२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

कपिलधाममा श्री ब्रह्मपुराण ज्ञान महायज्ञ सञ्चालन



भलवाड ।

वाणगंगा नगरपालिका–९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाम परिसरमा ७ दिवसीय श्री ब्रह्मपुराण ज्ञान महायज्ञ विधिवत् रूपमा सुरु भएको छ। धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञको उद्घाटन एक भव्य समारोहबीच सम्पन्न गरिएको हो।

महायज्ञको उद्घाटन कपिलवस्तु क्षेत्र नं. १ का उम्मेदवार तथा वरिष्ठ समाजसेवी कृष्ण कुवरकी ८४ वर्षीय ममतामयी माता तथा कार्यक्रमकी प्रमुख अतिथि उजेली कुवरले दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा स्थानीय बासिन्दा, भक्तजन तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका विशिष्ट अतिथि तथा वरिष्ठ समाजसेवी कृष्ण कुवरले कपिलधामलाई पर्यटकीय तथा धार्मिक केन्द्रका रूपमा विकास गर्न आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफू लामो समयदेखि समाजसेवामा समर्पित रहँदै आएको उल्लेख गर्दै जनताको माया, सद्भाव र विश्वासको अपेक्षा व्यक्त गर्नुभयो। “म नेता जस्तो बोल्न जान्दिनँ, तर जे बोल्छु त्यो गर्छु,” उहाँले भन्नुभयो, “यस क्षेत्रको धार्मिक र सामाजिक विकासका लागि सदैव प्रतिबद्ध रहनेछु।”

महायज्ञ मूल आयोजक समितिका संयोजक भीम प्रसाद सापकोटाका अनुसार यस पवित्र भूमिमा विगत वर्षहरूझैं यस वर्ष पनि ७ दिवसीय ज्ञान महायज्ञ आयोजना गरिएको हो। आध्यात्मिक प्रखर वक्ता गुरु ऋषिकेश उपाध्यायको मुखारविन्दबाट श्री ब्रह्मपुराणको प्रवचन हुने र भक्तजनहरूलाई धर्म, संस्कृति तथा नैतिक शिक्षासम्बन्धी ज्ञान प्रदान गरिने उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य, समाजसेवी शिव चन्द्र आचार्य, कपिलप्रज्ञा पुस्तकालयका अध्यक्ष इन्द्र बहादुर कोइराला लगायतले महायज्ञ सफलताको शुभकामना व्यक्त गर्दै धार्मिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।

धामका सचिव दुर्गा प्रसाद पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम गुरु कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।
आयोजकका अनुसार श्री ब्रह्मपुराण ज्ञान महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञ अवधिभर दैनिक रूपमा पूजा, आरती, प्रवचन तथा भजन–कीर्तनका कार्यक्रम सञ्चालन गरिने र भक्तजनलाई सहभागी भई पुण्य लाभ लिन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२ मंगलबार ००:००  ८ : ३० बजे