डिलाराम भुसाल, कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर क्षेत्रमा करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। भारतबाट भन्सार छलि गरी अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको अटो, मोटरसाइकल, कपडा तथा किराना सामान सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कृष्णनगरले नियन्त्रणमा लिएको हो।
कृष्णनगर क्षेत्रका विभिन्न स्थानबाट मोटरसाइकल तथा अटो प्रयोग गरी लुकाइछिपाइ नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको जनाइएको छ। नियमित गस्ती तथा विशेष सूचनाको आधारमा खटिएको टोलीले सामान फेला पारी नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको अटो, मोटरसाइकल, कपडा तथा किराना सामग्री आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कृष्णनगरका प्रहरी नायव उपरीक्षक मोहन केसीले जानकारी दिनुभयो।
प्रहरी नायव उपरीक्षक केसीका अनुसार सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निगरानी कडाइ गरिएको छ। उहाँले भन्नुभयो, “विशेष सूचना र नियमित गस्तीका क्रममा भारतबाट भन्सार छलि गरी ल्याइँदै गरेको करिब ७ लाखभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिएका छौँ। सीमाक्षेत्रमा हुने अवैध ओसारपसार रोक्न हाम्रो अभियान निरन्तर जारी रहनेछ। कानून विपरीत कार्यमा संलग्न जो–कोहीलाई पनि कारबाहीको दायरामा ल्याइनेछ।”
पछिल्लो समय सीमाक्षेत्रमा भन्सार छलिका घटना बढ्न सक्ने सम्भावना देखिएकाले सशस्त्र प्रहरीले गस्ती तथा चेकजाँचलाई थप प्रभावकारी बनाएको जनाएको छ।







प्रतिक्रिया