११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

‘अनिवार्य शिक्षा’ कार्यान्वयनमा सरोकारवालाको जोड



मायादेवी अनलाइन, तौलिहवा ।

नेपालको संविद्यानले ब्यवस्था गरेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । आर्थिक, सामाजिक जस्ता विविध कारणले अझैैपनि बालबालिका शिक्षाबाट बन्चित हुनु दुखद रहेको उनिहरुले बताए ।

बिहिबार तौलिहवामा भएको लैंगिक समानताका विषयमा सरोकारवालाहरु संगको समन्वयात्मक बैठकमा बोल्ने सरोकारवालाले यस्तो बताएका हुन् । बैठकमा बोल्दै जिल्ला समन्वय समिती कपिलवलवस्तुका प्रमुख बाबुराम आचार्यले दक्षिणी क्षेत्रमा अझैपनि विद्यार्थी भर्ना भएपनि नियमित उपस्थित नहुने गरेको बताए ।

उनले भने, ‘उत्तरी क्षेत्रमा त विद्यार्थी नियमित विद्यालय जान्छन तर दक्षिणी क्षेत्रमा विद्यार्थी नियमित विद्यालय जादैनन्, विद्यार्थी १०, १५ दिन सम्म उपस्थित नहुँदा पनि शिक्षकले खोजीनिती नगर्ने गरेको भन्दै यसले शिक्षाका साथै नतिजामा पनि असर गर्ने बताए ।’
विद्यार्थी के कति कारणले नियमित हाजिर हुन सकेका छैनन् त्यसबारे शिक्षकले पनि चासो दिनु पर्ने उनको भनाई छ ।

जिल्लाका धेरै बालबालिकामा हेमोग्लोबिनको मात्रा कम भएको तथ्य आफुले पाएको भन्दै उनिहरुको स्वास्थ्यका ख्याल राख्नुपनि राज्यको जिम्मेवारी भएको बताए । जिल्लामा शिक्षक दरबन्दी मिलान, जनप्रतिनिधीबीको आजसी बेमेल, शिक्षकको अटेरीपना जस्ता समस्या देखिएको भन्दै यसको समाधान गरेर समग्र शिक्षाको विकास गर्नुपर्नेमा जोड दिए ।

यस्तै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले कपिलवस्तुको दक्षिणी भेगमा शिक्षाको अवस्था दर्दनाक रहेको बताए । उनले अझै पनि धेरै विद्यार्थी जीविकोपार्जनका साथै अन्य विभिद कारणले विद्यालयमा नियमित उपस्थित नभएको भन्दै अनुगमनको संजाल बनाउनुपर्ने बताए । जिल्लामा विभिन्न सरकारी तथा गैर सरकार संघसंस्थाले विद्यार्थी तथा शिक्षाका लागि काम गरेपनि समस्या भने न्यूनिकरण हुन नसकेको बताए । यसका लागि अभिभावक संगै सबै सरोकारवालाको संलग्नतामा काम गर्नुपर्नेमा जोड दिए ।

यसैगरी शिवराज नगरपालिकाका शिक्षा शाखा अधिकृत पूर्ण विश्वकर्माले विद्यार्थीले आफुलाई सुरक्षित महसुस नगर्दासम्म सिकाई हासिल गर्न नसक्ने भन्दै सुरक्षाको वातावरण बनाउनुपर्ने बताए । शिवराजले विद्यार्थीको गुनासो सुन्नका लागि हरेक विद्यालयमा ‘यल्लो बक्स’ राखेको भन्दै त्यो अभ्यास अन्य पालिकाले पनि गर्नुपर्ने सुझाव दिए । शिवराजका गुनासो पेटिकामा विद्यार्थीले शिक्षकले, आफ्ना साथी लगाएतले आफुलाई गर्ने दुब्यवहारको बारेमा उक्त पेटिकामा गुनासो राख्ने गरेको भन्दै यसले समस्या पहिलाउन सहज हुने बताए ।

दलित समाजिक विकास केन्द्रका राम शरण रैदासले जिल्लामा हुनुपर्ने जति बिकास नभएपनि केहि सुधारउन्मूख भने भएको बताए । विद्यार्थी परिवारको आर्थिक अवस्था, समाजिक मुल्यमान्यता, भौगोलिक अवस्था लगाएतका कारण विद्यालयमा उपस्थित हुन नसेकेको भन्दै सर्वप्रथम यस्ता समस्या तर्फ केन्द्रित भएर यसको समाधान गर्नुपर्ने बताए । बैठकमा सिद्धार्थ समाजिक विकास केन्द्रका कार्यक्रम प्रबन्धक पोम नारायण पौडेलले लैंगिक हिंशा न्यूनिकारण तथा रोकथामका बारे जानकारी गराएका थिए । साथै यस सम्बन्धी नेपाल सरकारको नीति तथा कार्यक्रमबारे जानकारी गराउदै यसको कार्यन्वयनमा जोड दिनुपर्ने बताए ।

लैंगिक समानता, शिक्षा सबैको पहुचका लागि संविद्यानले नै स्पष्ट ब्यवस्था गरेपनि कार्यन्वयन हुन नसक्दा समस्या भएको बताए । लागु पदार्थ दुब्यर्सन, मोबाइलको लत, सामाजिक मुल्यमान्यताका कारण धेरै जनाले पढाईलाई निरन्तरता दिन नसकेको भन्दै सिद्धार्थले यस सम्बन्धि कार्य गर्दै आएको बताए । अभिभावकलाई शिक्षाको महत्व बुझाउनुका साथै जनचेतना जगाउन सकेमा पनि धेरै परिवर्तन हुने उनको भनाई थियो । सबैको साझा प्रयास साथ र सहयोगबाट मात्र समाज विकासित हुनेहुँदा यसतर्फ सबै सचेत भएर काम गर्नुपर्नेमा उनको जोड छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना तथा पिपुल इन निडको सहकार्यमा भएको बैठकको संचालन जिल्ला समन्वय समितीका आरती भट्टले गरेकी थिइन् ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, जिल्ला समन्वय समितीका प्रतिनिधी, जिल्ला शिक्षा समन्यव समिती, नेपाल प्रहरी लगाएको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१ बिहिबार ००:००  ४ : ०८ बजे