५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

कपिलवस्तुमा प्रजातन्त्र दिवस ३ दिनसम्म मनाइने



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाइने भएको छ। मंगलबार जिल्लाका सबै सरकारी कार्यालय, स्थानीय तह तथा सरोकारवाला निकायहरूको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो।
निर्णयअनुसार फागुन ६, ७ र ८ गते विविध कार्यक्रम तय गरिएको छ। तीन दिनसम्म जिल्लास्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा सजाइने तथा साँझ सम्पूर्ण कार्यालय र जिल्लावासीका घरघरमा सरसफाइ एवं दीप प्रज्ज्वलन गरिनेछ।
फागुन ७ गते बिहान ८ बजे कर्मचारी मिलन केन्द्रको व्यवस्थापनमा कपिलवस्तु जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिने कार्यक्रम छ। त्यस्तै साँझ ६ बजे गैरसरकारी महासंघ तथा मातहतका संस्थाहरूको व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय अगाडि दीप प्रज्ज्वलन गरिनेछ।


यसैगरी फागुन ८ गते बिहान ८ बजे कपिलवस्तु नगरपालिकाको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कपिलवस्तु जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। सोही दिन बिहान १० बजे सामाजिक विकास डिभिजन कार्यालयको व्यवस्थापनमा तौलेश्वर संस्कृत माध्यमिक विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक तथा अन्य सामग्री वितरण गरिने निर्णय गरिएको छ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख आचार्यले आसन्न निर्वाचनका कारण विगत वर्षजस्तो भव्य कार्यक्रम नगरी दिवसलाई सभ्य, भव्य तथा मर्यादित रूपमा मनाइने बताउनुभयो।

प्रकाशित मिति : ५ फाल्गुन २०८२ मंगलबार ००:००  ६ : ४९ बजे