८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

सुकुम्बासी समस्या: २०४८ देखि जोतभोग, अझै छैन लालपुर्जा



कपिलवस्तु ।

सुकुम्बासी समस्या समाधानमा सरकार पक्षबाट अपेक्षित पहल नभएको भन्दै एमाले निकट भूमि अधिकार तथा श्रमिक मञ्चका अगुवाहरूले गुनासो व्यक्त गरेका छन्। शुक्रबार वाणगंगामा सम्पन्न अगुवा भेलामा बोल्दै उनीहरूले कर्मचारीतन्त्र र सरकार फेरिरहनुले समयमै काम नगर्दा समस्या जटिल बन्दै गएको समस्या राखेका थिए।
पिडित बनाइएका सुकुम्बासीले २०४८ सालदेखि जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा अहिलेसम्म प्राप्त हुन नसक्नु दुःखद अवस्था हो। “जनताका कुरा लागू भएनन्, मिहिनेतको फल पाएनौं,” उनीहरूको भनाइ थियो। सुकुम्बासीहरूलाई आफ्ना हक अधिकारका लागि बारम्बार आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखद भएको उनीहरूले दुखेसाे पाेखेका छन् ।

कार्यक्रममा बोल्दै राम नारायण थारू, शिवचरण लगाएतका अगुवाहरूले गर्न सकिने काम मात्र जनतामाझ लैजानुपर्ने र पूरा गर्न नसकिने आश्वासन दिन नहुने धारणा राखेका थिए। सुकुम्बासीका समस्या यथाशीघ्र समाधान गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिइएकाे थियो।
साेही अवसरमा कार्यक्रममा प्रमुख अतिथी एमाले नेता झविलाल पोख्रेलले सुकुम्बासी, भूमिहिन किसान मजदुर प्रति पार्टी सधैं जवाफदेही रहेको र आगामी दिनमा पनि सुकुम्बासीको पक्षमा दृढतापूर्वक उभिने स्पष्ट पारे। उनले एमालेले सरकारकाे नेतृत्व गर्दा सुकुम्बासी, अव्यवस्थित बसाेवासी भूमिहिनका लागि दुर्त गतिमा काम गरिरहेकाे अवस्थामा सरकार बदलिदा समस्या खडा भएकाे बताए ।

“सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले नै हो, हामी एमालेलाई साथ दिन्छौं,” अगुवाहरूले प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा मञ्जु चौधरी, कृष्ण घिमिरे, मान बहादुर भाटक्षेत्री, गंगा सुनार, पवित्रा नेपाली, बुद्धि पाण्डे, ज्ञान बहादुर पाण्डे, जनक थापा, भिम बहादुर बुढा थोकी, शिव चरण सिंह थारु, चिन्तामणी ढुगाना, पदम थापा, मान बहादुर आले, रामनारायण थारु लगायतका अगुवाहरूको उपस्थिति रहेको थियो। वाणगंगा सहित जिल्लाका विभिन्न स्थानमा सुकुम्बासी समस्या कायम रहेकाे छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२ शुक्रबार ००:००  १० : ५८ बजे