४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

कपिलवस्तु–१ मा कृष्णबहादुर कुँवरको भव्य र्‍यालीसहित शक्ति प्रदर्शन



कपिलवस्तु ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर १ यतिबेला विशेष चासोको केन्द्र बनेको छ। यही क्रममा तारा चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार कृष्णबहादुर कुँवरले आइतबार भव्य र्‍याली निकाल्दै आफ्नो राजनीतिक शक्ति प्रदर्शन गरेका छन् ।

वाणगंगा नगरपालिका–४ स्थित बुद्ध रंगशालाबाट सुरु भएको र्‍यालीमा क्षेत्र नम्बर १ का विभिन्न स्थानबाट हजारौं समर्थकको सहभागिता रहेको थियो । र्‍याली चार नम्बर चोक, गजेहडा, ओदारी, जहदी, पकडी, लबनी, कोरियाचोक हुँदै प्रगतिनगर पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीभरि ‘विकास, सेवा र समृद्धिको प्रतीक तारा चिन्ह’का नारा गुञ्जिएका थिए । सहभागीहरूले हातमा पार्टीका झण्डा तथा ब्यानरसहित उत्साहपूर्ण सहभागिता जनाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार कृष्णबहादुर कुँवरले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र स्वास्थ्य तथा शिक्षामा गुणस्तरीय सुधार आफ्नो प्राथमिकता रहेको बताए । उनले विगतका वर्षमा अधुरा रहेका योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई तारा चिन्हमा मतदान गर्न आग्रह गरे ।

“अब कपिलवस्तु–१ मा परिवर्तनको आवश्यकता छ । जनताको विश्वासलाई सम्मान गर्दै पारदर्शी र जवाफदेही नेतृत्व दिन्छु,” उनले भने ।

कार्यक्रममा पूर्व मन्त्री चक्रपाणी खनाल ९बलदेव० पनि सम्बोधन गर्दै कृष्णबहादुर कुँवर विकासप्रेमी र इमानदार उम्मेदवार भएको दाबी गरे । उनले क्षेत्रको दिगो विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै मतदातालाई एकताबद्ध हुन आग्रह गरे ।

कपिलवस्तु–१ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक बन्दै गएको छ । विभिन्न दलका उम्मेदवारहरूले घरदैलो अभियान, सभा तथा र्‍यालीमार्फत मतदातालाई आकर्षित गर्ने प्रयास तीव्र बनाएका छन्।

फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै चुनावी गतिविधि दिनप्रतिदिन बढ्दो छ भने मतदाताको चासोसमेत उल्लेखनीय रूपमा बढेको देखिन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२ सोमबार ००:००  ८ : ३८ बजे