२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

रुचिका हेल्थ क्लिनिक बुटवलद्धारा घरआँगनमै स्वास्थ्य सेवा, सयौँ स्थानीय लाभान्वित



मायादेवी अनलाइन, बुद्धभूमि ।
रुचिका हेल्थ क्लिनिक बुटवलले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ भेलाईमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५० भन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिएका छन् ।

क्लिनिककी सञ्चालक रुचिका पोख्रेलले शिविरबाट स्थानीय नागरिक लाभान्वित भएको बताउँदै, यही गाउँ–ठाउँमा हुर्किएको नाताले आफ्नै समुदायलाई सेवा दिने सपना पूरा गर्न शिविर आयोजना गरिएको बताउनुभयो । आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेका नागरिकहरू शिविरबाट विशेष रूपमा लाभान्वित भएको उहाँको भनाइ छ ।

शिविरमा पेट, छाती, मुटु, नसा तथा मधुमेह रोग विशेषज्ञ डा.काशीराम विश्वकर्मा र प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. विपिन जयसवाललगायतको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । साथै, शिविरमा सुगर र प्रेसर परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।

महिनावारी गडबडीसहित विभिन्न स्वास्थ्य समस्या लिएर महिलाहरू शिविरमा आएको उल्लेख गर्दै डा. विपिन जयसवालले महिलाहरूमा स्वास्थ्यसम्बन्धी जनचेतना अझ बढाउन आवश्यक रहेको बताउनुभयो । विरामीहरूमा पेट, छाती, मुटु, नसा तथा मधुमेहलगायतका समस्या देखिएको जनरल फिजिसियन डा. काशीराम विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार केही विरामीहरूले शिविरमार्फत आफ्ना स्वास्थ्य समस्या पहिचान गर्न सफल भएका छन् ।

शिविरमा सहभागी स्थानीय सुमित्रा अर्यालले घरआँगनमै स्वास्थ्य सेवा पाउन पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यही सेवा लिन बुटवल जानुपरेको भए हजारौँ रुपैयाँ खर्च हुने थियो, घरमै सेवा पाउँदा निकै खुसी छौँ।”

प्रकाशित मिति : २४ माघ २०८२ शनिबार ००:००  ६ : ०३ बजे