१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

कपिलवस्तुमा एक वर्षमा लागुऔषधमा संलग्न १ सय १२ जना पक्राउ



दिपा महत, तौलिहवा ।

गत माघ १ गते प्रहरीले कपिलवस्तुको बाणगंगाबाट लागु औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गर्यो । बाणगंगको दरखास्तमा रहेको सार्वजनिक प्रतिक्षालयबाट बर्दियाका बिशाल गुप्ता र भारतीय नागरिक अमित पोरवाललाई इलाका प्रहरी कार्यालय पिपराले पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट १ सय २ ग्राम ८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
यसैगरी फागुन १० गते कृष्णनगरबाट प्रहरीले लागु औषध चरेससहित ३ जनालाई नियन्त्रणमा लियो । पक्राउ परेका मध्ये २ जना महिला समेत रहेका थिए । शिवराजका निवासी शुकलाल घर्ति, रोल्पाकी प्रेमसरी रोका र रुकुमपूर्वकी सरिता पुनलाई प्रहरीले १४ किलो ७ सय ७४ ग्राम चरेससहित नियन्त्रणमा लिएको हो । प्रहररीले खानतलसीको क्रममा उनिहरुको साथबाट ठूलो परिमाणमा लागुऔषद बरामद गरेको हो ।
यस्तै कार्तिक १३ गते जिल्लाको कृष्णनगर नगरपालिकाबाट प्रहरीले लागु औषध ब्राउनसुगर सहित कृष्णनगरकै ३२ वर्षिय लबकुस भुजलाई पक्राउ गरेको थियो । खानतलासीसको क्रममा प्रहरीले भुजको साथबाट १ सय ५१.२१ ग्राम ब्राउनसुगर बरामद गर्यो ।
यी त केहि प्रतिनिधी मुलक घटनामात्र हुन् । कपिलवस्तुमा लागुऔषध ओसारपसारको घटनामा कमी आउन सकेको छैन् । आर्थिक वर्ष २०८१,०८२ को तथ्यांक अनुसार एक वर्षमा लागुऔषधसहित १ सय १२ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये २ जना महिलापनि रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जनदत्त भट्टले बताउनुभयो ।
पक्राउ परेका मध्यबाट ५६५.९७६ ग्राम ब्राउन सुगर, ४५ किलो ७५५ ग्राम गाजा, १७.२४५ किलो चरेस र एक थान पेस्तोल समेत बरामद गरिएको उपरिक्षक भट्टले बताउनुभयो ।
यसैगरी ट्रमाडोल १३६९९, नाइट्राभेट ३५०, स्पास्मो १६५, फेनरामाइन इनजेक्सन ३ र एम्पुलेक्स २७ वटा बरामद गरिएको छ । पछिल्लो समय प्रहरीले लागु औषध नियन्त्रण अभियानलाई तिब्रता दिँदै यसमा संलग्न कारोबारी तथा ओसारपसारकर्तालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२ आइतबार ००:००  १० : ४९ बजे