११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

किसानको आयआर्जन बढाउन बगरखेती



झापा ।

झापाको कचनकवल गाउँपालिका ५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ। विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।

युएनडीपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगरखेती कार्यक्रम सञ्चालन भइरहेको उनले बताए। कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल ९एसएनजेडी० ले गरिरहेको उनले बताए।

‘विपन्न नागरिकका लागि आयआर्जनको माध्यम सिर्जना गर्नुका साथै भूमिमा उनीहरूको अधिकार सुनिश्चित गर्ने लक्ष्य रहेको छ”, उनले भने, ‘जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने उद्देश्यले पनि हो ।’

यो कार्यक्रमका लागि युएनडीपीको ८१ लख २५ हजार ८००, कचनकवल गाउँपालिका र भूमिगत सिँचाइ आयोजनाको एक करोड नौ लाख ३८ हजार गरी कुल एक करोड ९० लाख ६३ हजार ८०० रुपैयाँ लगानी छ।

जग्गामा घेराबार गरी करिब १५ बिघामा नौ हजार वटा सुपारीका बिरुवा रोपिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिए। गाउँपालिकाले छनोट गरेको लक्षित वर्ग विपन्न, आदिवासी, दलितलगायतका १०५ परिवारमध्ये ९६ परिवारलाई जग्गा प्रदान गरिएको उनले बताए। उनीहरुले २० वर्षसम्म सो जग्गा प्रयोग गर्न पाउने छन्।

‘हामीले सुपारीखेतीलाई प्राथमिकता दिएका छौँ, यसले आयआर्जनसँगै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न मद्दत मिल्ने अपेक्षा छ’, उनले भने, ‘लाभग्राहीले आफ्नो चाहनाअनुसार तरकारी र खरबुजाखेती पनि गरेका छन् ।’ खेतीबाट प्राप्त लाभ शतप्रतिशत उनीहरूले नै पाउने उनले बताए।

क्षतिग्रस्त भूमिको व्यवस्थापन गरेर भूमिहीनहरूमा भूमिको पहुँच पुर्‍याउन योजना पनि रहेको उनले बताए। प्रतिपरिवार १०० देखि १५० सुपारीको बोट जिम्मा लगाइएको बताउँदै उनले भने, ‘त्यसको रेखदेख लाभग्राहीले नै गर्नुपर्छ, प्राप्त प्रतिफल पनि उनीहरूले पाउँछन् ।’

करिब ५० बिघामा सिँचाइ क्षमताको भएको डिप बोरिङ समेत निर्माण गरिएको छ भने बिरुवा उत्पादनका लागि हाइटेक प्रविधिको टनेल समेत बनाइएको युएनडिपीका कार्यक्रम अधिकृत सुरज दङ्गालले बताए। ‘टनेलमा एक पटकमा करिब २७ हजार बिरुवा उत्पादन सकिन्छ’, उनले भने, ‘लेयर बनाएर गर्ने हो भने पाँच लेयरमा एक लाख ३५ हजारभन्दा बढी बिरुवा उत्पादन गर्न सकिन्छ ।’

बगरखेती कार्यक्रमअन्तर्गत कचनकवल ५ का कुर्वान मियाले चार कट्ठा जग्गा प्राप्त गरेको बताए। तरकारी र खरबुजाखेती गरिरहेको बताउँदै उनले भने, ‘जग्गा पाएर खुशी छु, पहिला सिँचाइको व्यवस्था थिएन, अहिले सिँचाइ पनि पुगेको छ ।’

विपन्न परिवारलाई जग्गा दिए पनि अपनत्व ग्रहण गराउन र उनीहरुलाई बुझाउन समस्या भइरहेको छ। कपितयले दैनिकजसो सुपारी र आफूले लगाएको बालीको नियमित रेखदेख र स्याहारसुसार गरिरहे पनि कतिपयले अझै अपनत्व ग्रहण नगरेको एसएनजेडीका हेमकुमार खड्काले बताए। रासस

प्रकाशित मिति : १३ फाल्गुन २०८१ मंगलबार ००:००  ८ : ५० बजे