दिपा महत, चन्द्रौटा ।
सिकलसेल एनिमिया रोकथामका लागि सामुहिक प्रयास आवश्यक रहेको एक कार्यक्रमकाका सहभागिले बताएका छन् । बिहिबार शिवराज नगरपालिका चन्द्रौटामा भएको हेमोग्लोबिनोप्याथी (सिकलसेल। बिटाथालेसिमिया। हेमोफिलिया बारे स्वास्थ्यकर्मी तथा सरोकारवालाबीच भएको अन्तरक्रियामा बोल्ने वक्ताले पछिल्लो समय बढ्दै गएको सिकलसेल एनिमिया रोकथामका लागि केन्द्र, प्रदेश संगै स्थानीय तहले पनि पहल गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सचिव दुर्गा लक्ष्मी श्रेष्ठले सिकलसेल एनिमियाका बिरामी ७ वटा जिल्लाका थारु समुदायमा बढी देखिएको भन्दै सबै सरोकारला यसको रोकथामका लागि लाग्नुपर्ने बताइन् । पहिले रोग पत्ता लगाउन पनि समस्या हुनेगरेको भन्दै अहिले परिक्षण तथा उपचार पनि केहि सहज भएको बताइन् । नेपालमा सिकलसेलका विरामीको औषधी उपचार तथा परिक्षण सहज बन्दै गएको भन्दै सरकारले नीतिनै बनाएर काम गरेको बताइन् । रोग न्यूनिकरणका लागि बालबालिकाको परिक्षणसंगै नागरिकलाई रोगबारे सचेतना अभिबृद्धि गर्नुपर्ने औल्याइन् ।
यसैगरी प्रदेश स्वास्थ्य मन्त्रालयका निर्देशक रोशन दाहालले थारु समुदायका ८० प्रतिशत मानिसमा कुनै न कुनै रुपमा रोगका लक्षण रहेको भन्दै विभिन्न योजना बनाएर रोग नियन्त्रणका लागि काम गर्न सुझाव दिए । सिकलसेल नियन्त्रणका लागि हरेक पालिकाले स्क्रिनीङ टेस्ट लगाएतका शिविर गर्दै रोगबारे जनचेतना फैलाएमा पनि कम गर्न सिकने बताए ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले शिवराजनगर पालिकामा थारु समुदायको बसोबास रहेकाले यसको रोगथामका लागि योजना बनाएर काम गर्ने बताए ।
कार्यक्रमक्रममा प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष खिम विक्रम केसी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बोल्दै संघ प्रदेश तथा स्थानीय सरकारले सिकलसेल तथा थालेसेमिया जस्ता रोगबारे समुदायमा सचेतना जगाउनुपर्ने बताएका थिए । स्थानीय नागरिकलाई रोग लाग्ने कारण र यसबाट बच्न सकिने उपायबारे जानकारी गराउन सकेमा पनि यस रोग नियन्त्रण हुने बताएका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले सिकलसेल एनिमिया रोग, यसका लक्षण, यसबाट बच्दै आगामी पुस्तालाई पनि रोग लाग्न नदिन के गर्न सकिन्छ भन्ने बारे जानकारी गराएका थिए । श्रेष्ठका अनुसार थारु समुदायका प्रत्येक एक सय जना मध्ये २० जनामा यस रोग देखिएको छ । पछिल्लो समय बढ्दै गएको सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि सिकलसेल एनिमिया तथा थालेसीमीया कुण्डली जस्ता प्रयासहरु गएको छ । यसमा सिकलसेल भएका युवा युवती र उनिहरुबाट जन्मने सन्ततीहरुमा सिकलसेलको सम्भावित अवस्थाबारे देखाइएको छ । कुण्डली अनुसार विवाह गर्न सकेमा पनि तेस्रो पुस्तालाई यस रोगबाट बचाउन सिकने श्रेष्डले बताए ।

सिकलसेल एनिमिया तथा थालेसीमीया कुण्डली
सरकारद्धारा सिकलसेलका विरामीको निःशुल्क उपचार हुने भएपनि समयमै पत्ता लगाउन नसक्दा समस्या बढ्दै गएको श्रेष्ठले बताए । बाँकेको भेरी अस्पतालमा मात्रै ४ हजार भन्दा बढी सिकलसेल एनिमियाका बिरामी उपचाररत रहेको भन्दै विवाह गर्दा कुण्डली मिलाउनुका साथै सुरुमा यस रोगको पहिचान गर्नसकेमा सहज हुने बताए ।
सिकलसेल एनिमिया नेपालको नवलपरासी देखी कन्चनपुरसम्मका मानिसमा देखिएको छ । थारु समुदायमा मात्रै देखिने यस रोग पछिल्लो समय बिसि, योगी, रैदास बिक, कुँवर, अधिकारी तथा नेपालीमा पनि देखिएको छ । तथ्यांक अनुसार यस रोग महिलाभन्दा बढी पुरुषमा देखिएको छ । रुकुम पूर्वको पहाडी इलाकामा पनि यस रोगका बिरामी भेटिएकाले यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा शिवराज नगरपालिकाका मेयर, उपमेयर, वडा अधयक्ष कर्मचारी, पत्रकार लगाएत सरोकारवालको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन शिवराज नगरपालिकाका जनस्वास्थ्य अधिकृत चुरामणी भटराईले गरेका थिए ।
प्रतिक्रिया