेदारी वनका प्रतिनिधि, वन कर्मचारी, काष्ठ उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

प्रशिक्षणमा वन निर्देशनालय बुटवलका वरिष्ठ वन अधिकृत जितेन्द्र सिंह खडका, लैङ्गिक तथा सामाजिक सुरक्षा विज्ञ लिला पौडेल तथा सेनिमा जे आ सि इन्स्योरेन्स कपिलवस्तुका शाखा प्रमुख दिनेश खनालले सहजीकरण गरेका थिए। प्रशिक्षकहरूले वन क्षेत्रमा काम गर्दा अपनाउनुपर्ने सुरक्षा सतर्कता, सम्भावित जोखिम व्यवस्थापन, बीमाको आवश्यकता र प्रक्रिया लगायतका विषयमा विस्तृत जानकारी दिएका थिए।

कार्यक्रम अन्तर्गत प्रदेशका विभिन्न जिल्लामा गरी ८ स्थानमा प्रशिक्षण सञ्चालन गरिएको जनाइएको छ। जसअनुसार बर्दियामा २ स्थान, बाँकेमा १, कपिलवस्तुको गौतम बुद्ध डिभिजनमा १, नवलपरासीमा १, कपिलवस्तुमा २ तथा रुपन्देहीमा १ स्थानमा प्रशिक्षण सम्पन्न गरिएको हो।
प्रशिक्षणमा विशेषगरी वनसम्बन्धी कार्य गर्दा देखापर्ने सुरक्षा जोखिम, वन चोरी तथा अवैध निकासी नियन्त्रण, वन अतिक्रमण रोकथाम, वन्यजन्तु उद्धार तथा व्यवस्थापन जस्ता महत्वपूर्ण विषयहरू समेटिएका थिए। साथै सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्न अन्तरक्रिया तथा छलफल समेत गरिएको थियो।

कार्यक्रमले वन क्षेत्रमा कार्यरत सरोकारवालाहरूलाई सुरक्षित र व्यवस्थित ढङ्गले काम गर्न प्रेरित गर्नुका साथै बीमा सम्बन्धी जानकारीमार्फत सम्भावित क्षति न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२ शुक्रबार ००:००  ५ : ४० बजे