काठमाडौँ । पश्चिम एसियामा जारी तनावका कारण ७२ हजार भन्दा बढी नेपाली नागरिकले स्वदेश फर्किनका लागि आफ्नो विवरण टिपाएका छन् । यो आइतबार साँझसम्म परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा विवरण दर्ता गराउनेहरूको संख्या हो ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरू भएको युद्ध खाडी क्षेत्रसम्म फैलिएको छ । इरानले खाडी राष्ट्रहरूमा रहेका अमेरिकी सैन्य बेसहरूलाई लक्षित गर्दै जवाफी आक्रमण गरिरहेको छ । यसबाट त्यहाँ कार्यरत १७ लाख २९ हजारभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता बढेको छ ।
सरकारले फागुन २१ गतेदेखि नेपाल फर्कन चाहनेहरूको विवरण संकलन कार्य सुरु गरेको थियो । कन्सुलर विभागका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार ७२ हजारभन्दा बढी विवरण दर्ता भइसकेको छ । यो तथ्यांक समग्र खाडी मुलुकको हो र देश अनुसारको छुट्टाछुट्टै तथ्यांक बनाइएको छैन ।
दर्ता भएकामध्ये भिसाको म्याद सकिएका, व्यक्तिगत तथा घरायसी समस्याले नेपाल आउनुपर्ने र टिकट नपाएका लगायत कारण देखाएका छन् । फर्किनेहरूको सूची सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले तयार पार्ने भएकाले हालसम्म कति फर्किए भन्ने संख्या यकीन भइसकेको छैन ।
दूतावास तथा सरोकारवाला निकायहरू मार्फत नेपालीहरूको अवस्थाबारे जानकारी लिइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । खाडी मुलुकमा कार्यरत श्रमिकहरूलाई सम्बन्धित देशको सरकारले मोबाइल सन्देश मार्फत जोखिमको जानकारी दिँदै आएको छ । कतारमा रहेका एक नेपालीका अनुसार कम्पनीहरूले सुरक्षा जोखिम बढेसँगै काममा जाने र फर्किने व्यवस्था मिलाएका छन् र कतिपयले कार्यस्थलको अवस्थाका आधारमा मात्रै दैनिक काम सञ्चालन गरिरहेका छन् ।
२० हजार कामदार नेपालमै रोकिए
पश्चिम एसियामा चर्किएको युद्ध र तनावको प्रत्यक्ष असर नेपालको वैदेशिक रोजगार क्षेत्रमा परेको छ । हवाई उडान प्रभावित हुनुका साथै सुरक्षा जोखिम बढेपछि सम्पूर्ण प्रक्रिया पूरा गरी भिसा आइसकेका करिब २० हजार नेपाली कामदार विदेश उड्न नपाई नेपालमै रोकिएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले मध्यपूर्वको तनावले दैनिक सयौं नेपालीले वैदेशिक रोजगारी गुमाइरहेको बताए । सामान्य अवस्थामा वार्षिक करिब साढे ३ लाख नेपाली कामदार खाडी मुलुक जाने गरेका थिए । जसअनुसार मासिक २५ हजार र दैनिक ८ सयदेखि ९ सयको हाराहारीमा नेपालीहरू रोजगारीका लागि उड्ने गर्थे ।
भण्डारीका अनुसार पछिल्लो २० दिनको अवधिमा १८ देखि २० हजार मानिस भिसा आएर पनि जान पाएका छैनन् । युद्ध लम्बिने देखिएको र सुरक्षाका कारण अहिले कामदार पठाउन सक्ने अवस्था नरहेको भण्डारीले बताए । रोजगारदाता कम्पनीहरूले सम्झौता तोडेर कामदार फिर्ता पठाउने निर्णय गरिनसकेको भए पनि गन्तव्य मुलुकमा रहेका नेपाली कामदारहरू युद्धका कारण त्रसित अवस्थामा छन् ।
विदेशमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र कतिपय बिरामी अवस्थामा रहेको तर नियमित उडान नहुँदा थप समस्या सिर्जना भएको भण्डारीले औंल्याए । सम्पूर्ण तयारी पूरा गरेर टिकट समेत काटिसकेका कामदारहरू नेपालमै होल्ड हुँदा उनीहरूमाथि आर्थिक भार थपिएको छ ।
परराष्ट्र मन्त्रालयले पश्चिम एसियाली देशमा रहेका नेपालीको सुरक्षा, हित तथा कल्याणका लागि नेपाली नियोगहरू निरन्तर क्रियाशील रहेको जनाएको छ । नियोगहरूले समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि निरन्तर समन्वय गरिरहेका छन् ।
मन्त्रालयले हवाई उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित उडान कम्पनीहरू, निकायहरू र नियोगहरूका सूचना हेरी आवश्यक जानकारी प्राप्त गर्न अनुरोध गरेको छ । उक्त क्षेत्रका धेरैजसो मुलुकका सम्बन्धित निकायहरूले सुरक्षा सावधानीका उपाय तथा सचेतनामूलक जानकारी दैनिक रूपमा अद्यावधिक गरिरहेका छन् । स्थानीय सरकार तथा नेपाली नियोगहरूले जारी गरेका सूचना, जानकारी, सावधानीका उपाय तथा समाचारहरूबारे जानकार रहन अनुरोध गरिएको छ ।
पश्चिम एसिया क्षेत्रका अधिकांश स्थानमा हवाई उडानहरू पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट सीमित रूपमा सञ्चालन भइरहेका छन् । संयुक्त अरब इमिरेट्समा फ्लाइ दुबई र एयर अरेबियाका सीमित उडानहरू सञ्चालनमा छन् ।







प्रतिक्रिया