काठमाडौं ।
चक्रवात भनेको समुद्रमा बन्ने विशाल हावाको घुमाउरो प्रणाली हो । जसले तीव्र हावा, मुसलधारे वर्षा र कहिलेकाहीँ समुद्री छालका साथ ठूलो क्षति पुर्याउन सक्छ । दक्षिण एशिया क्षेत्रमा प्रायः अक्टोबर र नोभेम्बर महिनामा यस्ता चक्रवातहरू देखा पर्छन् । अहिले नेपालमा भइरहेको लगातार वर्षा र हिमपात पनि त्यस्तै एउटा चक्रवात ‘मोन्था’ को प्रभाव हो ।
मोन्था चक्रवात बङ्गालको खाडीको दक्षिण–पूर्वी भागमा उत्पन्न भएको हो । समुद्रको तातो सतहबाट ऊर्जा प्राप्त गर्दै यसले क्रमशः शक्ति बढाउँदै ओडिसा र आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्यो । त्यसपछि उत्तरतिर सर्दै भारतका मध्य क्षेत्र हुँदै नेपालसम्म यसको असर आइपुगेको हो । अहिले यो चक्रवात भारतको मध्य प्रदेश वरपर कमजोर बन्दै गएको भए पनि यसको बाहिरी बादल र वाष्पयुक्त हावाले नेपालमा निरन्तर पानी र हिमपात भइरहेको छ ।
नेपालमा प्रत्यक्ष चक्रवात बन्न सक्दैन । किनकी यहाँ समुद्र छैन । चक्रवात बन्नका लागि तातो समुद्री सतह र वाष्प आवश्यक पर्छ । चक्रवात विशेषगरी समुद्रको सतहमा बन्ने गर्छ । नेपालसँग नजिकको समुद्र बङ्गालको खाडी हो, जबकी पश्चिमतिर अरब सागर पर्छ । अरब सागरमा बनेका चक्रवातले प्रायः भारतको पश्चिमी तटमा प्रभाव पार्छन्, नेपालमा त्यसको प्रत्यक्ष असर पर्दैन ।
बङ्गालको खाडी वा अरब सागरमा बनेका चक्रवातहरू जब उत्तरतिर सर्छन् र वाष्पयुक्त हावा र बादलहरू नेपालसम्म आइपुग्छन्, अनि नेपालमा वर्षा, हिमपात र हावाहुरीजस्ता असर देखिन्छ ।
चक्रवातको केन्द्रमा वायुको दबाब निकै कम हुन्छ, र त्यस क्षेत्रमा वर्षा कम हुन्छ । यसको बाहिरी बादलले ठूलाे वर्षा र हावाहुरी ल्याउने कारण बन्छन् — यही कारण नेपालमा भारी वर्षा र हिमपात भइरहेको छ ।
चक्रवात समुद्रमा तब बन्न थाल्छ जब सतहको तापक्रम कम्तीमा २६ देखि २७ डिग्री सेल्सियस वा त्योभन्दा बढी हुन्छ । समुद्र तात्दा पानी बाफमा परिणत भएर माथि उठ्छ, त्यसपछि माथि पुगेपछि चिसिँदै बादल बन्छ र वर्षा गराउँछ । यस क्रममा बाफबाट पानी झर्दा गुप्त ऊष्मा निस्कन्छ — यही ऊष्मा ऊर्जाको रूपमा वरिपरि फैलिन्छ र प्रणालीलाई अझ घुमाउने शक्ति प्रदान गर्छ ।
तातो, आद्र्र हावा लगातार माथि उठ्दै जाँदा तलको वायुको दबाब घट्छ, जसले वरिपरिका हावाहरूलाई त्यो क्षेत्रतर्फ तान्छ । पृथ्वी आफैं घुम्ने भएकाले हावा सीधा प्रवेश गर्न सक्दैन घुम्न थाल्छ । यही घुमाइले चक्रवातलाई गोलाकार स्वरूप दिन्छ ।
चक्रवातको मध्य भागमा वायुको दबाब अत्यन्तै कम हुन्छ, जसलाई ‘आँखा’ भनिन्छ । आँखा वरिपरि भने सर्वाधिक तीव्र हावा र मुसलधारे वर्षा हुन्छ । जबसम्म यो प्रणाली तातो समुद्र माथि रहन्छ, तबसम्म ऊर्जा लिँदै बलियो हुँदै जान्छ । तर हावाको बहावसँगै जब यो जमिनमा पुग्छ वा चिसो समुद्रमा प्रवेश गर्छ, ऊर्जाको स्रोत हराउँछ र बिस्तारै कमजोर बन्छ ।
चक्रवातको नामाकरण एक निश्चित र वैज्ञानिक प्रक्रिया अन्तर्गत हुन्छ । विश्व मौसम सङ्गठन र क्षेत्रीय मौसम केन्द्रहरूले मिलेर पहिल्यै नामको सूची तयार गर्छन् । समुद्रसँग जोडिएका देशहरूले पालैपालो नाम प्रस्ताव गर्छन् । अहिलेको ‘मोन्था’ नाम थाइल्यान्डले प्रस्ताव गरेको हो र थाई भाषामा यसको अर्थ ‘सुन्दर फूल’ हो ।
चक्रवात जब जमिनमा प्रवेश गर्छ, यसको तीव्रता घट्दै जान्छ । यसको केन्द्र कमजोर भए पनि बाँकी वाष्पयुक्त हावाले अझै वर्षा र हिमपात गराउँछ । चक्रवात कमजोर हुँदै गए पनि जबसम्म यसको बादल प्रणाली नेपाल नजिक रहन्छ, तबसम्म वर्षा र हिमपात हुने सम्भावना उच्च रहन्छ । शनिवारदेखि मात्र मौसम क्रमशः सुधार हुने अनुमान गरिएको छ ।
जमिनमा हुने तीव्र वायुमण्डलीय प्रणालीलाई प्रायः आँधी वा हुरी बतास भनिन्छ, तर समुद्रमा विकसित प्रणालीलाई चक्रवात भनिन्छ । आँधी वा हुरी सामान्यतया छोटो समय — एक/दुई घण्टा मात्रै रहन्छ, तर चक्रवातको असर लामो समयसम्म रहन्छ ।
सामान्य मौसमी वर्षा प्रायः सिजन अनुसार, जस्तै मनसुनमा, समुद्र र वायुमण्डलको तापक्रम र आद्र्रताका कारण नियमित रूपमा हुन्छ । तीव्रता पनि मध्यमदेखि हल्का रहन्छ र केही घण्टामा रोकिने गर्छ । तर चक्रवातका कारण हुने वर्षा भारी, लामो समयसम्म र असमान रूपमा वितरण हुने हुन्छ । केही घण्टामा सामान्य महिनाको वर्षासमान पानी पर्न सक्छ । यसले बाढी, पहिरो र जनधनको जोखिम बढाउँछ ।
चक्रवातबाट जोगिनका लागि मौसम पूर्वानुमानका सूचनामा ध्यान दिनु अत्यावश्यक हुन्छ । हालको मोन्था चक्रवातले तापक्रम घटाएको छ, हिमाली जिल्लामा बाक्लो हिमपात र पहाडी–तराई क्षेत्रमा लगातार झरी परिरहेको छ । यस्तो समयमा अनावश्यक यात्रा नगर्नु, खेतबाली नकट्नु र सुरक्षित ठाउँमा रहनु सबैभन्दा उपयुक्त उपाय हो । मौसम सफा भएपछि मात्र नियमित कार्यमा फर्कनु बुद्धिमानी हुन्छ । उज्यालोबाट
(वरिष्ठ मौसमविद् बरुण पौडेलसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)







प्रतिक्रिया