२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

तौलिहवामा १ हजारको नक्कली नोट फेला, व्यापारीद्धारा निगरानी बढाउन माग



कपिलवस्तु।
कपिलवस्तुको तौलिहवा स्थित आनन्दबाग क्षेत्रमा रहेको एक पसलमा १ हजार रुपैयाँ दरको नक्कली नोट फेला परेको छ।

स्थानीय व्यापारीका अनुसार एक व्यक्तिले पसलबाट सामान खरिद गरी भुक्तानीका क्रममा १ हजारको नोट दिएका थिए। पछि नोट जाँच गर्दा उक्त नोट नक्कली भएको थाहा भएको हो।

नोट नक्कली भएको पुष्टि भएपछि व्यापारीले आसपासका अन्य पसल तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। घटनापछि तौलिहवा बजार क्षेत्रमा नक्कली नोटको कारोबार हुनसक्ने आशंका बढेको भन्दै व्यापारीहरूले ठूला दरका नोट स्वीकार गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्।

उनीहरूले नोटको सुरक्षा चिन्ह राम्रोसँग जाँच गर्न तथा शंका लागेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।

स्थानीय व्यापारीहरूले बजारमा नक्कली नोटको कारोबार नियन्त्रण गर्न प्रहरी प्रशासनले समेत निगरानी बढाउनुपर्ने माग गरेका छन्।

प्रकाशित मिति : २८ माघ २०८२ बुधबार ००:००  २ : ३५ बजे