तौलिहवा ।
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु जिल्ला क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी तीव्र बनेको छ । उम्मेदवारहरू घरदैलो अभियान, टोल भेटघाट, चोक चियापसल संवाद र कोण सभामार्फत मतदातालाई आकर्षित गर्ने प्रयासमा जुटेका छन् ।
उम्मेदवारहरूले मतदातासमक्ष नयाँ नयाँ एजेन्डा प्रस्तुत गर्ने क्रम जारी रहेको छ । शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, युवालाई रोजगारी, पर्यटन प्रवर्धन, भौतिक पूर्वाधार विकास, सुशासन र पछिल्लो समय चर्चामा रहेको जेनजी आन्दोलन जस्ता विषयलाई उम्मेदवारहरूले प्रमुख चुनावी एजेन्डा बनाइएको छ । दलहरू आन्तरिक समीकरण मिलाउने, असन्तुष्ट कार्यकर्तालाई व्यवस्थापन गर्ने र मतदाताकेन्द्रित कार्यक्रम बढाउने रणनीतिमा व्यस्त देखिन्छन् ।
क्षेत्र नम्बर २ मा यस पटक २८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य, नेपाली कम्युनिस्ट पार्टीका वृजेशकुमार गुप्ता, नेकपा ९एमाले० का दीर्घनारायण पाण्डेय र राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम सिंह थापालगायतले उम्मेदवारी दिनुभएको छ ।
२०७४ सालको निर्वाचनमा गुप्ताले ३५ हजार १४७ मत प्राप्त गर्दै आचार्यलाई तीन हजार ५८१ मतान्तरले पराजित गर्नुभएको थियो । त्यसबेला आचार्यले ३१ हजार ५६६ मत ल्याउनुभएको थियो । २०७९ सालमा भने समीकरण उल्टियो र आचार्यले ३१७ मतको झिनो अन्तरले गुप्तालाई हराउँदै संसद् प्रवेश गर्नुभयो । यस पटक दुवै नेता तेस्रो पटक आमनेसामने देखिएका छन् । गुप्ता पाँचौँ जितको खोजीमा हुनुहुन्छ भने आचार्य लगातार तेस्रो जित निकाल्ने दाउमा हुनुहुन्छ ।
आचार्य २०७० सालमा संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि सिँचाइ राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारी समाल्नुभएका उहाँ हाल लुम्बिनी प्रदेश कांग्रेसका महामन्त्री हुनुहुन्छ । गुप्ता २०५६ सालदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ । विभिन्न दल परिवर्तन गर्दै चार पटक सांसद निर्वाचित भइसक्नुभएका उहाँ राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रीपरिषद्मा राज्यमन्त्री र डा। बाबुराम भट्टराई नेतृत्वको सरकारमा कानुन तथा न्यायमन्त्रीसमेत बन्नुभएको थियो । २०६४ र २०७० को संविधान सभा निर्वाचन तराई मधेश लोकतान्त्रिक पार्टीबाट जितेका गुप्ता २०७४ मा एमाले समर्थित स्वतन्त्र समूहबाट निर्वाचित हुनुभएको थियो । हरेक निर्वाचनमा फरक दलबाट उम्मेदवारी दिने शैलीका कारण चर्चित गुप्ता यस पटक नेकपाबाट मैदानमा हुनुहुन्छ ।
एमालेका दीर्घनारायण पाण्डेयले पनि दल परिवर्तनको अनुभव बोक्नुभएको छ । सुरुमा कांग्रेस छाडेर एमाले प्रवेश गर्नुभएका उहाँ २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पछिल्ला वर्षमा पुनः कांग्रेस प्रवेश र फेरि एमाले फर्किएको राजनीतिक यात्रापछि यस पटक प्रतिनिधि सभा सदस्यका रूपमा प्रतिस्पर्धामा उत्रिनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम सिंह थापा पूर्वप्रहरी उपरीक्षक हुनुहुन्छ । २०७९ अघि कांग्रेस प्रवेश गरी प्रदेश सभा सदस्यका रूपमा उम्मेदवार बन्नुभएका उहाँ त्यसबेला पराजित हुनुभएको थियो । कांग्रेसबाट टिकट नपाउने सङ्केतपछि रास्वपामा प्रवेश गरी प्रतिनिधि सभा उम्मेदवार बन्नुभएको हो । गोरखापत्रबाट







प्रतिक्रिया