काठमाण्डौ ।
आज काठमाण्डौ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेकाले स्थानीयवासीले विभिन्न उपाय गरी राक्षसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई सताउन सक्ने जनविश्वास छ ।
यसैकारण हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ ।
साथै शहरका कुनै पनि बालबालिकामाथि जोखिम नहोस भन्ने उदेश्यले राति रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने गरिन्छ ।
नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्ध कलालगायतको प्रदर्शन हुन्छ ।
आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । बालकुमारी ज्यापुटोलको भीमसेन गुठीले सञ्चालन गर्दै आएको पाटनको एकल घोडेजात्राका क्रममा एक जना गुठियार घोडामा चढेर बल्खु चिवहाः, गणेश मन्दिर हुँदै बालकुमारी मन्दिरको परिक्रमा गर्दछ । गणेश र बालकुमारी मन्दिरको तीन फन्का परिक्रमा गरेपछि पाटनको घोडेजात्रा सकिन्छ ।
यो जात्रा मनाउँदा दुष्ट आत्माको दहन हुने र नगरमा शान्ति छाउने जनविश्वास छ । घोडाको पैतालामा आकार अनुरूप फलाम लगाइन्छ । फलामका कारण दुष्ट आत्मा दहन हुने भएकाले नगरमा घोडा दौडाउने गरेको भनिन्छ ।
स्थानीयका अनुसार सिमसिम राजा भनेर चिन्ने मल्लकालीन राजा शिवसिंह मल्लले नै पाटनको घोडेजात्रा शुरूआत गरेको भनाइ रहेको छ ।
प्रतिक्रिया