२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

प्रेस चौतारी कपिलवस्तुकाे मानवीय सेवा : ३१ प्वाइन्ट रगत संकलन



वाणगंगा । प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखा, सिद्धिपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । साथै दिवसकै सन्दर्भमा कपिलवस्तुमा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल समेत गरेकाे छ ।

मानवीय जीवनकाे उच्चतम कार्य तथा सामाजिक उत्तरदायित्वलाई लक्षित गर्दै आयोजित रक्तदान कार्यक्रम मार्फत ३१ प्वाइन्ट रगत संकलन गरिएको प्रेस चाैतारीले जनाएकाे छ । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै निर्वाचन अवधिमा पत्रकारहरूले निष्पक्ष, तथ्यपरक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले लोकतन्त्र मजबुत बनाउन प्रेसको भूमिका प्रभावकारी रहने भन्दै प्रेस चौतारीले सञ्चालन गरेको रक्तदान कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा प्रशंसा गर्नुभयो ।

सो क्रममा नगरप्रमुख अर्यालले विगतमा कपिलवस्तु जिल्लामा पत्रकारहरूको संख्या न्यून रहेको स्मरण गर्दै शुरूवातमा आफुले पत्रकारीताकाे विकासमा महत्वपूर्ण भूमिका खेलेकाे बताउदै अहिले जिल्ला पत्रकार उत्पादनको उर्वर भूमि बनेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा प्रेस चौतारी कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीले प्रेस चौतारी नेपाल श्रमिक पत्रकारहरूको साझा संगठन भएको बताउँदै स्थापना दिवसको अवसरमा सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । उहाँले निर्वाचनको समयमा पत्रकारहरूले आचारसंहिता पालना गर्दै सत्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी बाणगंगा नगर समितिका अध्यक्ष हरि आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पार्वती पाण्डे, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका महासचिव हरि अधिकारी, समाजसेवी डोकलराम घिमिरे, युवा व्यवसायी रविन्द्र पौडेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको समन्वय प्रेस चौतारी नेपाल बाणगंगा नगर समितिले गरेको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखाले गरेको हो ।

प्रकाशित मिति : २३ माघ २०८२ शुक्रबार ००:००  ९ : १९ बजे