गुल्मी ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ ।
कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–१ गरगरेमा सडकमाथिबाट पहिरो खसेपछि आज बिहानदेखि सडक पुर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल, पर्वत र बाग्लुङसम्म चल्ने सम्पूर्ण गाडी बीच बाटोमै रोकिएका छन ।
त्यसैगरी बाढी र पहिरोका कारण रिडी–वामीटक्सार सडक पनि बिहानैदेखि अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका –६ डहरे खोलामा पानीको सतह बढेपछि आज बिहानदेखि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
त्यस्तै चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको संगम स्थल तल्लो फाँटमा पनि सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी एवम् प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएको छ ।
डहरेमा सडक माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्णरुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडीहुँदै बाग्लुङको बुर्तिबाङ्गसम्म आवतजावत गर्ने सबै गाडी बीच बाटोमै अलपत्र परेका छन ।
दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मी बडिगाड खोलामा पनि पानीको सतह बढ्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले बर्खाको समयमा खोला तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ ।







प्रतिक्रिया