मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा यस वर्ष आठ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार गत वर्ष जिल्लामा पाठेघरको मुखको क्यान्सरविद्धको खोप अभियानका क्रममा छुटेका र नयाँ आठ हजार ३२९ जना किशोरीलाई यो वर्ष खोप लगाउन थालिएको हो । खोप लगाउनेमा विद्यालयमा अध्ययनरत सात हजार ४५२ जना र विद्यालयबाहिर रहेका ९७७ जना किशोरी रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप कार्यक्रमका फोकल केदारनाथ शाहीले जनाएको छ । खोप लगाउने सबैभन्दा धेरै शिवराज नगरपालिकामा विद्यालयमा अध्ययनरत ९५९ जना र विद्यालय नजाने ९९ जना गरेर एक हजार ५८ जना किशोरी रहेका छन् । त्यसैगरी कपिलवस्तु नगरपालिकामा विद्यालयमा अध्ययनरत ९२३ जना र विद्यालयबाहिर रहेका ९३ जना गरेर एकहजार १६ जना, यशोधरा गाउँपालिकामा विद्यालयमा अध्ययनरत ८९७ जना र विद्यालय नजाने ५२ जना गरेर ९४९ जनालाई खोप लगाइन थालिएको छ । त्यसैगरी महाराजगंज नगरपालिकामा विद्यालयमा अध्ययनरत ६२८ जना र विद्यालयबाहिर रहेका २९६ जना गरेर ९२४ जनालाई खोप लगाइने भएको छ । बाणगंगा नगरपालिकामा विद्यालयमा अध्ययनरत ९०५ जना, मायादेवी गाउँपालिकामा विद्यालयमा अध्ययनरत ६७० जना र विद्यालय बाहिर रहेका १३५ जना गरेर ८०५ जनालाई खोप लगाउन थालिएको डब्लुएचओका खोप अधिकृत मोहम्मद असलम शैखले बताउनुभयो । त्यसै गरी बुद्धभूमि नगरपालिकामा विद्यालयमा अध्ययनरत ७११ जना र विद्यालयबाहिर रहेका ९१ जना गरेर ८०२ जना, कृष्णनगर नगरपालिकामा विद्यालयमा अध्ययनरत ६३६ जना र विद्यालयबाहिर रहेका ११८ जना गरेर ७५४ जनालाई खोप लगाइने भएको छ । त्यसै गरी शुद्धोधन गाउँपालिकामा विद्यालयमा अध्ययनरत ५१३ जना र विद्यालयबाहिर रहेका ५६ जना गरेर ५६९ जना र बिजयनगर गाउँपालिकामा विद्यालयमा अध्ययनरत ५१० जना र विद्यालयबाहिर रहेका ३७ जना गरेर ५४७ जना किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन थालिएको हो ।
गत वर्ष जिल्लामा खोप अभियानका क्रममा छुटेका विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको शैखले बताउनुभयो । खोप लगाउनका लागि जिल्लामा ३५१ वटा खोप केन्द्र निर्धारण गरिएको छ । यस्तै, कपिलवस्तु जिल्लाभर ७०२ जना स्वास्थ्यकर्मी र ३५१ जना स्वयम्सेवकको परिचालन हुने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । खोप अभियान कपिलवस्तुमा एकै चरणमा माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।







प्रतिक्रिया